
ट्रम्प प्रशासनले दन्ड दिने बताएको तीन दिनपछि अमेरिकाले बिहानको समयमा सिरियाली हवाई अड्डामा ५९ ओटा अत्याधुनिक ‘टोमहक’ सबमारिन क्रुज मिसाइलले मार हानेर असद समर्थित सिरियाली सैनिकको हवाई अड्डा नै तहसनहस बनाइदियो ।
कस्तो छ ‘टोमहक सबमारिन क्रुज मिसाइल’ ?
शुक्रबार बिहान अमेरिकाले प्रयोग गरेको अत्याधुनिक ‘टोमहक सबमारिन क्रुज मिसाइल’ अहिलेसम्मकै महँगो रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यम डेलीमेल अनलाइनले उल्लेख गरेको छ ।
कति पर्छ ?
डेलीमेलको समाचारकाअनुसार उक्त एउटै मिसाइलको मूल्य लागत एक मिलियन अमेरिकी डलर अर्थात् करिब १० करोड २८ लाख नेपाली रुपैयाँ पर्छ ।
यसैलाई आधार बनाउने हो भने शुक्रबार बिहान गरेको हमलामा ५९ ओटा मिसाइल प्रयोग गरिएको थियो । जसको कुल मूल्य ५९ मिलियन डलर अर्थात् करिब ६ अर्ब ६१ करोड ९० लाख रुपैयाँ हुन्छ ।
यति धेरै महँगो पर्ने मिसाइल कस्तो छ त ?
डेलीमेलकाअनुसार उक्त एउटा मिसाइलको कुल तौल १४५० केजी रहेको र यसले ९५० केजीको न्यूक्लियर तथा अन्य विस्फोटक पदार्थ बोक्नसक्छ ।
८८० किमि प्रतिघन्टाको गति भएको उक्त मिसाइल ११०० किलोमिटरसम्मको दुरीमा सजिलै मार हान्न सकिन्छ । यसको लम्बाई ६.३ मिटर र गोलाइ ५१ सेन्टिमिटर रहेको छ । त्यस्तै, त्यसको पखेंटा ‘फोल्ड’ गर्न सकिने २.७ मिटरको छ ।
उक्त मिसाइलमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’मा आधारित कम्प्यूटराइज्ड प्रविधिले नियन्त्रण गर्न सकिने र सबै कुरा स्क्यान गर्न सम्भव भएको ‘इन्फ्रारेड’ प्रविधिमा आधारित क्यामरा जडान गरिएको छ ।
टर्बो जेट इन्जिन जडान गरिएको उक्त मिसाइलमा रकेटमा प्रयोग गरिने ‘सोलिड फ्युल बुस्टर’को प्रयोग गरिएको छ, जसले उच्चगतिमा मार हान्नसक्छ ।
समुद्रमा रहेको सैनिकले पानीजहाजमा बसेर सजिलै लक्षित क्षेत्रमा मार हान्न सकिने यस अत्याधुनिक टोमहक सबमारिन क्रुज मिसाइल अहिलेसम्मकै महँगो मानिन्छ ।
तेस्रो विश्वयुद्धको सुरुआत भएको टिप्पणी
सिरियाली हवाई अड्डामा अत्याधुनिक टोमहक सबमारिन क्रुज मिसाइल आक्रमण गरेपछि रुस र अमेरिकाको सम्बन्ध एकाएक शीतयुद्धमा परिणत भएको छ ।
रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले अमेरिकाले एक स्वतन्त्र राज्यलाई आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएका छन् ।
यता, ह्वाइट हाउसबाट ट्रम्प प्रशासनले मिसाइल आक्रमणको दन्ड अझै कम भएको बताउँदै फेरि ‘सरप्राइज’ आक्रमण गर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्–‘मानवताविरुद्ध रासायनिक हतियारको प्रयोग फेरि गरे आफूहरु चुप लागेर नबस्ने र हवाई र स्थलबाटै आक्रमण गर्न तयार रहेका छौं ।’
ट्रम्पको आक्रामक टिप्पणी आउनेबित्तिकै रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनले सिरियाको सबै सामुद्रिक बन्दरगाहको कुनैपनि हालतमा रक्षा गर्न र आइपर्ने समस्यासँग जुध्न ‘एडमाइरेल’ ग्रिगरोविचलाई आदेश दिएका छन् ।
अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले एकाएक ट्रम्प प्रशासन आक्रामक हुँदा रुस र अमेरिकाबीच सिरियाको विषयलाई लिएर तेस्रो विश्वयुद्धको खतरा बढेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्