
अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयसँग केन्द्रीत हुनेगरी नर्सिङ पढाइ हुनेछ । तीन वर्षे अध्ययनका क्रममा एकवर्ष क्यान्सर सम्बन्धी अध्ययन गराइने छ । यसका लागि विश्वविद्यालयमा पाठ्यक्रमसमेत बनिसकेको कार्यकारी निर्देशक आचार्यले बताए ।
उनले भने,–‘अस्पताल सञ्चालक समितिले निर्णय गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुग्नेछ ।’ विगत केही वर्षयतादेखि क्यान्सर अस्पतालले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर नर्सिङमा स्नातक पढाइका लागि गृहकार्य गरिरहेको थियो ।
विद्यार्थीले क्यान्सर उपचार पद्दति सम्बन्धी ज्ञान पाउने भएकाले यहाँको क्यान्सर अस्पतालसँगै अन्य अस्पतालका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न सकिने कार्यकारी निर्देशक आचार्यले बताए । सुरुको समयमा ३० जना विद्यार्थीबाट पढाइ सञ्चालन गर्ने तयारी गरिएको छ ।
अस्पतालका शैक्षिक कार्यक्रम विभाग प्रमुख डा.शिवजी पौडेलले यसबाट उत्पादित जनशक्ति नेपालका लागि अत्यावश्यक देखिएकोले यो विषयको पढाइ सुरु गर्न लागिएको हो भन्दै एमडी र एमएस गरिसकेका चिकित्सकलागि अंकोलोजीमा ‘फेलोसिप’ कार्यक्रमपनि सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको बताए ।
उपचारका लागि निकै जटिल र खर्चिलो रोगको रुपमा क्यान्सरलाई लिने गरिन्छ । पछिल्लो समय मानिसको खानपान, वातावरण प्रदूषणलगायतका कारण क्यान्सरका बिरामीको संख्या बढ्दै गएको छ ।
एसियाकै नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको यो क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने उद्देश्यका साथ स्नातक तहमा अंकोेलोजी विषयमा नर्सिङ पढाइ कार्यक्रम अगाडि बढाउन लागिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.प्रकाश न्यौपानेले बताए । रासस
प्रतिक्रिया दिनुहोस्