११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


हात्तीपाइले रोगः हात्तीकोभन्दा पनि ठूलो खुट्टा (फोटोफिचर)


0
Shares

थाइल्यान्डकी जुवान सुवनचट्रिजलाई मेडिकल भाषामा ‘लम्फेटिक फिलारीयसिस्’ भन्ने रोग लागेको छ । यसलाई सामान्य भाषामा ‘पानी जमेको कोष’ भएको हात्तीपाइले रोग भनिन्छ ।

दुई सन्तानकी आमा सुवनचट्रिज ४४ वर्षकी भइन् । उनको खुट्टा अहिले ‘चार खन्डमा रहेको ढुंगा’जस्तो छ । पैसाकै कारण उपचार गर्न नसकेकी उनलाई एक अन्जान परोपकारी घुमन्तेले उपचारका लागि सहयोग गरेपछि उनी दंग भएकी छन् ।

उनले यो रोग लाग्न सुरु भएपछि आफ्नो श्रीमान्ले छोडिदिएको बताइन् । उनले आफ्नो उपचारका लागि पैसाको बचत गर्न नदिएको र परिवारका अरु सदस्यलेसमेत सहयोग नगरेको गुनासो गरिन् ।

आफूले कमाउन नसकेको र श्रीमान्ले पनि छोडेपछि उनले आफ्नो बच्चाहरुले पढ्न नपाएको र रबर फार्ममा काम गरिरहेकोसमेत बताएकी छन् ।

सुवनचट्रिजको दयालाग्दो अवस्थाबारे भीन नाम गरेका एकजना परोपकारी घुमन्तेले थाहा पाएपछि उनलाई सहयोग गर्न पुगेका छन् । ती व्यक्ति थाइल्यान्डमा पैसा नभएर उपचारबाट बन्चितहरुको सहयोग र उद्धारमा खटिने गर्छन् । त्यसैका लागि उनी सधैं थाइल्यान्ड घुमिरहेका हुन्छन् ।

भीनले सुवनचट्रिजको डरलाग्दो खुट्टाको उपचारका लागि ५७० पाउन्ड अर्थात् करिब ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सुवनचट्रिजकाअनुसार सुरुमा उनको खुट्टामा सानो गाँठो परेकोजस्तो भएको र पछि एक्कासि खुट्टाको आकार बढ्दै गएको थियो ।

उनले भनिन्–‘म डाक्टरकोमा गएकी थिएँ, उनीहरुले लगाउने औषधि दिएका थिए । तर, त्यसले काम नै गरेन ।’

डक्टरको औषधिले काम नगरेपछि प्राकृतिक औषधिहरु पनि प्रयोग गरेकी थिइन् । तर, त्यसले पनि काम नगरेपछि उपचार गर्न मन नलागेको उनले बताइन् ।

अहिले उनको छोराहरुको कमाइमा उनी बाँचिरहेको र सुवनचट्रिजलाई उनकै वृद्धा आमाले हेरविचार गरिरहेकाले आफूले सकेको सहयोग गर्ने भीनले बताए ।

उनले भने–‘मैले गरेको सहयोगलेमात्रै केहि हुँदैन, त्यसैले मैले उनको लागि सामाजिक सञ्जालहरुमा सहयोग मागिरहेको छु ।’

रोग नियन्त्रण तथा रोकथाम केन्द्र बेलायतले ‘लम्फेटिक फिलारीयसिस्’ सूक्ष्म धागोजस्तो परजीवीको संक्रमणबाट लाग्ने रोग भएको र संसारभरिका १२ करोडभन्दा बढी मानिसहरु यो रोगबाट प्रभावित रहेको उल्लेख गरेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण भएमा वर्षौंसम्म पनि कुनै लक्षण नदेखिन सक्छ ।

यस रोग लागेमा संक्रमण परजीवीले शरीरको तरल पानी एकैठाँउमा सोसेर राख्ने गर्दछ ।

यसको पूर्ण रोकथामको कुनै उपचार नभएको तर, ‘कार्बामाजीन’ नामक औषधिले रगतमा भएको परजीवीलाई मार्ने र रोग फैलिनबाट रोक्न सकिने केन्द्रले उल्लेख गरेको छ । (एजेन्सी)