१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


विद्युत् कटौतीका कारण उपक्षेत्रीय अस्पतालको उपचारमा समस्या


0
Shares

अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका लागि अस्पताल आएका बिरामी प्रभावित भएका हुन ।

विद्युत् प्रधिकरणले सार्वजनिक गरेको विद्युत् कटौती तालिका बाहेक दिनभरी नै दश/दश मिनेटमा विद्युत् कटौतीले गर्दा उपकरण सञ्चालन गर्न नसकिएका कारण बिरामीले समस्या खेप्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चितरंजन साहले जानकारी दिए ।

उनले अनियमित विद्युत् कटौतीका कारण उपकरणसमेत बिग्रिने क्रम बढेको बताए । विद्युत् कटौतीको सबैभन्दा बढी प्रभाव अस्पतालको प्रयोगशालामा परेकोे छ ।

विद्युत् कटौतीका कारण प्रयोगशालामा परीक्षण गर्दा समय र लागत दुबै बढेको नारायणी उपक्षेत्रीय अस्पताल प्रयोगशाला विभागका निरीक्षक हरिशंकर भगतले बताए ।

दैनिक एक हजार दुई सय भन्दा बढी बिरामीको चाप रहेको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा २५० जना भन्दा बढी बिरामीको रोगपत्ता लगाउन रगत, पिसाबलगायतको एक हजार ३०० भन्दा बढी परीक्षण हुनेगरेको प्रयोगशालाका टेक्निसियन लालबाबु पाण्डेले जानकारी दिए ।

उनले मासिक रु १४ लाखदेखि रु १५ लाखसम्म आम्दानी गर्ने अस्पतालको प्रयोगशालाको आम्दानी विद्युत् समस्याका कारण घटेर आधा भएको बताए ।

बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर र सीमावती भारतीय क्षेत्रका बिरामीको उपचार गराउने मुख्य थलोको रुपमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल नै रहेको छ ।

बिरामीबाट लिएको नमुना विद्युत् समस्याका कारण प्रयोगशालामा परीक्षण गर्न नसक्दा एक दिनको काम तीन दिनसम्म लाग्ने गरेको छ ।

अनियमित विद्युत् कटौतीका कारण उपचारमा समस्या देखिएपछि समस्या समाधानका लागि अस्पताल व्यवस्थापन संवेदनशील नभएको अस्पतालकै कर्मचारीको भनाइ छ ।

अस्पतालको जेनेरेटर बिग्रिएका कारण भाडामा ल्याएको जेनेरेटरले चलाउँदासमेत बिरामीले खासै फाइदा पाउन सकेका छैनन् ।

विद्युत् समस्याका कारण अस्पतालमा रहेको इन्डोस्कोपिक, एक्सरे, प्रयोगशाला, अपरेसन थिएटरसमेतमा समस्या देखिएको अस्पतालले जनाएको छ । रासस