८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बाहुबली राजनीतिज्ञ र कानुन दिवस


0
Shares

पेशल आचार्य–
चुनावका मुखमा आएर प्रहरीले धमाधम गुन्डा नाइकेहरूलाई पक्रिँदै र थुन्दै छ । अघिपछि ती समाजमै असनका साँढेझैँ डुक्रिने गर्थे । चुनावी माहोल तात्दै जाँदा सरकारले तिनीहरूबाट चुनावी वातावरण खल्बलिने संकेतमा समातेको हो । मिहीन पाराले शासन नियाल्ने हो भने पनि यो देश गुन्डाले नै चलाएको हो । अघिपछि कानुनका सहारा लिएर पार्टीमा रहेका सफेद पोशाकधारी ‘गुन्डा’ ले चलाउँथे भने तिनीहरूलाई पर्दा पछाडिबाट डनहरूको ठूलै सहयोग हुन्थ्यो । नेपालमा डन नपाल्ने नेता र नेतासँग कुम जोरेर नहिँड्ने डन नै छैनन् भन्दा हुन्छ ।

भनाइ नै छ– गरिब देशको पोलिटिक्स धन, डन र गनमा टिकेको छ ।

महाभियोग प्रस्तावले कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका प्रचण्डलाई ‘कलङ्कका साझेदार’ भनेर चित्रण ग¥यो । सारा समाज एकापट्टी ‘दादे सरकार’ अर्कोपट्टी भएर महाभियोग प्रस्ताव आएको थियो । अन्ततः अदालत कै आदेशले बदर भयो । संसदीय सर्वोच्चता र न्यायिक सर्वोच्चताको लडाइँ नेपालमा मात्र पहिलोपटक भएको होइन । यो विश्वव्यापी लडाइँ नै हो । हालैको एक टेलिभिजन अन्तर्वार्तामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भन्छन्– ‘न्यायिक निष्ठा र इमान्दारीपनको अभावमा अदालतले आफ्नो भूमिका निभाउन नसक्दा यस्तो परिणति आएको हो । सुशीला कार्की त मात्र ‘निमित्त नायिका’ हुन् । त्यस घटनाको पृष्ठभूमि निकै लामो छ ।’ उनले अझै अगाडि भने– ‘मेरो र प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका बीच कुनै समय वार्तालाप हुँदा जसमा विश्वनाथले भन्नुभयो । यहाँ ९८ प्रतिशत वकिल र ९९ प्रतिशत न्यायाधीश खराब छन् । अदालतको स्वच्छताका लागि न्यायाधीश होइन, वकिल इमान्दार र नैतिकवान हुनु पर्‍यो । अदालतको गरिमा र न्यायलाई निष्कलङ्क बनाउन वकिलको दह्रो हात हुन्छ । भारतमा त्यो देखिएको छ । अहिलेका वकिल जसरी होस् अकूत पैसा चाहन्छन् । त्यही प्रवृत्तिले न्यायाधीश पनि घेरिएका छन् ।’

स्पष्टवक्ता र ६ दशकसम्म कानुन व्यावसायीको अग्रणी भूमिकामा स्थापित पुराना वकिल भण्डारीले भनेका कुरा मार्मिक छन् । अदालत ‘स्वतन्त्र’ हुनु पर्दथ्यो तर त्यो ‘स्वच्छन्द’ भयो । स्वतन्त्रता र स्वच्छन्दता दुवै एकअर्कासँग मेल नखाने सन्दर्भ हुन् ।’

अहिलेको यो लडाइँ तात्कालिक होइन, कालक्रमिक हो । उत्तरआधुनिक समयमा कुलीनहरू जस्तोसुकै प्रतिकूल स्थितिमा समेत न्याय किन्ने हैसियत राख्छन् । निर्धनहरू अनुकूल अवस्थामा समेत कानुनी घरसम्म पुग्न सक्दैनन् । संसारको माहोल हेर्ने हो भने अमेरिका एक नम्बर, बेलायत २ नम्बर, भारत ३ नम्बर र जापान ४ नम्बरमा न्याय सम्पादनका लागि माहिर मुलुक मानिन्छन् । भौतिक जीवनमा वकिल हुन् या न्यायाधीश सबैलाई धन चाहिन्छ । ‘निष्ठा’ का स्थानमा ‘नास्ता’ हावी भएपछि न्याय प्रक्रियामुखी र घुमाउरो हुँदा ‘घुमीफिरी रुम्जाटार’ भन्ने आहान बलियो हुन्छ नै । पूर्वतिरका बूढापाकाहरू थकित मुद्रामा भन्थे– ‘गढी डाँडा अदालतमा, राडी खायो गाईले ।’ यो कथन् त्यसै भनिएको होइन । कथा र उपकथाहरू जेलिएका छन्– यी र यी परिस्थितिहरूमा ।

‘कानुनका नौ सिङ्’ भन्दै गर्दा गोरखाको मिथकीय कथा अहिलेका डिजिटल पुस्ताले बुझ्न नसक्ने हुनु पनि ‘न्याय नपाए गोरखा जानु’ भन्ने उखानकै बर्खिलाप हो । अहिले न गोरखा मिथकमा रहन सक्छ न न्याय नै । राजा रामशाहका सन्तानहरू इतिहासका पात्र जो बनाइए ।

‘वकिलहरूबाट न्यायाधीश हुने परिपाटी बहुदल आएपछि मात्र बनेको हो । नत्र सोभन्दा अघि कानुन समूह, न्याय समूह र सरकारी वकिल समूहमा कानुन अघिकृतहरू विभाजित थिए । पुनरावेदन र सर्वोच्चमा जब कानुन व्यवसायीहरू निर्धक्क रुपले पार्टीका कोटाबाट ‘कालो कोट’ पहिरेर निश्चित एजेण्डा बोकी श्रीमान् बनेर भित्रिए अनि सुरु भयो न्यायको स्खलन । शपथ गरेर माला र अबिर नपुछी बल्खु, सानेपा र पेरिस डाँडामा वफादारीको ‘दाम’ चढाउन जानेहरूबाटै न्यायको शनैःशनैः चीरहरण भएको हो । ती सबैसबै अमुक पार्टीका क्याडर थिए जसले न्यायको पवित्रतामा एक अनेक धब्बा पोत्ने काम गरे सानका साथ ।’ कानुनका क्षेत्रमा पुराना र जानकार भएका कानुन व्यवसायीहरू अनौपचारिक सवालजवाफमा यसो भन्ने गर्छन् तर तिनीहरूको झिनो आवाज रामशाह पथको इर्दगिर्दमा नपुग्दो रहेछ ।

समसामयिक समयमा नेपालमा भएका सबै राजनीतिक अङ्ग र सरकारी संरचनाहरू म्यादी भएका छन् । आउँदो असारदेखि साविक जिल्लास्थित सबै कार्यालयहरू हट्ने भएकाले ती म्यादी भएका छन् । पुरानो संरचनाका सबै अङ्ग म्यादी हुनु र नयाँ संरचनामा राज्यको पुनर्संरचना हुँदै जानुले पनि धेरै अर्थ र गन्तव्यको खोजी राख्छन् ।

चुनावी रस्साकस्सीले एमाले र राप्रपालाई मोहनी लगायो । अर्कातिर कांग्रेस र माओवादी मोर्चाको गठबन्धनले धेरै मतदाताहरूलाई रनभुल्लमा पारेको छ । भरतपुरमा प्रचण्ड पुत्री रेणु दहाललाई जिताउन कांग्रेस सभापति देउवाले ठूलै ‘खोखा डिल’ गरेको समाचार सञ्चार माध्यममा आए । एकातिर यसले भरतपुरे कांग्रेसको मथिङ्गल रिङ्ग्याएको छ भने अर्कातिर मिलीभगतको राजनीतिले नेपालमा राजनीतिक अपसंस्कृतिको पुनरोदय जो गर्दैछ ।

स्थानीय निर्वाचनमा आफ्नो हैसियतमा चुनाव लड्न नसक्ने पार्टीले राजनीतिको धन्दा छाडी बरु बाग्मती सफाइमा लाग्दा बेस् । राजनीति गर्न पहिला दर्शनको दाउन हाल्न सक्नु प¥यो । ककटेल दर्शनमा विकासका पुरिया खोलेर अब जनता ठग्ने दिन मैजारो भैसकेका छन् ।

राजधानीको चुनावी माहोल हेर्दा कतिपय नयाँ पार्टीहरू फेसबुक र टुइटरमा चुनावी जीत जितिसकेको अभिनयमा रमे रमाएका छन् । भोलि चुनावका दिनमा बुथमा एजेन्ट बस्ने कार्यकर्ता नपाएर हैरान भएका बेला थाहा हुने छ कि क्याडर भनेका पार्टीका गहना हुन् । यो विजोग नयाँ शक्ति, साझा पार्टी र विवेकशील नेपालीको नहोस् । चुनावको मुखमा शुभकामना । पुराना भएका पार्टीले जनता चिढ्याएको धेरै दशक भयो । अब पनि ती आफ्नो भोटर र फलोअर थेग्न सक्ने स्थितिमा छैनन् । तीतो सत्य यस्तो छ भन्ने जान्दा जान्दै पनि पुरानाहरू पुरानिएकै ढर्रामा राजनीतिलाई अघि बढाउन खोजीरहेका छन् ।

काठमाडौँमा साझा पार्टीका किशोर थापाले आफ्नो अन्तर्वार्तामा आफू एक लाख मतले चुनाव जित्ने भनिसके । रञ्जु दर्शनाको मिडिया उन्मुख चुनावले उनलाई विजयश्रीको माला परि¥याउन मात्र बाँकी रहेको देखाइसक्यो तर ती दुवै पार्टीले चुनावी एकताका साथ जनतामा जान सकेको भए समाजमा नयाँ सन्देश जान्थ्यो । यो पटक जित सुनिश्चित नभए पनि अर्कोपटकका लागि राम्रो म्यासेज जनतामा जान्थ्यो । यी र यस्ता सल्लाहहरू न तिनीहरू सुन्ने हैसियतमा छन् । न धैर्यता नै पालेका छन् ।

कमल थापाले सत्तारोहण गर्ने तम्तयारी गरिरहेका बेला अर्का सत्ताका पुजारी विजय गच्छेदारले ‘मौकामा चौका’ हानेको देख्दा चुनावपछि बन्ने सरकारमा आफ्नो सिट सुरक्षित राखेको टिप्पणी बजारमा तातो भएको छ । कमल थापा पनि एमालेसँग अहिले कै चुनावी इलुइलुलाई अघि बढाउँदै गएर पार्टी नै एकीकरणको प्रस्ताव नल्याउलान् भन्न सकिन्नँ । आखिर नयाँ शक्तिका डा. बाबुरामको चुनाव तालमेल उपेन्द्र यादवसँग हुन सक्छ भने कमल थापाहरू एमाले प्रवेश हुन सक्दैनन् भनेर अहिले नै ठोकुवा गरिहाल्न मिल्दैन । राजनीति अझ नेपाली राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुन्नन् भन्ने कुरा अहिले देउवाले प्रचण्डलाई काँधमा बोकेर हिँड्नुले जो दृष्टान्त दिएको छ ।

सर्वोच्चमा पुनःबहाल भएकी प्रधानन्यायाधीश सुशीला कार्कीको महाभियोगलाई मत्थर बनाउन या फिर्ता लिन ‘मुद्दा पनि नहेर्ने र विदा पनि नबस्ने’ भन्ने सवालमा नेपाली राजनीतिका बाहुबलीहरूले ‘चङ्गा बनाएर’ कानुन कै धज्जी उडाइरहेको यो मौसममा सबै निरक्षर, साक्षर र शिक्षित जनहरूमा कानुन दिवसकै शुभकामना !