१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


फेसन बन्न थाल्यो धुम्रपान, ऐन कार्यान्वयनमा उदासिन बन्यो सरकार (भिडियो)


0
Shares

-प्रज्ञा तिमल्सिना/ईमेज

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनताका कारण धुम्रपानबाट बर्सेनी हजारौं मानिसको मृत्यु हुने गरेको छ ।

सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा वार्षिक २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको र त्यसले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दै गएपछि सरकारले दुई वर्षअघि सुर्तीजन्य पदार्थको प्याकेजिङमा ९० प्रतिशत सन्देशमूलक चित्र राख्नुपर्ने प्रावधानसहितको ऐन बनाएको थियो ।

तर त्यो प्रावधान अझै कार्यान्वयनमा आउन सकेको छैन । विश्वमा प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ ।

यो संख्या यसरी नै बढ्ने हो भने सन् २०३० सम्ममा वार्षिक ८० लाख मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनबाटै हुने संगठनले जनाएको छ ।

सुर्तीजन्य पदार्थ सेवनले फोक्सोको क्यान्सर, मुटुको समस्या, उच्च रक्तचाप, दम, मष्तिष्कघात हुने मुटु रोग विशेषज्ञ डा. ओममुर्ती अनिल बताउँछन् ।

चिकित्सकहरुले दैनिक एक/दुई वटा चुरोट खाने व्यक्तिको समेत मुटु र फोक्सोमा समस्या पर्ने बताउँछन् ।

धेरै मानिसलाई सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पुर्‍याउने असर र लाग्ने रोगबारे जानकारी नहुने गरेको चिकित्सकहरुको भनाइ छ ।

सरकारले कानुन कार्यान्वयन नगर्दासमेत धेरै मानिसको स्वास्थ्यमा समस्या उत्पन्न हुँदै गएको सरोकारवालाहरु बताउँछन् ।

पूर्व-स्वास्थ्यमन्त्री खगराज अधिकारीले नियम कार्यान्वयन गर्न उदासिन देखिएको बताए ।

उनले आफू स्वास्थ्यमन्त्री भएका बेला दुई वर्षअघि बनाएको नियम अझै कार्यान्वयन नगरेर स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यमा खेलबाड गरिरहेको आरोप लगाए ।

पछिल्लो समय युवा युवतीमा धुमपानलाई फेसनको रुपमा लिने प्रचलन बढ्दै छ । त्यही कारण पनि धुम्रपान घटाउन समस्या भएको छ ।

सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने कानुन बनाए पनि त्यो प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।

नेपाल जस्तो विकासोन्मुख देशमा बर्सेनी सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्यान्सर रोगबाट बच्न तथा बचाउन प्रारम्भिक अवस्थामा नै सुर्तीजन्य पदार्थको नकारात्मक असरबारे जनचेतना फैलाउनु आवश्यक देखिन्छ ।