१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


विकट जिल्लामा औषधिको चरम अभाव, स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन


0
Shares

दैनिक झाडापखालाका दशदेखि १२ जनासम्म बिरामी आउने भएपनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताए ।

छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घरफकिन् । उनी जस्तै दैनिक दशदेखि १२ जनासम्म झाडापखालाको उपचारका लागि आउने बिरामीले सामान्य जीवनजलसमेत नपाउने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा फोनमार्फत खबर गरेको भएपनि जिल्लाबाट नै नआएको इन्चार्ज आचार्यले बताए । बिच्छयामा निजी औषधि पसलसमेत नभएकाले यहाँका बिरामी दुई तीन दिन लगाएर कोल्टी उपचारका लागि जान बाध्य भएका छन् ।

बिच्छया स्वास्थ्य चौकीमा जीवनजल अभाव भएको दुई साता भइसकेको छ । त्यस्तै, सिटामोल, आँखा पाक्ने, कानपाक्ने औषधिलगायत एन्टिबायोटिककोसमेत चरम अभाव रहेको छ ।

परिवार नियोजनका साधनको अभाव भएको महिनाँै भइसकेको छ । कण्डम, पिल्स, डिपो लगाउने सिरिन्जलगायतका परिवार नियोजनका साधन अभाव भएको एक महिनाभएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता थापाले बताइन् ।

दैनिक सात–आठजना परिवार नियोजनको साधनका लागि आउने गरेका छन् । यो स्वास्थ्य संस्था सदरमुकाम मार्तडीबाट चार दिनको पैदल दुरीमा रहेको छ । यहाँ सधैँ जसो औषधि अभाव भइरहने गरेको छ ।

जिल्लामा पटक÷पटक खबर गर्छाै, थौरै औषधि मात्र पठाउँछन्, त्यो त मन्दिरको प्रसाद बाँडे झै गर्नुगरेको चौकीका इन्र्चाज आचार्यको भनाइ छ ।

धेरै विकट भएकाले राज्यको पहुँच पनि नहुने गरेको छ । जिल्लाबाट कहिल्यै स्वास्थ्य संस्था अनुगमन नहुने गरेको स्थानीयवासी डबल थापाले बताए ।

स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि अनिवार्य भए नि दश–बाह्र प्रकारका मात्र रहेको संस्थाले बताएको छ । एकातिर औषधि अभाव अर्कोतिर स्वास्थ्यकर्मीको अभाव रहेको छ । अहिले एक जना अहेब, एकजना जिल्ला करार अनमी र एकजना कार्यालय सहयोगीमात्र रहेका छन् ।

एक जना एचए, एकजना अहेब, एकजना अनमी रिक्त रहेको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएकाले उपचारमा समस्या भएकोे छ । बिच्छयामात्र नभई बाजुराका उत्तरी क्षेत्रका रुगिन, वाई, गोत्री, साप्पाटालगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

औषधि अभाव भएको खबरले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि माग गरिएको भएपनि क्षेत्रीय कार्यालयमा नै औषधि अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रमेश कुवँरले बताए । रासस