१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


आइमाम कार्यक्रमले बैतडीका बालबालिका स्वस्थ हुँदै


0
Shares

गतबर्ष भदौदेखि सञ्चालनमा आएको कार्यक्रमले जिल्लामा १७ हजार १७९ बालबालिकाको पोषणको स्थितिको बारेमा जानकारी लिएको थियो । जाँच गरिएका बालबालिकामध्ये ९०२ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले बताए ।

एक हजार ७२७ जनामा मध्यमखालको कुपोषण देखिएको उनले बताए । कडा कुपोषण देखिएका ९०२ बालबालिका र समुदायमा महिला स्वास्थ्य स्वयम्सेविकामार्फत पत्ता लागेका ३०३ बालबालिका गरी एक हजार २०४ जनाको उपचार गरिएको पराजुलीले जानकारी दिए ।

एक हजार २०४ जनामध्ये २० जना भने बीचमै उपचार छोडेका छन् । उपचार गरेका भने अहिले पूर्णरुपमा स्वस्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पोषण सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिए ।

जिल्लामा अहिले १६ ठाउँमा कुपोषित बालबालिकाको उपचार हुने गरेको उनले बताए । जिल्ला अस्पताल बैतडी, देहीमाण्डौं, ग्वाल्लेक, श्रीकोट, गोकुलेश्वर, डिलाशैनी, पाटन, सलेना, मेलौलीमा कडा कुपोषित बालबालिकाको उपचार हुने गरेको छ ।

यसैगरी, शर्माली, सिद्धेश्वर, शंकरपुर, हाट, थालाकाँडा, सिगास र शिवलिंग स्वास्थ्यचौकीमा कुपोषित बालबालिकाको निःशुल्क उपचार हुने गरेको छ । समुदायमा कुपोषित बालबालिका धेरै रहेका भएपनि अझै उपचारमा आउन नसकेको बताइएको छ । रासस