-युवराज गौतम
प्रत्येक बर्षको फेब्रुअरी महिना सुरु हुनासाथ युवाहरुमाझ नयाँ रौनक र उत्साह सुरु हुन्छ । टिनएजर अर्थात तन्नेरी पुस्ताहरुका निम्ती यो महिना उमंगको महिना हो । किनकी यो महिना तन्नेरीहरुको महाउत्सव अर्थात भ्यालेन्टाइन डे को महिना हो । जाडो विस्तारै कम हुँदै जाने र मौसम पनि घमाइलो हुने भएकाले फेब्रुअरीमा सबैको मुड रोमान्टिक बन्ने गर्छ । बर्ष दिन देखि प्रतिक्षारत युवाहरुका लागि भ्यालेन्टाइन डे एक महाकुम्भ नै बनेर भित्रिन्छ । नेपाली समाजमा संस्कृती झै मौलाउँदै गएको भ्यालेन्टाइन डे धेरैको प्रतिक्षाको दिन हो ।
भ्यालेन्टाइनले राजधानी काठमाडौं मात्र होइन धरान, पोखरा, नेपालगन्ज, विराटनगर देखि गाउँ गाउँसम्म बेग्लै रौनक थप्छ । फेब्रुअरी १४ तारिखका दिन विश्वभर मनाइने भ्यालेन्टाइन अर्थात प्रेम दिवस नेपालीहरुका निम्ती पनि प्रतिक्षाको दिन बन्न थालेको दशक वितिसकेको छ । होटल, रेष्टुरेन्ट, रिसोर्ट, पव तथा गिफ्ट सेन्टरहरुमा युवाहरुको भिड लाग्छ अनि पार्कहरुमा जोडीहरुको जमघट हुन थाल्छ ।
रोमका सन्त भ्यालेन्टाइनले प्रेमका लागि प्राण त्यागेको दिनका रुपमा मनाउन थालिएको भ्यालेन्टाइन संस्कृतीका रुपमा विकास हुँदै जान थालेको छ । तर यस दिनलाई अविस्मरणीय बनाउन नसक्दा धेरैले तनाव झेल्नु परिरहेको छ । हुनत प्रेमलाई चिन्ताबाट मुक्ति दिलाउने औषधीका रूपमा पनि बुझ्ने गरिन्छ । प्रेमले मानिसलाई उत्साह र उमंग प्रदान गर्न सहयोग पुयाउँछ । विपरीत लिङ्गीबीचको प्रेम मात्र प्रेम नभई एकअर्काप्रति गरिने माया, सद्भाव र आदर पनि प्रेम नै हो भनेर परिभाषित गर्ने गरिन्छ । त्यसैले भ्यालेन्टाइन डे लाई अविस्मरणीय बनाउन हरहमेसा प्रयास गर्नुपर्छ । यसका लागि आफ्नै विबेक प्रयोग गरेर स्मरणीय बनाउन सकिन्छ । त्यसबाहेक केही सुत्रहरुको प्रयोग गरेर पनि जीवन्त बनाउन सकिन्छ । त्यस्ता केही सुत्रहरुको यहाँ चर्चा गरिएको छ ।
सम्बन्ध विस्तारमा सजकता
भ्यालेन्टाइनकै अवसर पारेर नयाँ सम्बन्ध विस्तार गर्ने मुडमा भएदेखि केही सजकता अपनाउनु पर्छ । जोसमा होस गुमाएर कहिल्यै निर्णय लिनुहुँदैन । सानातिना व्यक्तिगत कमजोरीले जोडिएको सम्बन्धलाई क्षणभरमै फाटो ल्याइदिनसक्छ । नयाँ सम्बन्ध विस्तार गर्दा सम्बन्धित व्यक्तिका इच्छा, आकाक्षा साथै व्यक्तित्व र आचरणहरुको विशेष ख्याल गर्नुपर्छ । यसरी विवेक पुर्याएर सम्बन्ध अगाडी बढाउन सकियो भने नङ र मासुको जस्तै सम्बन्ध स्थापित हुनसक्छ । कतिपयको पहिलो प्रस्ताव नै अस्विकृत हुने भएकाले यस्तो बेला सजकता अपनाउनुपर्छ । आफ्नो साथीसमक्ष भ्यालेन्टाइन डे मनाउन राखेको प्रस्ताव अस्वीकृत भएको खण्डमा एकैपटक रिसाइहाल्नु उपयुक्त हुँदैन । उसको मनसाय बुझ्ने प्रयास गर्नुपर्छ । बोल्दा विचार पुर्याउनुपर्छ । सकेसम्म मायालु शब्द प्रयोग गर्नुपर्छ । दुवैले एक–अर्काको आँखाको इसारा बुझ्नु अत्यावश्यक छ किनभने इसाराबाटै रोमान्सको उदय हुन्छ । रेष्टुरेन्ट वा अन्य कतै बसेर खाँदा वातावरण प्रेममय बनाउने प्रयास गर्नुपर्छ । जीवनका तनाव र दुःखहरु भूल्ने र रोमान्सका लागि उन्मुख हुनुपर्छ । किनकी दुवैजनाको इच्छा रोमान्स गर्ने मुडमा हुनु आवश्यक छ ।
उपहार आदनप्रदानमा विविधता
भ्यालेन्टाइन डे मा उपहारको ठूलो महत्व हुन्छ । उपहारले आफ्नो पार्टनरलाई प्रभावित पार्ने हुँदा उसको रुचीलाई ध्यान दिनुपर्छ । उसलाई मनपर्ने सामाग्रीहरुको बारेमा पहिले नै बुझ्ने प्रयास गर्नुपर्छ । भेट हुनासाथ माया लिन र दिन हतार गरिहाल्नु हुँदैन । सरप्राइज दिंदा चर्को मुल्य पर्ने उपहार रोज्नु बेकार हुन्छ । उपहार मंहगो भन्दा पनि प्रेमभाव झल्कने र आकर्षक हुनुपर्छ । पार्टनरको स्वाभाव मंहगो भन्दा पनि दैनिक जीवनमा उपयोगी सामाग्रीहरु रुचाउने किसिमको छ कि विचार पु¥याउनुपर्छ । कतिपय पार्टनरहरुले पुस्तक, घरायसी सामाग्री रुचाउने स्वाभावका हुन्छन त्यसैले उपहार आदनप्रदानमा ध्यान दिनुपर्छ ।
उपहार किन्दा पार्टनरलाई इमोसनल प्रभाव पर्ने खालको अनौठा सरप्राइज दिनुपर्छ । उपहार अनुसार पार्टनरले आफ्नो मूल्यांकन गर्ने हुँदा उसको मनोभाव वुझेर प्रेमको प्रतीकका रूपमा उपहार दिनु उपयुक्त हुन्छ । उपहार छनोट गर्दा धेरै कुराको ख्याल गर्नुपर्छ । रातो गुलाब, मुटु आकारको चकलेट, ब्रासलेट तथा नेकलेसहरू पनि चल्तीका उपहार हुन । कतिपयले मोबाइल, आइफोन, ल्याप्टप, क्यामेरा नयाँ मोडलहरु पनि रुचाउन सक्छन ।
प्रेममय दाम्पत्य
भ्यालेन्टाइन डे तन्नेरी तथा प्रेमी–प्रेमिकाहरूले मात्र मनाउने होइन । यसलाई विवाहितहरुले पनि मजाले सेलिब्रेट गर्न सक्छन । दम्पतीले आपसी सम्बन्धमा माधुर्यता ल्याउन सक्छन् । यसले दाम्पत्य जीवनलाई थप निकट, सुखद एवं रोमाञ्चक बनाउँछ । यसका लागि दम्पतीले मिठासपूर्ण प्रेममय वातावरण बनाउन आवश्यक छ । घर वा रेष्टुरेन्टमा डिनर लिने, मन परेको पेय पदार्थ पिउने गर्नुपर्छ । त्यसबाहेक ‘मुडफ्रेस’ हुने अन्य उपायहरु खोज्नुपर्छ । भ्यालेन्टाइनको रातलाई अझ रोमाञ्चक बनाउन विगतका रमाइला दिनहरुका बारेमा कुरा गर्ने र भविष्य योजनाहरुका बारेमा चर्चा गर्नुपर्छ । त्यसबाहेक सुगन्धित तेलले एक–अर्काको मसाज गर्दा पनि सम्बन्धमा न्यानोपन छाउँछ । व्यक्तिगत उपहार आदनप्रदान गर्दा वातावरण झनै रोमान्टिक हुन्छ । एक अर्कालाई मनपर्ने परिकार सामूहिक बनाएर खाने, बाल्यकालका क्षणहरु एकआपसमा सुनाउने गर्दा थप प्रगाढता छाउन सक्छ । अरु समयमा सामान्य झै–झगडाहरु हुने गरेको भए पनि त्यसलाई चटक्कै विर्सेर जीवनका लक्ष्यहरुको बारेमा गफ गर्नु उचित हुन्छ ।
रमाइलो स्पट छनोट
भ्यालेन्टाइन डे लाई अविस्मरणीय बनाउन घुम्न जाने स्थानले पनि ठूलो प्रभाव पार्छ । दम्पती वा प्रेमजोडीहरुले स्पट छनोट गर्दा धेरै कुराको ख्याल गर्नुपर्छ । झन नयाँ प्रेम प्रस्तावका लागि त स्पटले ठूलो भूमिका निर्वाह गर्छ । स्पट छनोट गर्दा दुवै जनाले छलफल गरी दुवैको चाहना अनुरूप छनोट गर्नु राम्रो हुन्छ । यस सम्बन्धमा कहिल्यै एकलौटी निर्णय गर्नु हुँदैन । दुवैको मनोभावलाई बुझन सक्नुपर्छ । दुवैबीचको सम्बन्धस्तरलाई पनि ध्यान दिनु आवश्यक छ । आफूखुशी गरिएको निर्णयले पार्टनरलाई मर्का पर्ने मात्र नभइ मानसिक असर समेत पर्नसक्छ । त्यसैले स्पट छनोटमा आपसी सल्लाह हुनु अति आवश्यक छ । स्पट एकान्त, सुनसान र मनोरम स्थल हुनुपर्छ ।
पार्क, हरियाली डाँडाहरु, रिसोर्ट, रेष्टुरेन्ट स्पटका नमुना हुन । पहिलो प्रेम प्रस्ताव गर्नुछ भने सुनसान र रमाइलो स्थान रोज्नु पर्छ । विदेशतिर भ्यालेन्टाइन डे मनाउनका लागि विशेष स्थानको व्यवस्था भए पनि नेपालमा त्यस्तो सुविधा छैन । त्यसैले यस विषयमा प्रि प्लानिङ हुनु आवश्यक छ । स्पट दुवैको रोजाइमा भयो भने स्मरणीय बनाउन सकिन्छ । विशेषत, स्पटहरु प्रेममय वातावरण र रोमाञ्चकताले भरिपूर्ण हुनुपर्छ । जसका कारण प्रेम प्रस्तावका लागि उपयुक्त होस अनि सम्बन्ध अझ सुमधर र निकट बन्न सकोस । सुन्दर र आकर्षक स्थल छनोट गरियो भने खिचेको तस्वीरहरु राम्रो आउँछ । त्यस्ता तस्वीरहरुले दिनलाई थप स्मरणीय बनाउँछ । नेपालमा धेरै रमाइला स्थानहरु छन तर सुरक्षाका हिसाबले कति संवेदशील छन त्यो पनि बुझनु पर्छ ।
कुराकानीमा सरलता
नयाँ प्रेम प्रस्वात राख्दा होस या पुरानै सम्बन्धलाई यादगार बनाउन जोडी बीचको गफगाफ वा कुराकानीका क्रममा ब्यक्त गरिने शब्दले पनि ठूलो अर्थ राख्छ । भद्दा र अश्लिल शब्दहरुको प्रयोग पटक्कै गर्नु हुँदैन । झुक्किएर यस्ता शब्दको प्रयोग गरियो भने जिन्दगीभर दाग बस्न सक्छ । यदि विवाह नै भयो भने पाटर्नरले जीवनभर त्यही शब्द कोट्याएर हैरान बनाउन सक्छ । पाटनरले दिएको उपहार सहज रुपमा स्विकार्ने तर पैसासँग तुलना गर्नु हुँदैन । डेटिङमा रमाइलोका नाममा अनावश्यक जोक्स गर्नु हुँदैन । व्यक्तिगत स्वाभाव, रुप रंगलाई लिएर व्यङ्ग पनि गर्नु हुँदैन । स्वाभाविक जोक्स र प्रेमालापले गरे फरक पर्दैन । पार्टनरको पर्याप्त प्रशंसा गर्न हिचकिचाउनु हुँदैन । किनकी जो कोही जोडीले आफ्नो प्रेमीबाट आफ्नो प्रशंसा होस् भन्ने चाहन्छन । यदि लामो समय प्रेमालाप चलिसकेको हो भने भ्यालेन्टाइन डेको सरप्राइजका रूपमा केही दिनका लागि लामो दूरीको भ्रमणका लागि जानुपर्छ ।
प्रतिक्रिया दिनुहोस्