११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हात्तीपाइले रोगविरुद्धको औषधि ८० प्रतिशतबाट सेवन


0
Shares

      फाइल फोटो

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड आठ लाखलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखेको छ ।

यही चैत ५, ६ र ७ गते पहिलो चरणमा औषधि खुवाउने कार्यक्रममा छुटेका २० प्रतिशतमध्ये दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारेरोगी, एक हप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले हात्तीपाइलेको औषधि सेवन नगरेको र १० प्रतिशत भने औषधि खानबाट छुटेको महाशाखाले जनाएको छ ।

अभियानअन्तर्गत पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुर र दार्चुलामा औषधि सेवन अभियान सञ्चालन भएको थियो ।

आगामी १७, १८ र १९ गते दोस्रो चरण सञ्चालन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा अभियान सञ्चालन हुनेछ । औषधि आएमा असर गर्ने भन्ने भम्र भएकाले सरकारले उच्चस्तरको औषधि खुवाउन लागेकाले ढुक्क भएर औषधि खाई हात्तीपाइले हुनबाट बच्न महाशाखाका निर्देशक डा भीम आर्चायले अनुरोध गरे ।

महाशाखाको हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय संयोजक तुलसी अधिकारीले अभियान सञ्चालन हुने जिल्लाका जनतालाई औषधि सेवन गर्न आग्रह गरेका छन् ।

नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम छ । तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेको महाशाखाले जनाएको छ ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरियां) भएको हुनसक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निने र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।

नेपालमा हात्तीपाइले रोग ‘उचेरेचिया काँक्राफ्टि’  परजीवीको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगको सङ्क्रमण नेपालका ६१ जिल्लामा देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ । रासस