
-शंकर खनाल/ईमेज
स्वास्थ्य क्षेत्रमा देशकै प्रतिष्ठित यो अस्पतालले आफैमा प्रतिष्ठा गुमाउन लाग्दा सरकार स्वयं चिन्तित बनेको छ ।
राजधानी बाहिर नेपालको मध्य भागमा रहेको यो क्यान्सर अस्पताललाई सरकारले क्यान्सर उपचारको क्षेत्रमा केन्द्रीय स्तरको सेवा सुविधा दिदै आएको छ भने अन्तर्राष्ट्रिय स्तरमासमेत सरकारले आफ्नो गौरवको बिषय बनाउदै आएको छ ।
नेपालका ७५ जिल्लालगायत भारतबाटसमेत क्यान्सरबाट थलिएको बिरामी राहतको आशा बोकेर यो अस्पतालमा आउने गरेका छन् । तर, अस्पतालको आन्तरिक बिबादका कारण आफै थलिदा क्यान्सर पीडित बिरामी राहतको सट्टा झन आहत भएका छन् ।
अस्पतालमा चिकित्सकहरुले राजनीतिकरण र कमाउने थलोको रुपमा प्रयोग गर्न थालेपछि सरकारले स्वास्थ्य क्षेत्रमा राजनीतिकरण नगर्न चेताएको छ ।
राजनीतिका कारण लामो समयसम्म बोर्ड बैठक बस्न नसक्दा अस्पतालले आवश्यक उपकरणसम्म खरिद गर्न सकेको छैन ।
बिरामी र चितवनबासीले क्यान्सर अस्पतालमा बढ्दो बेथितिलाई रोक्न र अस्पताल बचाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरेपछि अनुगमनका लागि स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ अस्पताल पुगेका छन् ।
कसैलाई पत्तो नदिई गुरुङ सिधै बिरामीको पुग्दा अस्पतालमा बिरामी कक्षहरु चिकित्सकबिहिन थिए भने बिरामीले मन्त्री आएको थाहा पाएपछि बिलौना गरे ।
बिरामीको बिलौना सुनेपछि राज्यमन्त्री गुरुङले अस्पतालमा डाक्टरहरुको बैंठक बोलाएर अस्पतालमा भएको चरम राजनीति बन्द गर्न र कमी कमजोरी भए सुधार्न निर्देशन दिए ।
राज्यमन्त्री गुरुङले क्यान्सर अस्पताललाई आवश्यक पर्ने प्रविधियुक्त उपकरण खरिद गर्न र आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत बताए ।
क्यान्सर अस्पताललाई बिश्वकै नुमना अस्पताल बनाउन सबै मिलेर लाग्नु पर्नेमा उनको जोड थियो ।
उनले १५ दिन भित्र सबै समयस्या सामधान गरी अस्पताललाई आवश्यक पर्ने बजेटसहितको योजना पेश गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्