२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


आत्महत्या गर्न उक्साउने अनलाइन गेम, अहिलेसम्म १३० जनाले गरे आत्महत्या


0
Shares

यसै वर्ष सुरु गरिएको ‘ब्लु ह्वेल’ नामक गेमले गत आइतबारसम्म रुसमा १३० भन्दा बढी किशोर–किशोरीहरुले आत्महत्या गरेपछि बेलायतमा यस गेमलाई अनुमति दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ ।

एडभेन्चर यात्रा गर्न मन पराउनेहरुलाई लक्षित गरी कुनै टेलिभिजन कार्यक्रमको अवधारणामा ल्याइएको गेमबाट युवाहरु गेमको अन्तिम लेभल पार गर्नका लागि आत्महत्यासम्म गर्न पुगेको ‘द सन’ पत्रिकाले उल्लेख गरेको छ ।

द सनमा प्रकाशित समाचारमा यस अनलाइन गेम खल्ने व्यक्तिले आफैंलाई आत्महत्या गर्न प्रोत्साहित गर्ने उल्लेख छ ।

अनलाइनमा समूहमा मिलेर खेलिने गेममा आफ्नो समूहमा एकजना अन्जान ‘मास्टर’ भेटिनेछ । त्यस मास्टरले समूहको सदस्यहरुलाई प्रत्येक लेभलअन्र्तगत् दैनिक कार्यहरु दिनेछ, जुन ५०औं लेभल ५०औं दिनमा पूरा हुनेछ ।

दैनिक कार्यहरुमा आफैंलाई हानि पुर्याउने, हरर (डरलाग्दो) फिल्म हेर्नुपर्ने, रातको समयमा कुनैपनि बेला उठ्नुपर्नेलगायतका अनौठा र अकल्पनीय रहेका छन् । तर, अन्तिम ५०औं दिनमा विशेषगरी युवाहरुलाई आत्महत्या गर्न निर्देशन दिएर त्यसलाई नियन्त्रण गर्न लगाइन्छ ।

रयिन समाचारपत्र ‘नोभया ग्याजेट’ले गरेको खोज रिपोर्टमा यो गेम खेलेर अहिलेसम्म १३० जनाको ज्यान गइसकेको उल्लेख छ ।

ग्याजेटले भनेको छ–‘ती सबै गेमको अन्तिम ५०औं लेभलमा पार गर्न नसकपछि आत्महत्या गर्न पुगेको हुन् ।’

रसियामा यसरी आत्महत्या गर्ने सबैभन्दा धेरै किशोर–किशोरी रहेका छन् । तीमध्ये १५ वर्षकी युलिया कोन्स्टान्तिनोभा र १६ वर्षका भेरोनिका भोल्कोभाले मध्यरातमा आफ्नै घरको छतबाट हामफालेर आत्महत्या गरेका थिए ।

युलियाले आफ्नो फेसबुकमा ठूलो ह्वेलको फोटो राखेर ‘द इन्ड’ लेखेर आत्महत्या गरेकी थिइन् ।

रसियामा विशेषगरी यो गेम युवाभन्दा युवतीमाझ बढी लोकप्रिय रहेको छ । मनोविज्ञहरुले उनीहरुको मनोविज्ञानले अरुभन्दा साहसिक छु भन्ने देखाउन गेम खेल्ने गरेको र उक्त गेमले आफैंलाई घृणा गर्न सिकाउने भएकाले उनीहरु आत्महतया गर्नसम्म पछि नहटेको बताएका छन् ।

रसियाको अनुसन्धान कमिटीले आत्महत्याको कारण गेम नै हो भन्ने ठोस प्रमाण जुटाउन नसकेको र अनुसन्धान अझै जारी रहेको उल्लेख गरेको छ ।

गत वर्ष ज्यान लिने गेमकारुपमा पोकेमनलाई लिइएको थियो । पछि यस गेमलाई नै कतिपय देशहरुले बन्दसमेत गरेका थिए ।

अहिले यो गेमले रसियालगायत युरोपियन देशहरुमा हंगामा मच्चिएको छ ।