८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक, यस्ता छन् विशेषता, मूल्य कति ?


0
Shares

संसारकै शक्तिशाली १० एनएम मोबाइल चिपसेट जडान गरिएको एन्ड्रोइड ७ भर्सनको अत्याधुनिक सुविधासहित नयाँ मोबाइल बुधबार (हिजो) कम्पनीका उपाध्यक्ष रोर्रे ओनिलले सार्वजनिक गरेका हुन् ।

उनले नयाँ मोडलको फोन बनाउन करिब ३११ अर्ब रुपैयाँ (३ अर्ब अमेरिकी डलर) खर्च गरेको उल्लेख गरेका छन् ।

यस्ता छन् विशेषता
धेरै समयको उत्सुकतापछि कम्पनीले ‘आइफोन ७’कै आकारको डिस्प्लेमा आँखा, अनुहार र औंलाले ‘अनलक’ गर्न सकिने अत्याधुनिक विशेषतासहित परिमार्जित गरी नयाँ मोडल सार्वजनिक गरेकोे हो ।

कम्पनीकाअनुसार दुबै फोनमा एउटै विशेषतासहित एस ८ मा ५.८ इन्च र एस ८ प्लसमा केहि ठूलो ६.२ इन्चको क्यार्ड एचडी प्लस २९०० ८१४४० पी, ५७० पीपीआइ डिस्प्ले राखिएको छ ।

दुबै फोनमा प्रयोकर्ताको आँखाबाट फोन खुल्न सकिने र व्यक्तिगत बटमसहितको विशेषता रहेको छ ।

यी दुबै फोनको डिस्प्ले घुमाउरो धार भएकोले चारैपट्टीबाट आँखाको सहायताले अनलक गर्न सकिनेछ । कम्पनी यसलाई जताबाट पनि प्रयोग गर्न सकिने डिस्प्ले भनेको छ । यस डिस्प्लेले उच्च गुणस्तरको भिडियोसमेत सपोर्ट गर्नेछ ।

यी दुबै फोनलाई ३० मिनेटसम्म १.५ मिटर अर्थात् पाँच फिट गहिराइमा पानीमा राख्दा पनि असर नगर्ने कम्पनिको दाबी छ ।

डिस्प्लेमा सजिलै फिंगर स्क्यान गरी फोन लक–अनलक गर्न सकिने र फोनले प्रयोगकर्ताको अनुहारसमेत पहिचान गर्नसक्ने भएकोले सुरक्षित र गोप्यतासमेत कायम हुने कम्पनीको भनाइ छ ।

यदि प्रयोगकर्ताले आफ्नो व्यक्तिगत होम बटम हराए उनीहरुले डिस्प्लेको भित्र छुट्टै जडान गरिएको होम बटम सक्रिय गरेर प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै, प्रत्येक व्यक्तिको आँखालाई फोनले पढ्नसक्ने भएकोले आँखाको रेटिना स्क्यान गरेर पनि आधिकारिकता पहिचान गर्नसक्ने अत्याधुनिक विशेषता रहेको छ ।

यदि दुईओटा फोनको एउटै अनलक प्याट्रन छ तर आँखा स्क्यान गर्दा मेल खाएन भने फोन नखुल्ने कम्पनीले उल्लेख गरेको हो ।

दुबै फोनको अगाडिको क्यामेरा १२ मेगापिक्सल र पछाडि ८ मेगापिक्सलको रहेको छ ।

फोनले प्रत्येकपटकमा तीनओटा फोटो खिच्नेछ । त्यसमध्ये मुख्य फोटोमा नमिलेको ठाउँ (सफा नआएको ठाउँ)मा बाँकी दुईओटा फोटोको सहायताबाट एउटा राम्रो फोटो तयार गरेर ग्यालरीमा पठाउने विशेषतासमेत यसमा राखिएको छ ।

दुबै फोनमा ४ जीबी र्‍याम र आन्तरिक मेमोरी ६४ जीबी रहेको छ भने दुबै फोनले २५६ जीबी बाह्य मेमोरीकार्ड सपोर्ट गर्दछ ।

एस ८ मा ब्याट्रीको क्षमता ३००० एमएएच रहेको छ भने एस ८ प्लसमा ३५०० एमएएच रहेको छ, जुन निरन्तर १२ घन्टासम्म चलाउन सकिन्छ ।

यस फोनलाई कम्प्युटरसँग जोडेर किबोर्ड, माउस र वेबक्यामको सट्टा प्रयोग गर्न सकिने विशेषता रहेकोे कम्पनीले उल्लेख गरेको छ ।

दुबै फोनमा एक्र्सनस अक्टा कोर २.३ प्लस १.७ गिगाहर्ज क्वार्ड १० एनएम एसओसी प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीकाअनुसार दुबै फोनको तौल १५५ ग्राम रहेको छ ।

कम्पनिले बिहीबार (आज)देखि प्रीअर्डर सुरु गरेर आगामी अप्रिलसम्म बजारमा पठाउने उल्लेख गरेको छ ।

विभिन्न रङहरु कालो, खैरो, सेतो, सिल्भरमा उपलब्ध हुने फोनको अन्तर्राष्ट्रिय बजार मूल्य एस ८ को करिब ७७ हजार ८ सय ९८ रुपैयाँ (७५० अमेरिकी डलर) र एस ८ प्लसको करिब ८८ हजार २ सय ८४ रुपैयाँ (८५० अमेरिकी डलर) राखिएको छ ।