
फाइल फोटो
तीन छोरा र एक छोरीसहितका बालबच्चा छाडेर उनी घरबाहिर मात्रै घुम्ने, घरमा नआउने गर्न थालेपछि उनका आफन्तले ती बालबालिकालाई संरक्षणका लागि अनाथालयमा राखेका थिए । महिनौँ दिनसम्म पनि घरमा नआउने, बाटोमा गीत गाउँदै हिँड्ने गर्न थालेपछि उनी मानसिक रोगबाट पीडित भएको भन्दै आफन्तजनलेसमेत वास्ता गर्न छाडेका थिए । भाग्यवश उनी जीविकोपार्जन शिक्षा तथा विकास समाज (लिड्स)का सामाजिक परिचालकको सम्पर्कमा पुगिन् । मानसिक रोगीको निःशुल्क औषधोपचार तथा संरक्षकको आयआर्जनमा सुधार ल्याउन कार्यक्रम गरिरहेको लिड्सको सम्पर्कमा आएपछि उनको स्वास्थ्य परीक्षण भयो र नियमित औषधि खुवाउन थालियो ।
लिड्सको सहयोगमा मानसिक रोग विशेषज्ञसँगको परामर्शमा निःशुल्क औषधि सेवन गर्न थालेपछि विक घरमै नियमितरुपमा बस्न थालेकी छिन् । ‘मेरो स्वास्थ्यमा यसरी सुधार आउला भनेर सोचेकै थिइनँ, अहिले उपचारगरी नियमितरुपमा औषधि खान थालेपछि मलाई कुनै समस्या छैन, घरपरिवारसँग राम्रैसँग बसेकी छु,’ विकले भनिन् ।
लामो समयसम्म मानसिक रोगबाट पीडित भएकी विक नियमितरुपमा औषधि खान थालेपछि सामान्य अवस्थामै फर्किएकी छिन् । उनी अहिले आफ्नो छोराछोरी, श्रीमान्सँग घरमै बसेर नियमितरुपमा घरभित्रका काम गर्न सक्छिन्न् । ‘कतिबेला कहीँ होस आउँथ्यो र आफूलाई के भयो भनेर आफँै अचम्ममा पर्थे, गाउँघरमा कतिपयले बौलाहीसम्म भनेर गिज्याउने गर्थे, अहिले आफ्नो स्वास्थ्यमा आएको परिवर्तनले म आफैँ दंग छु,’ उनले थपिन् ।
मानसिक रोगको समस्याबाट ग्रसित कतिपय व्यक्ति अझै पनि सडकपेटीमा भौँतारिरहेका देखिन्छन् । तर विकको जीवनमा आएको परिवर्तनले मानसिक रोगको उपचार सम्भव रहेको प्रस्ट्याउँछ । विक मात्रै होइन पछिल्ला केही वर्षयता म्याग्दीका धेरै मानसिक रोगका बिरामीको जीवनमा परिवर्तन आएको छ ।
मानसिक रोगबाट पीडित भएकाको विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गरी नियमितरुपमा औषधि खुवाउन थालिएपछि उनीहरुको स्वास्थ्यमा सुधार आएको हो । विगत ७ वर्षदेखि मानसिक रोगीको निःशुल्क औषधोपचार तथा संरक्षकको आयआर्जनमा सुधार ल्याउन काम गरिरहेको लिड्सले म्याग्दीमा करिब एक हजारको हाराहारीमा मानसिक रोगका बिरामीको पहिचान भएको जनाएको छ ।
मानसिक रोगको समयमै उपचारगरी नियमित रुपमा औषधि खान दिएमा निको हुने बेनी नगरपालिका–२ खबराकी शान्ति किसानको अनुभव छ । संरक्षक समाज म्याग्दीकी कोषाध्यक्षसमेत रहेकी किसानले आफूलाई नियमितरुपमा टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता समस्याले पाँच वर्षदेखि सताएपनि लिड्समार्फत विशेषज्ञ डाक्टरसँग स्वास्थ्य परीक्षण, परामर्श र नियमित औषधि सेवन गरेपछि भने पहिलेको समस्या हटेको बताउँछिन् ।
औषधोपचारले मानसिक रोगका बिरामीको जीवनमा पनि चामत्कारिक परिवर्तन ल्याइदिनसक्छ भन्ने अर्का उदाहरण हुन् बागलुङ नगरपालिका–४ का हरिनारायण शर्मा । विसं २०६३ मा रोजगारीको सिलसिलामा मलेसिया पुगेका शर्मा राम्रो आम्दानी नभएपछि मानसिक रोगको सिकार भएका थिए । आफन्तको सहयोगमा स्वदेश फर्किएका शर्मा मानसिक सन्तुलन गुमाएकै कारण पटक–पटक घर छाडेर हिँड्ने गर्थे ।
पछि, लिड्सको सम्पर्कमा आएर घरपरिवारको निगरानीमा नियमितरुपमा औषधि सेवन गरेपछि उनको स्वास्थ्यमा परिवर्तन आएको छ । ‘पहिले कैयौँ पटक घर छाडेर यत्रतत्र भौँतारिएँ, अहिले नियमितरुपमा औषधि खाएको छु, स्वास्थ्यमा पनि कुनै समस्या छैन, एउटा हार्डवेयरमा काम गर्छु, त्यसैबाट घरखर्च चलाएको छु,’ शर्माले भने ।
उनी मासिकरुपमा फलोअप र औषधिका लागि पोखरा गइरहनुपर्ने समस्याले झन्झट भएको बताउँछन् । मानसिक रोगका बिरामीले पटक पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने र नियमितजसो औषधि सेवन गर्नुपर्ने भएकाले यससँग सम्बन्धित सेवा कम्तीमा जिल्ला अस्पतालबाटै उपलब्ध हुनुपर्ने मागसमेत गर्दै आएका छन् । नियमितरुपमा औषधि सेवन र पारिवारिक तथा सामाजिकरुपमा उचित वातावरण सिर्जना गर्न सकेमा मानसिक रोगका बिरामीको स्वास्थ्यमा पनि सुधार ल्याउन सकिने मानसिक रोग विशेषज्ञ बताउँछन् ।
पछिल्लो समय मानसिक रोगका बिरामी बढ्दो क्रममा देखिएका छन् । पारिवारिक विचलन, आर्थिक विपन्नता, सामाजिकरुपमा उचित वातावरण तयार नहुनुलगायतका कारण मानसिक रोगका बिरामीको संख्या बढ्दै गएको देखिएको लिड्सका कार्यकारी निर्देशक पद्मराज श्रेष्ठले बताए । ‘मानसिक रोगको समस्या जटिल बन्दै गएपछि हामीले निःशुल्क हेल्थ क्याम्प राख्न थाल्यौँ, सँगै सामाजिक परिचालकलाई गाउँगाउँमा परिचालन ग¥र्यौं, त्यस क्रममा सामान्यदेखि जटिलसम्मका मानसिक रोगबाट पीडित भएकाको पहिचान गरी उपचार गर्न थालेका हौँ, सुरुदेखि नियमितरुपमा औषधि खाएकाको स्वास्थ्यमा अहिले धेरै सुधार आएको छ,’ लिड्सका कार्यकारी निर्देशक श्रेष्ठले भने ।
उनकाअनुसार, म्याग्दी र बागलुङमा लिड्सको सम्पर्कमा मात्रै करिब दुई हजार तीन सय मानसिक रोगका बिरामी छन् । ‘हाम्रा सामाजिक परिचालक समुदायमै पुगेर पहिचान गरेकाको तथ्यांक मात्रै हो यो, धेरैले त अझै रोगलाई लुकाउने र कतिपयले उपचार गरे पनि निजी स्वास्थ्य संस्थाबाट औषधि खाने भएकाले वास्तविक बिरामीको तथ्याङ्क आएको छैन,’ उनले थपे ।
लिड्सका सामाजिक परिचालक प्रतीक्षा पुर्जाले उच्च ओहोदाकै व्यक्तिले अहिलेपनि मानसिक रोगलाई लुकाउने गरेको बताउँछिन् । अझै पनि आफूमा रहेको स्वास्थ्य समस्याबारे शिक्षित व्यक्ति नै खुलेर कुरा गर्न नमान्ने समस्याले यस्ता समस्याबारे आवश्यक जनचेतना फैलाउन आवश्यक रहेको र बिरामीलाई समयमै उपचार गराउनतर्फ सबैले सहयोग गर्नुपर्ने उनले बताइन् ।
म्याग्दी र बागलुङका मानसिक रोगका बिरामीको उपचारको क्षेत्रमा क्रियाशील रहेको लिड्सले सन् २००९ देखि २०१२ सम्म बिरामीलाई औषधोपचार गर्दै आएको थियो भने २०१४ देखि अहिलेसम्म बिरामीका अभिभावकलाई आयआर्जनका लागि समूहमार्फत सहयोग गर्दै आएको छ ।
आगामी जेठदेखि नै यो कार्यक्रमको समयावधि सकिने भएकाले लिड्सले संरक्षक समाजमार्फत उनीहरुका आफन्तलाई संगठित बनाएको छ । अरूको सहारा आवश्यक पर्ने बिरामी तथा अपांगता भएका व्यक्तिको उपचारमा कुनैपनि अभाव सिर्जना नहोस् भन्ने उद्देश्यले संरक्षक समाज गठन गरिएको संरक्षक समाज म्याग्दीका अध्यक्ष निशा महत जिसीले बताइन् ।
मानसिक रोगका बिरामीको उपचार सम्भव हुने भए पनि औषधोपचार महँगो पर्ने भएकाले जिल्लास्तरमै सर्वसुलभ तवरले स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउनुपर्ने उनी बताउँछिन् ।
मानसिक रोगका बिरामीले अहिले स्वास्थ्य परीक्षण, फलोअप र औषधि लिन पोखरा जानुपर्ने बाध्यता रहेको छ । औषधि महँगो पर्ने र नियमितरुपमा औषधि खाइरहनुपर्ने भएकाले संरक्षक समाजले विपन्न वर्गका व्यक्तिलाई पनि औषधि किन्न रकम अभाव नहोस् भन्ने उद्देश्यले संरक्षक कृषि सहकारी स्थापना गरिसकिएको छ । त्यसबाट मानसिक रोगका बिरामीका संरक्षकलाई बचत तथा ऋणको सुविधासँगै आयआर्जनको क्षेत्रमा सहयोग पु¥याउन लागिएको जिसीले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्