८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पूराना दलहरुको नाडी छाम्दै, राजनीति जितिन रन्जुले !


0
Shares

-संजिव कार्की

राजनीति जति अप्ठ्यारो र जटिल हुन्छ यसको प्राप्ति र उचाइमा पुग्ने परिकल्पना पनि त्यतिनै असहज र विकट हुन्छ । सोचेजस्तो र बोले जस्तो सजिलो क्षणिक कल्पनाको उडान हैन राजनीति । यो त निरन्तरको साधना हो, समर्पण हो, त्याग हो, अटुट लगाव धैर्य र धिरता हो । सुखमा नमात्तिने र दुःखमा नआत्तिने कठोर तपस्या हो । रन्जु दर्शना र विवेकशील नेपाली पार्टीले अझै थुप्रै कष्टकर कहर काट्नु पर्नेछ, हुन्छ । साहास धैर्यता, बुद्धिमता र विवेकशिलताको हजारौं परीक्षा दिनु पर्ने र उत्तिर्ण गर्नुपर्ने छ । असफलता र पराजय अनि पराकाष्ठा झेल्नुपर्ने छ सहनु पर्नेछ बुझ्नु पर्ने छ । परिपक्वता र अनुभविको सर्टिफिकेट समाजको हातबाट ग्रहण गर्नुपर्ने छ ।

हाम्रो सामाजिक र राजनीतिक संरचना अनि परम्परागत समाजबाट छिटो र छोटो बाटोबाट लक्ष्यमा पुग्न सकिन्न, यो समाजशास्त्रको नियम हो । समाज विज्ञानको छाप हो । परम्परागत रूपमा हुर्केको बढेको विश्वास हो जो सजिलै र तुरुन्तै तोडिन्न् । आफूले नयाँ र आधुनिक अनि फराकिलो बाटो नबनाएसम्म पूरानै घुमाउरो र अप्ठ्यारो काँढाघारीकै कष्टकर बाटोबाट नै यात्रा तय गर्नुपर्ने हुन्छ । अहिले हामी त्यस्तै घुमाउरो, साँघुरो र कठिन मार्गबाट नै यात्रा गरिरहेका छौ । जसलाई नयाँ बाटोमा रुपान्तरण गर्नु नितान्त आवश्यक छ । सहज छैन, कठिन छ तर असम्भव छैन । तर यो नयाँ बाटो बनाउन, बदल्न मूर्खतापूर्ण जोखिम उठाउनुपर्ने छ । परम्परागत नजरमा यो मूर्खतापूर्ण देखिए पनि यो साहस हो, यो बलिदान हो, यो अभिष्ट हो । यस्तै मूर्खतापूर्ण जोखिम उठाउने रहर गर्ने साहसी केटी हुन् रन्जु दर्शना र उनको पार्टी विवेकशील नेपाली ।

रन्जुको आँट र मुर्खतालाई माध्यम बनाएर विवेकशील नेपालीले जुन हिम्मत र उर्जासहित रन्जुलाई आगोको भुंग्रोमा हुत्याइदियो । रन्जुको त्यो सुकोमल शरीरमा पक्कै त्यो भुंग्रोको रापले पोल्यो होला, डाम्यो होला जसले सहनसिल बन्ने उर्जा र प्रेरणा मिल्यो होला । त्यो निश्चय नै नेपाली राजनीतिमा गरिएको एउटा आयामिक प्रयोग हो । यसको स्वाद नेपाल र नेपालीले निकट भविष्यमा चाख्ने नै छन् । यसको नितान्त नौलो टेष्टबाट नेपालीहरु मोहित र सम्मोहित हुने दिन टाढा छैन् । जसको सुरुवात काठमान्डौका जनताले गरिसके । परम्परागत किल्ला शक्ति र सामर्थ्य माथि रन्जुको काठमाडौं महानगर प्रमुखमा उम्मेदवारीले धावा बोलिसकेको थियो भने उनले पाएको अभिमतले अब यसको जरा किला हल्लाई सक्यो भन्ने पुष्टी हुदैछ । काठमाडौं मेयरमा रन्जुको हाँकले आधा युद्ध जितिसकेको छ । जनताको अभिमत यो प्रारम्भिक दिनमा जसरी प्रकट भएको छ त्यसले मैं हुँ भन्ने शक्ति र दलको मुटुमा ढ्यांग्रो ठोकिसक्यो जसको प्रमाण यत्रतत्र, सर्बत्र धेरैको बर्बराहटबाट भेटिन्छ ।

मेरो अन्तर्मन भन्छ रन्जुले जति भोट पाउँछिन त्यो मेयर जित्नको लागि प्रयाप्त हुन्न । तर उनले पाएको भोटमा सुद्धता छ , पवित्रता छ । आशाको उज्यालो छ । रन्जुले मेयर होइन राजनीति जित्ने भोलिको नेपाललाई काँध थाप्ने भोट पाउनेछन् । भोलिको राजनीतिलाई सहि दिशाबोध गर्ने कर्तब्य र जिम्मेवारीको भारी भने यस पटक नै काठमाडौं नगरबासीले रन्जुलाई बोकाईदिनेछन । अबको परिक्षामा रन्जुले खरो उत्रनु पर्नेछ । रन्जुसंग महानगर बनाउने कुनै ठूलठूला भद्दा र बोक्रे सपना छैनन् । स्वैरकल्पना र उडन्ते सपना अनि जादुयी रंग छैनन छ त केवल यहीको वास्तविक र धरातलीय यथार्थता अनि समस्या त्यसको पहिचान र ब्यबस्थापकीय क्षमता छ ।

समस्याको प्राथमिकीकरण र सन्तुलन सहितको कार्यक्षमता छ । धुवा, धुलो, खानेपानी, बिजुली, ट्राफिक समस्या, झन्झटिलो प्रशासन र कर्तव्यबोध नगर्ने र दायित्वबोध नगर्ने यन्त्र, संयन्त्रको सहि र उपयुक्त ब्यबस्थापन नियन्त्रण र नियोजन नै पहिलो र आधारभूतरूपमा महशुस गरिएका कुराहरु हुन् । पेट खाली राखेर ओठमा लाली लगाइदिने कुनै झिल्के चटके र नाटकीय योजना छैन रन्जुको अनि विवेकशील नेपालीको । बिग्रेको, भत्केको र क्षयग्रस्त परिपाटीलाई सहि ट्रयाकमा हिंडाउनु , समस्याको सहि ढंगले, सहि समयमा ब्यबस्थापन गर्नु जनताको पहिलो आवश्यकता र आवाजलाई मध्येनजर गरेर कार्ययोजना बनाई कार्यतालिकालाई कार्यन्वयन गरि फलोअप गर्नु नै आजको काठमाडौँ महानगर देखि देशको नै पहिलो प्राथमिकता हो भन्ने बुझाई छ विवेकशील नेपालीको ।

एकातिर नेपालमा आफ्नो कुनै भविष्य नदेखेर विदेशीने युवायुवती हुन् या बिभिन्न कुलत र लतले बिलखबन्धनमा परेका युवायुवती या दिनमा सात पटक कपडा फेरेर झिल्के मोबाइल बोकेर हिड्ने फेसनदार ननप्रोडक्टटिभ युवायुवती यी सब भन्दा फरक र देशको माटोको लागि सोच्ने र आफूलाई नै दाउमा राखेर होमिने प्रोडक्टटिभ रन्जु दर्शना जस्ता पात्र छन् । निराशाबादी सोच राखेर हात बाँधेर बस्ने भिड अनि केहि गरौं आफैंले गरे केहि हुन्छ भन्ने पात्र र प्रवृति । निराशाहरुको बीचमा आशाजगाउने विवेकशील नेपालीको लडाई राजनीतिक कुसंस्कार र कुरीति, राजनैतिक सिन्डीकेटसंग हो पद्धती राम्रो हुनुपर्छ भनेर सु–संगत पद्दति बसाल्ने भिष्म प्रतिज्ञा हो ।

राजनीतिमा हार र जित भैरहन्छ तर जनताको चाहना कस्तो चरित्रलाई रोज्न चाहन्छ भन्ने हो । जनमत कसैको पनि हेय र अपहेलनाको चिज होइन तर कस्तोकस्तो बर्ग र कस्तो उदेश्यले कसले कसलाई मत दियो त्यसमा निहित उदेश्य र अर्थको भने सुक्ष्म अध्ययन विश्लेषण मनन गर्नुपर्छ । निहितार्थको खोजी गरिनुपर्छ । आज अहिले कुन परिस्थितिमा कसले जित्यो कसले बढिमत पायो त्यो क्षणिक जय र पराजयको कुरा भयो तर जनता कसलाई र कस्तो राजनैतिक संस्कारलाई जिताउन चाहन्छन ? जनताले दिन खोजेको सन्देश के हो ? कस्तो पद्दति र संस्कारको लागि हो ? भोलि कुन राजनीतिक आचरणको खोजि हुँदै छ यो सामाजिक बहस र चासोको बिषय हो । आजको नेपालको राजनीतिमा सिद्दान्तको राजनीति छैन राजनीतिक सिद्दान्त केवल देखाउने बेचिखाने नारा मात्र हो । सिद्दान्त हिनताको राजनीति झुठ नीति छ । र बल नीति नै आजको राजनीतिको आदर्श भएको छ । देशको लागि हुने राजनीति स्वार्थ र पद प्रतिष्ठाको लागि मात्र भएको छ । सिद्दान्तको कुनै रंग छैन पानी जस्तै भएको छ सिद्दान्त जता घोल्यो जोसंग मिल्यो उस्तै हुने । सिद्दान्त स्वार्थमा साध लाउने हतियार भएको छ । इमान सकीएपछि जे गरे पनि हुने कस्तो निर्वस्त्र राजनीति ?

यस्तो निर्वस्त्र र स्वार्थको हिलोमा चोबलिएको राजनीतिबाट जनता नयाँ खोजीमा छन् जसको प्रतिबिम्ब रन्जुमा देखेर , बिबेकशील नेपालीमा देखेर जनता आकर्षित भएको तथ्य यसपटकको स्थानीय निर्वाचनले देखाएको छ । काठमाडौंले परिवर्तन चाहेको र परिवर्तनको नेतृत्व आफैले आफैबाट गर्न खोजेको छ । यो संकेत शुभ संकेत हो । हिजो राजनीतिमा देखिएको सैद्धान्तिक छुत अछुत आज एकाकार भएको छ । सिद्दान्ततः यो नराम्रो होइन तर केका लागि भेद मेटियो त्यो गम्भीर र खतरानक सूचक हो । यसबाट जनता झस्केका छन निष्ठा, मान्यता र मुल्यको राजनीतिको हत्या भएको छ । आदर्शको चीर हरण भएको छ । अस्मिता राजनीतिक ज्यादतिको शिकार भएको छ । सत् बलात्कृत गरिएको छ । अप्राकृतिक सिद्दान्तलाई प्राकृत देखाउने र स्वार्थको खेल गर्ने कुचेष्टा पालिएको छ । समग्रमा राजनीति यति विकृत बनाइएको छ कि जसको सरसफाइको लागि भरपर्दो र विश्वाशिलो मजदुरको खोजी हुँदैछ । विवेकशील नेपाली कारखानाले पक्कै पनि रन्जु जस्ता उर्जावान, बेगवान विवेकशील नेपालीलाई आफ्नो कारखानामा अर्जापेर धारिलो र पाइनदार बनाउदै छ । हुनत यस पटक अहिले एउटा जबर्जस्त धारणा र बहस बाहिर आएको छ रन्जु र किशोर थापा मिलेर चुनाव लड्नु पर्थ्यो जित यसैचोटि असम्भव थिएन तर त्यसो होइन रन्जु एक्लै लड्ने जुन साहस गरिन त्यो साहसको कदर र त्यो आत्मविश्वासको सम्मान प्रकट भएको हो ।

रन्जु एक दिनलाई र क्षणिक लाभ हानीको लागि राजनीति नगर देश जिताउने, इमान जिताउने राजनीति गर । सत्य, न्याय र निष्ठाको लागि बहस पैरवी गर तिमीले गणितमा हारेर फरक पर्दैन । सुसंस्कृतिक पद्दति बसाल्न खोज्दा लडियो भने पनि फरक पर्दैन तिम्रो उमेर छ, समयले साथ दिन्छ अपार जनसमर्थन छ । प्रशस्त सम्भावनाहरु बाँकी छ भने किन अर्कोको हात समातेर हिड्नु तातै खाऊ जल्दै मरौ किन गर्ने ? यो पनि बुझ्नु जरुरी छ पुरानो मानसिककता र परम्परागत मान्यता बोक्ने मनस्थिति परिवर्तन गर्न समय लाग्छ ।

राणा शासन ढाल्ने देखि लिएर प्रजातन्त्र ल्याउने, पंचायत ढाल्ने देखि गणतन्त्र ल्याउने सम्म हाम्रो योगदान छ भनेर पहिलेको योगदानको ब्याज खाएर बसेका बुढा पुराना पार्टीहरुका अघि यो प्रतिस्पर्धा चानचुने र सामान्य होइन । एक युग र अर्को युगको प्रतिनिधित्व बीचको भयंकर संग्राम हो । यो पटक ब्रम्हाजी आएर चुनाव लडे पनि काठमाडौँका मान्छेहरु कांग्रेस एमाले छोडेर भोट हाल्न हिच्किचाउने अवस्था छ । यस्तो बेला जति मत प्राप्त भयो हुन्छ त्यो अरुहरुको संसारमा अनिष्टको तरवार झुण्डिएको हो । आफ्ना बुवा र हजुरबुवा पुस्तासंग भिड्ने जुन साहस र संकल्प गर्यौ त्यो नै अरुहरुको लागि ठूलो बज्रप्रहार हो ।

भेट्रान मुक्केबाजसंग भिड्ने तिम्रो आत्मबल नै ठुलो जित हो भोलीको लागि मार्ग प्रसस्त गर्ने ठाउँ हो । जय पराजयको निराशालाई छोडेर यो धर्म युद्धमा सँधै लड़िराख्ने अभिलाषा राख । विकृति र विसंगतिको खिलाफमा सँधै चट्टानी अडान र क्रान्तकारी रुझान राख भोलि तिम्रो र विवेकशील नेपालीको आगमनमा पर्खाल बन्नेहरु स्वत ढल्नेछन । राजनीतिमा उन्यु फुल्ने छ । पूराना र थोत्रा मान्यताहरुको जग हल्लिसकेको छ अर्को चुनावमा सानो झोक्काले पनि त्यो सजिलै उखेलिने छ । कलिली र अनुभवहिनताको आरोपलाई चिर्न आफुलाई संयमित धैर्य जिज्ञासु र अरु अध्यनशील र आचरण र ब्यबहारले अरु सुसंस्कृत बनाऊ पराजयहरु जय र विजयमा बदलिन बेर मान्दैन । आर्थिक पारदर्शिता ,योजनाको कार्यन्वयन अनि समस्याको मूल पहिचान आजको उम्दा र जटिल बिषय हो यसलाई जनजनको विश्वासको आधार र जग बनाएर जाउ देश साच्चै राम्रो बन्नेछ । आफैं र हरेक व्यक्ति बदलिने र बदल्ने परिपाटी र पद्दतिको सुरुवात गरौं देश केहि वर्ष भित्र आशालाग्दो परिवर्तन र बिकासको लयमा हिड्ने छ ।