
गर्मीका कारण विशेषगरी भाइरल ज्वरो संक्रमित बिरामीको संख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, भाइरललगायतका समस्या भएका बिरामीको संख्या दिनहुँ बढ्ने गरेको सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले जानकारी दिए ।
उनले हाल दैनिक एकसय जनासम्म बिरामी उपचारका लागि अञ्चल अस्पताल आउने गरेकोसमेत बताए । अत्यधिक गर्मीसँगै सुक्खापनि बढ्ने गरेकाले जहाँतहीँ धुलोधुवाँ मात्रा बढ्ने र पानीमासमेत त्यस्तो प्रदूषण मिसिने हुँदा सजिलै मौसमी रोग लाग्ने गरेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
गर्मीका कारण मानिसमा भाइरल ज्वरो, विषमज्वरो, कमलपित्त, झाडापखालालगायतका रोग बढी मात्रामा देखा पर्ने भएकाले यस्ता रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुका साथै उमालेको तथा क्लोरिन हालेको पानी मात्र पिउने र घरबाहिर जाँदा मास्कको प्रयोग गरिनु पर्नेमा इमर्जेन्सी वार्ड प्रमुख बोहराले सुझाव दिएका छन् ।
स्वास्थ्यकर्मीले मौसमी रोगबाट बच्न पिउने पानीको स्रोत नै सफा र शुद्ध हुनुपर्नेमा जोड दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्