१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेपाली समाज : सामाजिक विभेदको रुपमा महिनावारी (भिडियो रिपोर्ट)


0
Shares

महिनावारीलाई नेपाली समाजमा अझैपनि सामाजिक विभेदको रुपमा लिइन्छ । सुदूर पश्चिमलगायतका २१ जिल्लामा अझै पनि छाउपडी प्रथा कायम नै छ ।

महिनावारी भएको समयमा परिवार र विद्यालयको सहयोग नपाउँदा ग्रामिण क्षेत्रमा ५० प्रतिशत बालिकाले बीचमै पढ्न छाड्ने गरेको एक अध्ययनले देखाएको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिले गरेको अध्ययनले यस्तो डरलाग्दो अवस्था देखाएको हो ।

राजधानी काठमाडौंमै महिनाबारीका कारण ४० प्रतिशत बालिका विद्यालय जान नै छाडेको अध्ययनले देखाएको छ ।

महिनावारीलाई ‘रजस्वाला’ तथा ‘नछुने’ पनि भनिन्छ । यो महिना दिनको अन्तरमा हुने भएकाले यसलाई महिनावारी भनिएको हो । महिलाहरुमा सामान्यतयाः १३—१४ वर्षको उमेरदेशि नै महिनाबारी शुरु हुन्छ भने खानपान र वंशाणुगत कारणले १०/११ वर्षको उमेरमा पनि महिनावारी सुरु हुने गरेको स्त्रीरोग विशेषज्ञहरु बताउँछन् ।

महिनावारी तथा सरसफाईसम्बन्धी नीति नहुँदा नेपाली समाजले महिनावारीलाई समस्याको रुपमा लिने गरिएको छ । सरसफाईसम्बन्धी गुरुयोजना–२०६८ मा महिनावारी तथा सरसफाईलाई समेटिएको भएपनि यसले कुनै सफलता हासिल गर्न भने सकेको छैन ।

महिनावारीको समयमा परिवारका सदस्यलाई छुन हुँदैन भन्ने सामाजिक मान्यता भएकाले बालिकाहरु विद्यालय जान मान्दैनन् । उसै त पारिवारिक विभेद त्यसमाथि विद्यालयमा समेत सहयोग नहुँदा बालिकाहरु विद्यालय छाड्न बाध्य हुने गरेका हुन् ।

सामाजिक विभेदका कारण महिनावारी समस्याबारे महिलाहरु खुलेर कुरासमेत गर्न सक्छैन् । त्यही कारणले महिनावारी भएको समयमा हेरविचार नपुदा धेरै महिला विभिन्न रोगको संक्रमणमा पर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

परम्परागत सोच विचारका कारण पश्चिम र सुदूपश्चिमका २१ जिल्लामा छाउपडी प्रथा अझै कायमै छ, जसका कारण धेरै बालिकाले ज्यानसमेत गुमाइरहेका छन् । सामाजिक विभेद बढ्दै गएपछि विश्व बैंकको सहयोगमा नेपाल सरकारले स्थापना गरेको ग्रामिण खानेपानी तथा सरसफाई कोषमार्फत मार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन सुरु गरिएको छ ।

महिनावारी भएको समयमा सरसफाईमा विशेष ध्यान पुर्‍याउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

महिनाबारीको समयमा ग्रामीण क्षेत्रका महिलाले फोहोर कपडा प्रयोग गर्ने पाइएको छ । जसले उनीहरुको यौनांगमा संक्रमणको समस्या बढी देखिन्छ । यस्तो संक्रमण अन्य अंगमा पनि हुने सम्भावना उच्च रहने चिकित्सकहरुको भनाइ छ । एक रिपोर्ट (बिस्तृत भिडियोमा हेर्नुहोस्)