७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सञ्चारमन्त्री कार्कीको ९ महिना, ‘सञ्चार क्षेत्रमा उल्लेखनीय उपलब्धि’


0
Shares

सूचना तथा सञ्चार मन्त्रालयले आइतबार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा पर्चाकारिता र पत्रकारिता गर्ने दुई समूह रहेको टिप्पणी गर्दै सरकारी सञ्चारमाध्यम निजी क्षेत्रका सञ्चारगृहको प्रतिस्पर्धी संस्था हुन नसक्ने बताए ।

मन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमले लिने बाटो र निजी क्षेत्रका सञ्चारमाध्यमले लिने बाटो आफूले फरक देखेकोपनि बताए ।

पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नेपाल आफैँले स्याटलाइट स्थापना गर्न सल्लाहकार समितिको गठन, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ लागू गरिएको, सूचना विभागमा नेपालभरका सूचना प्राप्त गर्ने सूचना केन्द्र स्थापना, नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रीय प्रसारण सुरु, पत्रकारलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत सहुलियत दिने व्यवस्था गरेको बताए ।

त्यसैगरी, मन्त्री कार्कीले राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई प्रभावकारीरुपमा कार्यान्वयनगरी समृद्ध सूचना प्रणालीको विकास गर्न आवश्यक कानुनमा सुधार, नयाँ कानुनको मस्यौदा, सूचना तथा सञ्चारसम्बन्धी संघीय ढाँचाको खाका, विद्यमान सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका निकायको पुनःसंरचना सिफारिसका लागि राष्ट्रिय आमसञ्चार नीति, २०७३ कार्यान्वयन सुझाव समिति गठन भई कार्य भइरहेको बताए ।

हालसम्म १९५ अनलाइन सञ्चारमाध्यम सूचना विभागमा दर्ता भइसकेका छन् ।

त्यसैगरी, मन्त्रालयले ज्येष्ठ पत्रकारका लागि पत्रकार वृत्ति कोष, प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान स्थापना, आव २०७३÷०७४ मा ६५ संघसंस्थालाई अनुदान, नेपाल पत्रकार महासंघका आठ भवनलाई रु ४० लाख वितरण, फ्रिक्वेन्सी बाँडफाँड निर्धारण नीति, २०७३ संशोधन, फोरजी सेवा सञ्चालन, ब्रोडब्यान्ड नीति, २०७१ को गुरुयोजना तयार भएको पनि मन्त्रालयद्वारा जानकारी दिइएको छ ।

यस्तै, नौ महिनाको कार्यकालमा छापामाध्यम, रेडियो, टेलिभिजन, अनलाइनको समाचारलाई अनुगमन गर्न स्वचालित प्रणालीको सुरुवात, २०७५ वैशाख १५ सम्म नेपालका सबै केबल वितरक डिजिटल प्रणालीमा रुपान्तरण हुने, ५०० वाटसम्मका एफएम रेडियोका प्रसारण इजाजत रेडियो उपकरणको नवीकरण जिल्लास्थित हुलाक कार्यालयमार्फत गर्नेगरी अधिकार प्रत्यायोजन भएको पनि उल्लेख छ ।

पत्रकार आचारसंहितालाई समयानुकूल र थप प्रभावकारी बनाउन पत्रकार आचारसंहिता, २०७३ जारी भएको तथा प्रेस काउन्सिलको बंगलादेश, भारत, साइप्रसलगायतका देशमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको, नेपाल टेलिभिजनको डिजिटाइजेसनअन्तर्गत सिंहदरबार, ककनी, चमेरे, फूलचोकी, सराङकोट, जुम्ला, नाम्चे र तेह्रथुममा डिजिटल ट्रान्समिटर जडान कार्य भइरहेको, रेडियो नेपालको प्रसारणलाई २०७३ भदौ १ गतेदेखि २४ घन्टा प्रसारण सञ्चालन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, दाङको तुल्सीपुरमा राष्ट्रिय समाचार समिति, राप्ती अञ्चल कार्यालय भवनको शिलान्यास भएको, आव ०७३÷०७४ मा सामुदायिक सूचना केन्द्र स्थापनाका लागि ३५ जिल्ला छनोट भएको, साथै दूरसञ्चार नीति, २०६० को अनुगमनका लागि विभिन्न मन्त्रालयका सचिवसमेत रहेको उच्चस्तरीय अनुगमन समितिको बैठक बसी नीति कार्यान्वयनको समीक्षा गरिएको पनि उपलव्धिकारुपमा उल्लेख गरिएको छ ।

यस अबधिमा देशभरिका हुलाक कार्यालयमा सामुदायिक सूचना केन्द्र स्थापना गर्ने कार्य अगाडि बढाइएको, चिठीपत्रको अवस्था पत्ता लगाउन अनलाइन ट्याकिङ प्रणालीको सुरुआत गरिएको, घुम्ती हुलाक सेवाको प्रारम्भ, हुलाकका माध्यमबाट खानेपानी, विद्युत्, टेलिफोन, विप्रेषण, भुक्तानी गर्नेगरी कार्यविधि तर्जुमा गरिएको, हुलाकलाई स्वायत्त प्राधिकरणका रुपमा रुपान्तरण गर्न कार्यक्रम अगाडि बढाइएको छ ।

चलचित्र घरमा बक्स अफिस प्रणाली लागू गर्न सफ्टवेर निर्माण गर्ने कार्य अगाडि बढाइएको, दोलखामा चलचित्र नगरी निर्माणका लागि जग्गा प्राप्त प्रक्रिया अगाडि बढेको, चलचित्र नीति कार्यान्वयन गर्न विज्ञ समिति गठन, राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, बैंकनोट, स्मार्ट कार्ड, चेकबुकजस्ता सुरक्षण कागजात नेपालमा मुद्रण गर्न सुरक्षण मुद्रण विकास समिति गठन गरी कार्य प्रारम्भ गरिएको, राजपत्र विद्युतीय अभिलेखीकरण कार्य सम्पन्न भएको तथा सार्वजनिक संस्थान, प्राधिकरण र समितिसम्बन्धी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड तथा कार्य्विधि स्वीकृत गरी सोबमोजिम नियुक्ति र मनोनयन गरिएको आदि उपलव्धि विज्ञप्तिमा उल्लेख छन् । रासस