
फाइल फोटो
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराउन आएका हुन् । कुर्मी जस्तै समस्या लिएर आएका ६५ वर्षीय रामअश्र दासले सरकारले निःशुल्क गरेको शल्यक्रियाले आफूजस्तै आर्थिक अभाव भएकाहरुले नयाँ जीवन पाएको भन्दै खुसी व्यक्त गरे । कुर्मी विगत १८ वर्षदेखि हाइड्रोसिलको समस्याबाट पीडित थिए ।
‘हाइड्रोसिल भएको पहिले नै थाहा थियो, तर पैसा नजुट्दा शल्यक्रिया गराउन सकेको थिइन,’ दासले पीडा सुनाए ।
गौरमा गत चैत ८ गतेबाट सञ्चालित स्वास्थ्य शिविरमा निःशुल्क शल्यक्रिया गराएका पुरुष बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी हाइड्रोसिलका बिरामी छन् । त्यसपछि हर्निया, पत्थरी लगायतका बिरामी रहेका छन् । सलार्हीबाट उपचारकालागि आएका ७० वर्षीय रौय मन्सुरीलाई हनिर्याको समस्याका साथै जोर्नी सुन्निने र खुट्टा सुक्दै जाने समस्या छ । तर उनले पटकपटक चिकित्सकलाई देखाएर औषधि खाए पनि निको भएन । नेपाली सेनाले उपचार गरिरहेको थाहा पाएर आएको उनले बताए ।
उनले भने, ‘हनिर्या भएको त निकै लामो समय भयो । डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेका थिए पहिले नै । तर पैसा धेरै लाग्ने रहेछ । मजदुरी गरेर खाने मान्छेले कसरी पैसा जुटाउने ?’
वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौंमा कार्यरत प्रमुख सेनानी सर्जन डा ज्योति रायमाझी रानाले समस्या भएका धेरै बिरामीको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु रोग पालेर बसेको बताइन् । उनले भनिन्, ‘यहाँ बच्चाको स्वास्थ्य स्थिति पनि निकै दयनीय रहेछ । एक वर्षको बच्चामा हर्नियाभित्र झोला हुन्छ, त्यसमा आन्द्रा पसेर अड्किएको पनि पाइयो । तीन वर्षका बच्चाको पिसाव थैलीमा पाँच सेमी लम्बाइ र दुई सेमी चौडाइ भएको ढुङ्गा भेटियो । यस्तो समस्या छ महिनाको बच्चामा समेत देखियो । अन्य धेरै बच्चमा यस्तो समस्या छ त्यसका लागि सरकारले भरपर्दो कार्यक्रम ल्याउन आवश्यक छ ।’
सुविधा सम्पन्न भवन भए पनि जिल्ला अस्पताल गौरमा आवश्यक चिकित्सक नहुँदा बिरामी उपचारबाट वञ्चित हुँदैआएका छन् । नेपाली सेनाका तर्फबाट शिविरको संयोजकत्व गरिरहेका एनेस्थेसिया (निश्चेतना विशेषज्ञ) डा.उदय बज्राचार्यले सरकारले स्वास्थ्यमा ठूलो लगानी गरेको भए पनि रौतहट शिविरमा आएका बिरामी हेर्दा जनता अझै सामान्य रोगको उपचार गर्न नसक्दा अन्य जटिल रोगको सिकार भएका बताए ।
‘यही शिविरमा सबैको शल्यक्रिया गर्न सम्भव छैन, बिरामीको सङ्ख्या पत्ता लगाएर सरकारले शल्यक्रिया गर्दै जानुपर्छ,’ डा बज्राचार्यले भने । वीर अस्पतालबाट खटिई स्वास्थ्य शिविरमा हाइड्रोसिलका बिरामीको शल्यक्रिया गरिरहेका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा.प्रमोदकुमार यादवले तराईका पुरुषमा हाइड्रोसिलको समस्या अत्यधिक देखिएको बताइ ।
उनले भने, ‘यस शिविरमा १८÷२० वर्षदेखि पुरुषले दुई, तीन किलोसम्म हाइड्रोसिलको समस्या देखिएको छ । साना बच्चामा पनि ठूलो मान्छेको जस्तो हाइड्रोसिलको समस्या देखिएको छ ।’ आएका बिरामी अधिकांश दैनिक मजदुरी गर्नेछन् । गह्राँै काम गर्ने र साइकलमा धेरै सामान बोक्दा अण्डकोषमा ठोक्किन गई चोट लाग्छ तर उनीहरुले त्यो दुखाइको वास्ता गर्दैनन् । दैनिक यस्तो काम गर्नुपर्ने कारण समस्या भएको उनीहरुलाई थाहा नै हुँदैन । त्यसकारण हाइड्रोसिल र हर्नियाको समस्या धेरै देखिएको हो’ – उनले भने, ‘एउटा हाइड्रोसिलको शल्यक्रिया गर्न कम्तीमा रु ५० हजार खर्च लाग्छ, यस शिविरमा ५० भन्दा धेरैको हाइड्रोसिलको शल्यक्रिया भइसकेको छ ।’ शिविर सोमबारसम्म चल्लेछ ।
प्रतिक्रिया दिनुहोस्