८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


तयार भयो उड्ने कार, सामान्य कारको लाइसेन्स भएकाले चलाउन नपाउने


0
Shares

सडकमा गुडाउन पनि मिल्ने र हावामा उडाउन पनि मिल्ने कार निर्माण भइसकेको छ । यो कार पोर्चुगलको एक कम्पनीले निर्माण गरेको हो ।

यो कार चाँडै बजारमा उपलब्ध हुने जनाइएको छ । हवाई र सडक यातायातका नियमलाई ध्यानमा राखेर यो कार निर्माण गरिएको बताइएको छ ।

निर्माण कम्पनीले यसको सफल परीक्षण भएको दाबी गरेको छ । कारमा विमानको जस्तै तीन चक्का छ । कारको माथिल्लो भागमा हेलिकोप्टरको झैं दुई ब्लेड भएको पंखा छ । सडकमा गुडाउँदा उक्त पंखा ‘फोल्ड’ गरेर राख्न मिल्छ ।

यो कारमा एक सय हर्स पावरको दुई इन्जिन छन् । यी इन्जिनको मद्दतमा यो कार हावामा एक सय ७७ किलोमिटर प्रतिघण्टा र सडकमा एक सय ६१ किलोमिटर प्रतिघण्टाको रफ्तारले गन्तव्यतर्फ लम्किन्छ ।

यो कारलाई सडक छाडेर हावामा पुग्न १० मिनेटको समय लाग्ने बताइएको छ ।

कारमा पाइलटसमेत दुई जनाले यात्रा गर्न सक्छन् ।

यो कार सामान्य कारको लाइसेन्स भएका चालकले भने चलाउन पाउने छैनन् । निर्माण कम्पनीका अनुसार यो कार चलाउन पाइलटको लाइसेन्स हुन अनिवार्य छ । त्यसैगरी कम्तीमा २५ घण्टाको उडान अनुभव पनि हुन जरुरी रहेको बताइएको छ ।

यो कारको प्रारम्भिक बजार मूल्य चार लाख डलर राखिएको छ । (एजेन्सी)