
आगमन स्थलमा राख्ने थर्मल स्क्यानर क्यामरा जडानका वतानुकूलित कोठाको आवश्यकता पर्नेहुँदा कहाँ कसरी राख्ने भन्ने टुंगोे नहुँदा सञ्चालनमा आउन नसकेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आर्चायकाअनुसार आगमन स्थलमा राख्ने थर्मल स्क्यानर क्यामरा जडानका लागि वतानुकूलित कोठाको आवश्यकता पर्ने भएकाले सोका लागि नागरिक उड्डयन मन्त्रालयसँग छलफलका लागि पहल भइरहेको छ ।
क्यामरा जडानका लागि वतानुकूलित कोठा नै चाहिन्छ, र यसका लागि विमानस्थलको सुरक्षालाई पनि ध्यान दिनुपर्ने भएकाले महाशाखाले नागरिक उडड्यन मन्त्रालयसँग सहकार्यका लागि गृहकार्य भइरहेको जनाएको छ ।
तीन वर्षअघि स्थापना गरिएको ‘हेल्थ डेस्क’ भूकम्पका कारण क्षतिग्रस्त भएपछि मर्मतगरी पुनःसञ्चालनमा ल्याउन लागिएको हो । उपकरणका साथै डेस्कलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य संगठनले रु ३५ लाख उपलब्ध गराएपछि महाशाखाकाले हेल्थ डेक्सको मर्मत गरेर गुणस्तरीय बनाएको छ ।
उक्त क्यामराको फोकस बाहिरबाट आएका यात्रुको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ । सोही तापक्रमका आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेस्कमा ल्याएर उनीहरुसँग परामर्श गरी उपचार गर्ने र कुनै रोगको जोखिम भए/नभएको पत्ता लगाउने गरिन्छ ।
अफ्रिकन देशमा इबोलाको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रुबाट रोगको संक्रमण भित्रन सक्ने जोखिमलाई ध्यानमा राखेर सरकारले सो डेस्क स्थापना गरेको थियो ।
मुख्यतया रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको संक्रमण देशभित्र भित्रन सक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई यससम्बन्धी सजकता अपनाउने उद्देश्यले डेस्कको स्थापना भएको हो ।
महाशाखाका निर्देशक आर्चायले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्क गुणस्तरीय भएकाले त्यहाँबाट दिइने सेवालाई अझ गुणस्तरीय बनाउन परामर्श दिने र त्यसको कम्प्युटरकृत तथ्यांक राख्ने व्यवस्था गरिएको जानकारी दिए ।
उक्त डेस्क आवश्यक प्राविधिक चिकित्सकसहित २४ सै घन्टा खुला रहनेछ ।
यसैगरी सरकारले यसप्रकारका हेल्थ डेस्क छिमेकी मुलुकसँग सिमा जोडिएको झापाको काकरभिट्टा, विराटनगरको रानी भन्सार, रसुवाको रसुवागडी नाका, कञ्चनपुरको गड्डाचौकी, भैरहवाको बेलिया नाका र नेपालगञ्जको जमुनाहामा स्थापना गरिएको छ । ।
विमानस्थलमा थर्मल स्क्यानर क्यामराका माध्यमबाट बिरामी पत्ता लगाइने भएपनि सीमामा रहेका अन्य ६ हेल्थ डेस्कमा भने टाँसिएको सूचनाका आधारमा शंकास्पद बिरामी आफैँ हेल्थ डेस्कको सम्पर्कमा आएर जाँच तथा परामर्श लिने गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्