१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउँछिन् शान्ता


0
Shares

शान्ताका पति ३६ वर्षीय भूपिन राईको दुवै मिर्गौला खराब छ । आर्थिक अवस्था ज्यादै नाजुक भएकाले दाताबाट आर्थिक सहयोग जुटाएर उनको उपचार भइरहेको छ ।

सातामा तीनपटक डायलासिस गर्नुपर्ने अवस्था भएका भूपिनलाई उपचारका लागि सहयोग जुटाउन स्थानीयवासीले युवा नेता चतुर्भुज काफ्लेको संयोजकत्वमा ‘भूपिन राई बचाऊ अभियान’ गठन गरेका थिए । सोही अभियानबाट संकलित रकमले टिभिएस कम्पनीको टेम्पो आइतबार खरिद गरिएको हो ।

‘सधैँभरि चन्दा मागेरमात्र साध्य नभएपछि पतिको उपचार खर्च जुटाउन टेम्पो चलाउने निर्णय लिएकी हुँ’ – रासससँगको कुराकानीमा शान्ता बताउँछिन् ।

सहयोग जुटाउन गठित अभियानले विगत छ महिनामा रु १६ लाख संकलन गरेको थियो । काठमाडौं, धरान र बिर्तामोडमा उपचार गराउँदा खर्च भएर अब सो अभियानको नाममा बैंकमा रु ११ लाखमात्र बाँकी रहेको संयोजक काफ्ले बताउँछन् ।

बारम्बार सहयोग नजुट्ने र दिगो स्रोतको खोजी नगर्दा भएको ढुकुटीपनि रित्तिने भएकाले बेलैमा आय आर्जनको बाटो पहिल्याउँदै भूपिनकी पत्नी शान्तालाई टेम्पो किनेर दिएको उनको भनाइ छ ।

मजदुरी गर्ने भूपिनका दुवै मिर्गौला खराब भएपछि परिवारकै अबस्थापनि नाजुक हुँदै आइरहेको थियो ।
हाल बिर्तासिटी अस्पतालमा सातामा तीनपटक डायलासिस गराइरहेका भूपिनलाई पत्नी शान्ता र आफन्तहरुबाट एउटा मिर्गौला दान गर्न मञ्जुर भएपनि परीक्षण गर्दा फरक देखिएको अभियानका सदस्य चन्द्रलाफा मगर बताउँछन् ।

मिर्गौला प्रत्यारोपण हुन नसक्ने अवस्था भएकाले समितिले हाल उठेको सहयोग रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्न चाहेपनि परिवारको सल्लाहमा दिगो आर्थिक स्रोतको पहिचान गर्ने क्रममा त्यही रकमबाट टेम्पो किनिएको हो ।

टेम्पोको बजार मूल्य पाँच लाख ३५ हजार हो । तर सहारा नेपालले रु २५ हजार छुट गरिदिएकाले शान्ताले रु पाँच लाख १० हजारमा टेम्पो पाएकी हुन् । टेम्पो कुदाएर दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुने शान्ताको अपेक्षा छ । त्यसबाट उनले सातामा तीनपटक पति भूपिनको डायलासिस र परिवारको भरणपोषण खर्च पुर्‍याउनुपर्छ । उनीहरुका १० वर्षकी एक छोरी सगुन कक्षा ४ मा पढ्छिन् भने ६ वर्षका छोरा तान्छोप्पा एलकेजीमा पढ्छन् ।

शान्ताले बिहानै उठेर परिवारका सबैलाई खाना पकाएरमात्र टेम्पो लिएर बजारतिर आउने गर्छिन् । बिरामी भूपिनले छोराछोरीलाई भात खुवाएर स्कुल पठाउने गर्छन । भूपिन अरु काम गर्न नसक्ने हुँदा बेलुका शान्ता छिट्टै घर फर्किछिन् ।

आर्थिकस्थिति कमजोर भएकाले वैदेशिक रोजगारीका लागि कतार पुगेपनि भूपिनको अवस्था ज्यादै नाजुक भएपछि सात महिनापछि उनी नेपाल फर्केर पतिको उपचारमा जुटेकी छिन् ।

भूपिन बचाऊ अभियानका संयोजक काफ्लेले अब टेम्पो चलाएर गरेको आम्दानीले भूपिनको उपचार र परिवारको पालनपोषणमा सहयोगी हुने बताए ।