२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


बर्दिया राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुलाई पानीको अभाव


0
Shares

बर्दिया, जेठ २९ । बर्दिया राष्ट्रिय निकुञ्जभित्रका बन्यजन्तुहरुलाई पानीको अभाव भएको  छ ।

बढदो तापक्रमले  कर्णाली नदीको भंगालो सुक्दै गएपछि निकुञ्जभित्र जीवजन्तुलाई पानीको अभाव देखिएको हो । तराईको चर्को गर्मीसँगै पिउने पानीको अभाव भएपछि जीवजन्तु छटपटाउने अवस्थामा पुगेका छन् ।

बर्दिया निकुञ्जस्थित मध्यवर्ती क्षेत्रबाट बगेको कर्णाली नदीको भंगालोको रुपमा रहेको गेरुवा नदीको पानी सुक्दै गएको छ ।

निकुञ्जमा पुर्‍याउने पानीको प्रमुख स्रोतको रुपमा रहेको उक्त नदीको पानी सुक्न थालेपछि पानीको अभावमा वन्यजन्तुलाई समस्या हुन थालेको हो ।

निकुञ्जमा पानी लैजाने मुख्य मार्गका रुपमा रहेको लालमटियामा बालुवा ढुंगा थुप्रिएसँगै पानीको अभाव देखिएको हो ।

त्यसो त पानीको अभावलाई केही हदसम्म भएपनि टार्न निकुञ्जले सोलार वाटर पम्प जडान गरी ८३ वटा कृतिम पोखरी निर्माण गरी वैकल्पिक व्यवस्था गरेको छ ।

वन्यजन्तुलाई आवश्यक पर्ने पानीको आपूर्तिका लागि लालमाटीस्थित गेरुवा नदीको पानीको बहाव पुरानै अवस्थामा फर्काउने प्रकृया थालिएको र अन्य ठाउँमा पनि वाटरपाइप जडान गरी पानीको आपूर्ति सहज पार्न लागिएको बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहको भनाइ छ ।

ढुंगा, वालुवा, गिट्टी थुप्रिएर पानीको स्रोत सुकेकाले सो हटाउन प्रकृया थालिएको निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण प्रसाद रुपाखेती बताउँछन् ।

निकुञ्जबाट बग्ने गेरुवा नदीमा पानी सुक्दै गएपछि नदीमा रहेका डल्फिन, गोही र माछा विस्थापित भएका छन् ।

त्यस्तै समयमै पानीको समस्या व्यवस्थापन नभए वन्यजन्तु पनि  संकटमा पर्ने जोखिम बढ्ने सम्भावना रहेको छ ।

निकुञ्जका वन्यजन्तु पानीको हाहाकारमा बस्नुपरेको अवस्था चिन्ताजनक छ ।

सम्बन्धित र सरोकारवाला निकायले प्रभावकारी व्यवस्था गरी उक्त अभावलाई दीर्घकालीन रुपमै हटाउनुपर्ने देखिन्छ ।