१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


स्व.लामु अमात्य नेपालको पहिलो नर्स घोषित


0
Shares

स्वास्थ्य मन्त्रालयमा आइतबार (आज) आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै उनका पुत्र गायक योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे ।

स्व.अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गरेकी थिइन । उनले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गरेकी थिइन् ।

नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व.लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व.लामुलाई पहिलो नर्स घोषित गरिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए ।

पश्चिम बंगालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिएकी स्व.लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको भन्दै गायक अमात्यले खुसी व्यक्त गरे ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने गायक अमात्यले जानकारी दिए ।रासस