
विद्युत् कटौती (लोडसेडिंग) भएका बेला अस्पतालको जेनेरेटर नचल्दा प्याथोलोजी परीक्षण गर्ने प्रयोगशाला लगायत भर्खरै सन्चालनमा ल्याइएको ‘किलिया एनलाइजर मेशिन’ चलाउन कठिनाई भएपछि विरामी थप मारमा परेका हुन् ।
क्यान्सर, बाँझोपन, ब्लडप्रेसर जस्ता रोग सजिलै पत्ता लगाउन अस्पतालले केही हप्तादेखि प्रयोगशालामा नयाँ परीक्षण सेवा शुरु गरेपनि विद्युत् नहुँदा समस्या परेको हो ।
विद्युत् पनि नहुने, जेनेरटर पनि नचल्ने हुँदा विरामीहरुको विभिन्न खाले प्रयोगशाला परीक्षण नै प्रभावित भएको हो । विरामीको रगत परिक्षण गरी रोगको लाग्नु अगावै रोग पत्ता लगाउने ‘किलिया एनलाइजर मेशिन’ चलाउन कठिनाई भएको अस्पतालको प्रयोगशाला विभागका पैथलोजिलैब निरीक्षक हरिशंकर भगतको भनाइ छ ।
उपक्षेत्रीय अस्पताल विकास समितिले ४० लाख रुपैयाँ खर्चेर किनेको ‘केमो लिमिनिशनस् इमोनोस मेसिन’को सेवा केहि दिनअघि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आरम्भ गरेपनि नियमित विद्युत् आपूर्ती नहुँदा अवरुद्ध हुने गरेको हो ।
स्वास्थ्य मन्त्रालयको विशेष पहलमा जडान गरिएको विश्वको अत्याधुनिक मेशिनले ब्लडप्रेशर, क्यान्सर जस्ता रोगबारे किलिया विधीबाट विरामीको रगत परीक्षण गरी पत्ता लगाउन सकिन्छ । उपक्षेत्रीय अपतालमा सेवा सुचारु भएपछि सन्तान् सुखबाट बन्चित दम्पत्तीहरुको रगत परीक्षण गरी देखिएको समस्या औषधि उपचारबाट समाधान गर्न किलिया सेवा प्रभावकारी रहेको ल्याब टेक्निसियन लालबाबु पाण्डेले बताए ।
यस सेवाबाट बारा, पर्सा, रौतहट, सार्लाही र सिमावर्ती भारतीय क्षेत्रका हजारौं विरामीको समय र धन दुबै बचाउन सहयोग पुग्ने प्रयोगाशालाले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा.चितरंजन साह पनि अत्याधुनिक मेशिन भएपनि विद्युत् कटौतीले सेवा अवरुद्ध भइरहेको बताउँछन् ।
वीरगन्ज बाहिर रहेका निजी प्रयोगशालाबाट गराइएको रगत परीक्षणको रिपोर्ट खासै विश्वसिनीय नहुँदा विरामी र चिकित्सक दुबैलाई समस्या हुने गरेको बिरामीहरु गुनासो गर्छन् । यसमा अस्पतालका कर्मचारी र व्यापारीहरुबीच अनुचित लाभहानीको खेल हुने गरेका उनीहरुको भनाइ छ ।
आम सर्वसाधारणको हितका लागि गरिएको प्रबन्धपनि सानातिना कारणले अवरुद्ध हुनु पक्कैपनि राम्रो विषय होइन । यसतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान दिउन् ।
प्रतिक्रिया दिनुहोस्