
अमेरिकाको टेम्पल विश्वविद्यालयअन्तर्गत् लुइस कत्ज स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले मुसामा रहेको एचआइभी भाइरस संक्रमित कोषहरु निकाल्न सफल भएको बताएका छन् ।
अध्ययनकर्ताहरुले ‘सीआरआइएएसपीआर/कास ९’ नामक एक शक्तिशाली जीनको सम्पादन गर्ने पद्धतीमार्फत् संक्रमित सबै भाइरस निकालेर उक्त मुसालाई एचआइभी भाइरसमुक्त गर्न सफल भएका हुन् ।
साइन्स जर्नलमा प्रकाशित अध्ययनको निश्कर्षअनुसार अध्ययनकर्ताहरुले फरक–फरक तीन तरिकाबाट संक्रमित मुसाको उपचार गरेका थिए । तीमध्ये सीआरआइएएसपीआर/कास ९ नामक एक शक्तिशाली जीनको सम्पादन गर्ने पद्धतीमार्फत् मानव प्रतिरक्षा कोष उक्त मुसामा प्रत्यारोपण गरिएको थियो ।
अध्ययनमा संलग्न डा.वेन्हुइ हुकाअनुसार पछिल्लोपटक गरिएको प्रयोगलाई सुधार गरी जीन सम्पादन रणनीतिलाई शक्तिशाली बनाएर जीन थेरापिमार्फत् उपचार गर्दा उपचारमा सफलता मिलेको हो ।
उनले भने–‘मानिसमाभन्दा मुसामा एचआइभीको संक्रमणको गति तीव्र हुन्छ, हामीले अरु दुई प्रकारका आन्तरिक पद्धतीमार्फत् उपचार गरेका थियौं, एउटा पद्धतीले शरीरभित्रैको तीव्र संक्रमणलाई रोक्यो भने अर्को पद्धतीले अरु जीवमा हुने संक्रमणलाई रोक्यो, जस्तो एक मानिसबाट अर्कोमा सर्दछ ।’
अध्ययनकर्ताहरुले एचआइभी/एड्स संक्रमित मानिसको पूर्ण उपचारका लागि मुख्य र अन्तिम अवस्थामा आइपुगेको बताएका छन् ।
अध्ययनमा सहभागी अर्का डा.कमेल मे खलिलीले एकपटक पुनः एचआइभी संक्रमित जनावरलाई जीन थेरापीमार्फत् उपचार परीक्षण गरेर उपचारको अर्को चरणमा प्रवेश गर्ने बताए ।
उनले भने–‘एचआइभी संक्रमित टी कोषको डीएनएसँग मस्तिष्कको कोष अध्ययन गर्नेछौं ।’
अध्ययनकर्ताहरुले एचआइभी संक्रमित मानिसमा यस उपचार पद्धतीको परीक्षण गर्ने बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्