८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


केपी कमरेड ! प्रगतिशील आवरणमा होइन वरणमा बन्नुस


0
Shares

-संजिव कार्की

अघिल्लो या विगत पुस्ताको चेतनाको स्तर अनि समाजमा हुने बिभिन्न आन्दोलन, क्रान्ति अनि परिवर्तनले समाजमा चलिआएका मान्यता र धारणा अनि जातीय उचनीच जस्ता कुरामा महिला अनि तिनको सम्बेदनशील बिषय बस्तुलाई लिएर बनेका विचार र भनाइहरू , उखान टुक्काहरू,लोकुउक्तिहरु,समय संग संगै परिवर्तन,सुधार र सचेतना विकास भएको हुन्छ, हुनुपर्छ । समाज विकासको यो अनिवार्य शर्त हो । कति परिवर्तनलाई आत्मसाथ गरेर परिस्कृत रुपमा बोल्छन , भन्छन र धारणा बनाउछन भने कति रुढ मानशिकताको शिकार भएर विगतमा जसरि बोलिन्थ्यो भनिन्थ्यो र लेखिन्थ्यो त्यसैगरी आज पनि बोल्छन,प्रयोग गर्छन । भाषा तुरुन्त अनुकरण गरिने र प्रभाव पार्ने माध्यम भएकोले यसको प्रयोगमा सचेतना र जागरुक सतर्कता चाहिन्छ । सामान्य मान्छेको समेत बोलीको भाषा सन्तुलन र समन्वय जरुरि हुन्छ भने अरु समाजका गन्यमान्य लब्धप्रतिष्ठित अनि राजनीतिज्ञहरुको बोलीको गहनता र ओज झन् बढि सामयिक हुनुपर्छ ।

चेतनाको लहरले गर्दा कसैले पनि आफुलाई होच्याएको आफ्नो समुदाय जात, क्षेत्र, वर्गलाई र भूगोललाई हेपेको अनि त्यस्तै शब्द र शब्दावली प्रयोग गरेको मन पराउन्नन । थोरै पनि अपहेलना र तुच्छबाणी स्विकारिन्न्न समाजमा । समाजमा अझै पनि बिभिन्न जातजाति धर्म सम्प्रदाय महिला अनि शारीरिकरुपमा दुर्वल र कमजोर भएकाहरुलाई लिएर बिभिन्न भनाइहरु, उक्तिहरु बनेका छन्, चलनचल्तीमा आएका छन्, जसको प्रयोगले समाजमा लघुताभासबाट ग्रसित हुनुपर्ने व्यक्ति र समुदाय पनि छ । कोहि लान्छित हुनेगरी बनेका प्रयोगमा आएका भनाइलाई आजको चेतनाको स्तरले पचाउन सक्दैन र हुदैन पनि । हिजोको चेतनालाई लिएर अब र आज बिष बमन गर्नुको औचित्य छैन तर अबको बौद्दिक जागरुक र समाज प्रति प्रतिबद्द वर्ग र हिस्साले समाज भडकिने ,समाजमा द्वन्द पैदा गराउने अराजक र अपमानित हुने गर्ने भाषाशैली र बोलीबचन तुरुन्त बन्द गर्नुपर्छ ।

फलामले बनेको नभएपनि जिव्रोले मुटु छेड्ने, कलेजी छियाछिया पार्ने र हृदय क्षतबिक्षत पार्ने नकारात्मक प्रभाव र सामर्थ्य बोकेको हुन्छ । जिव्रो गोलि भन्दा कडा र कोमल नौनी भन्दा नरम दुवै हुनसक्छ । अधिकांश जिब्रो फलामे नै देखिन्छ, सुनिन्छ । बोलीको सकारात्मक प्रभाव अति न्यून र नकारात्मक परिणाम छिटो र धेरै हुन्छ । मिठो,मसिनो,स्वादिलो खान र स्पर्श गर्न मन पराउने हरकोहिको जिब्रो कडा र रुखो बोल्न किन संधै अग्रभागमा हुन्छ । यहाँ बोलीको तात्पर्य केवल बोलि ,केवल मौखिक ध्वोनी मात्र हैन लेखेर इशारा गरेर व्यक्त अव्यक्त मान्छे चिढ्याउने सवै भाव र भंगी अनि शैली भनेर बुझ्नुपर्छ ।

भाषा,साहित्य,लोक संस्कृति, लोक उक्ति लोक, विचार राष्ट्रिय साझा सम्पति हो । भाषा शिष्ट, शालीन र सुसंस्कृत हुनुपर्छ विभाषाको प्रसार क्षेत्र व्यापक बिशाल र विस्तृत हुने हुनाले बक्ताको, लेखकको भाषा सामयिक चेत र सामयिक ज्ञानले भरिपूर्ण र सामाजिक मनोविज्ञानयुक्त हुनुपर्छ । आफूलाई विद्द्वत र बढी जान्नेसुन्ने कहलाउन केहि बुद्दिजीवी र राजनीतिक प्राणीहरु अत्यन्त दुर्बोध्य क्लिस्ट र भ्रामक भाषाको प्रयोग गरेर विचार व्यक्त गर्छन जो अति निम्नस्तरको सोच र घटियापन हो । भाषा, बोलि बुझाउनको लागि,सम्झाउनको लागि हो । कुनैपनि कुरा प्रस्ट पार्नको लागि हो, असल काम र कुराको सम्प्रेषण गर्नको लागि हो । अड्काउने, भड्काउने र टपकाउने भाषा चाहिन्न र मन पर्दैन कसैलाई । भाषा गहन खदिलो र सुस्वादिलो हुनुपर्छ । खोट राखेर बोल्ने र चोट दिएर बोल्नेहरु केवल बोलुन्जेलका लागि मात्र हुन् । बोलि रुचाउने, बचाउने र फकाउने हुनुपर्छ बिझाउने, घोंच्ने र चिथोर्ने त बनको काँढा छदै छ नि ।

नेपाली राजनीतिज्ञ र तिनको भाषा शैली अरुको भन्दा फरक दूरदर्शी समाज बोध्य चेतना र हार्दिकताको लेपनले झंकृत र मनोविनोदी हुनुपर्ने हो तर केहि राजनीतिकर्मी र तिनको भाषाशैली अत्यन्त तल्लोस्तरको नीच र पतित देखिन्छ । आफ्ना नेताले कपाल कन्याएर बोले भनेपनि , कपाल मुसार्दै बोलेपनि, आँखा झिम्क्याउदै बोलेपनि, कुम नचाएर बोलेपनि त्यसको हुबहु अनुशरण गर्ने र बोल्ने उस्तै सिको गर्ने कार्यकर्ताको जमात र पंक्ति ठुलो छ सबै पार्टीहरुमा । तसर्थ नेता र तिनले बोल्ने भाषा संस्कारित सुसभ्य र सुललित हुनुपर्छ । समाजलाई भड्काउने आवेग उत्तेजना र उत्पात भन्दा सामाजिक एकता सद्भाव सहयोगी र समन्वयकारी देखिनु पर्छ । हरेक बक्ताले समाजलाई तोड्ने हैन जोड्ने भाषाशैली र इशारा अनि ब्यबहार गर्नुपर्छ । समाज तरंगित हुने आतंकित हुने अनि अराजक हुने भाषा शैलीको सट्टा सहृदयी सरल,सहज बोधगम्य र प्रवाहपूर्ण हुनुपर्छ ।

हालसालै एक प्रगतिशील समाज र मानव सभ्यताको कल्पना गर्ने कम्युनिस्ट नेता जो पुर्व प्रधानमन्त्री समेत हुनुहुन्छ जसले अर्का कम्युनिस्ट नेता देशका प्रधानमन्त्री र सगोत्री बन्धुलाई अलच्छिन, अफापी र यिनलाई देखे साइत नै बिग्रन्छ जस्ता निम्नकोटिका शब्द भेला पारेर , क्षुब्द र आक्रोशित भएर कटु आलोचना र निन्दा शब्द बाण प्रहार गर्नुभयो जो आजको समाज अझ कम्युनिस्ट नेता र कार्यकर्ताको लागि लाजमर्दो र घिनलाग्दो कुरा हो पूर्वप्रधानमन्त्री के पी ओली , देशको दोश्रो ठुलोदल नेकपा एमालेको अध्यक्ष अव हुने चुनावमा पहिलो दल बन्ने पार्टीको सम्मानित नेता । जसले जे भने पनि राष्ट्रियता र स्वाभिमानमा तपाईले लिनु भएको अडान र हाँक अरु औसत नेताको भन्दा बढि हो । ढिलै भए पनि भारतसंग केहि समय पौठे जोरी यहाँले खेल्नु भएको तथ्य इतिहासमा सम्मानका साथ् दर्ज भएको विषय हो ।

यस्तो ख्याती र प्रख्याति पाएको मान्छे किन वैचारिक स्खलनमा पर्नु भयो ? तपाईको भाषा र बोली निश्चय पनि युग सुहाउदो भएन र होइन । एउटा कम्युनिस्ट पार्टीको नेताले सुदुरग्रामको सामान्य मान्छे जस्तै, अशिक्षित र अज्ञानी मान्छेले झैँ रुढीवादी धारणा राख्नु पक्कै पनि खेदजनक छ कति नेता कार्यकर्ताको शिर यो घटनाले झुकेको हुनुपर्छ । आफुलाई कम्युनिस्ट पार्टीको नेता कार्यकर्ता भन्न हीनताबोध भएको हुनुपर्छ । रुढीवादी समाज र रुढीवादी मानशिकता बोकेर गाउँघर सहर बजारमा जुन र जे जस्ता अमानवीय घटना घट्छन कति मान्छेहरु, महिलाहरु जातको नाममा, अलच्छिन र बोक्सीको नाममा कुटिन्छन , अपमानित हुन्छन कतिपय ठाउमा मारिन्छन पनि त्यस्तै शब्द र भाव व्यक्त गरेर के पी ओलीले आफ्नो मानशिक , बौद्दिक र चारित्रिक दरिद्रता प्रस्तुत गर्नु भयो । आफ्नो ज्ञानको औकात देखाउनु भयो जो हाम्रो सभ्य समाजको लागि अनि देशकै लागि सरमलाग्ने बिषय हो । एउटा कम्युनिस्ट नेताको बोलि जहाँ कम्युनिस्ट बाहुल्य समाज र मनोविज्ञान छ तर समाज भने पुरातनवादी दुस्चक्रको फन्दामा सधै । एउटा गरिव गाउले यस्तै रुढीग्रस्त मान्यता बोक्दा सजायको भागिदार बन्छ कानुनले उसलाई समात्छ तर एउटा कम्युनिस्ट नेता सो सरहको दुर्वाच्य बोल्दा र भन्दा पनि सार्वजनिकरुपमा क्षमा समेत माग्दैनन । कानुनले उसलाई छुने त कुरै भएन । नेताहरुको अघि कानुन,कानुन पालनकर्ता र नियामक संस्था स्वयं निरिह र ठिट लाग्दो छन् हाम्रो देशमा ।

केपी ओली आफ्ना बिरोधीहरुलाई पेलेर भित्तामा मात्र हैन धकेलेर भिरमुनी नै खसालिदिने लडाई दिने र पल्टाई दिने क्षमता राख्न खप्पिस नेता हुन् । आजको युगमा बोलि वचनबाट पनि हिंसा हुन्छ जो सभ्य मान्छेले गर्नु हुदैन । देशमा प्रजातन्त्रको लागि पचासौ बर्ष लडेको अनि १४ औ बर्ष जेलमा कस्टकर जीवन र जवानी समर्पण गरेर कम्युनिस्ट निष्ठा र धर्मको लडाई लडेको मान्छेको यति असभ्य र अगतिशील विचार किन ? हो सबलाई थाहा छ पुष्पकमल प्रसंसा र सास्ती गाउने कर्म गर्ने मान्छे पटक्कै होइनन उनका कमि र कमजोरीलाई आलोचना गर्ने थुप्रै शब्द र पदावलीहरू नेपाली शब्दकोशमा नभएको पनि होइन ? किन यति धेरै कुण्ठा पालेर प्रचण्डसंग भाले जुधाई ? राजनीतिक कुण्ठा प्रतिशोध र बदला त राजनीतिक भाषा ब्यबहार र शैलीले दिनु पर्ने होइन र ? अपठित र अर्धचेत नागरिक को भाषाले गाली र निन्दा किन ? के मान्छे आफैमा लच्छिन र अलच्छिन हुन्छ भन्ने कम्युनिस्ट मान्यता र विचारधारा र विचार हो ? यस्तो पुरातन विचार बोकेर कस्तो पार्टी समाज र देश बनाउने यहाँको सपना हो ? पार्टीले बोक्ने नैतिक मुल्य र मान्यता समाजको कुसंस्कृति विभेद र वैचारिक विचलन र अवसान हो ? केपी ओली जस्ता उखान टुक्काका धनि र तीव्र व्यंग चेत भएका मान्छेलाई यो सम्झाई रहनु पर्ने बिषय होइन । तर उंहाले किन यस्तो भाषा प्रयोग गर्नु भयो ? अरु पुरातनवादी शक्ति र संस्था अनि त्यसका प्रतिनिधिले यस्तो रुढीग्रस्त शब्द बोलेको भए सामान्यतया तिनको मान्यता चरित्र र परम्परा भनेर बुझ्न सकिन्थ्यो । तर समाजलाई पुरानो चेतना र मान्यताबाट निकाल्ने नयाँ प्रगतिशील समाज र देश बनाउने कम्युनिस्ट पार्टी र नेताको वैचारिक विचलन आलोचना र गुनासोको विषय बन्यो बन्छ ।

बोलीले विचलित मन फर्काउन सक्छ तोडिएको सम्बन्ध जोड्न मजबूत बनाउन र मनको नजिक बनाउन सक्छ केपी ओलीले सार्वजनिकरुपमा व्यक्त त्यो दुर्वाच्य प्रति माफि मागेर आफ्नो जिब्रो अनि आफ्नो गरिमाको ख्याल राख्नु बान्छनीय हुन्छ । गलत शब्दको प्रहार चयन र प्रयोगले अन्ततः बक्ताको आफ्नै ओज प्रतिष्ठा र इज्जतमा धक्का लाग्छ । तपाई देशको प्रधानमन्त्री भैसकेको व्यक्ति अझै प्रधानमन्त्री बन्ने अति नजिकको सम्भावना भएको व्यक्ति तपाईबाट तपाईको पार्टीका नेता कार्यकर्ताले के सिक्ने ? समग्र देशलाई नै सिकाउनु पर्ने, बाटो देखाउनु पर्ने मान्छे, यस्तो बेढंगी बक्ता कसरी बन्नुभयो ? चोट दिन त सजिलो हुन्छ तर चोटमा मलमपट्टी लगाउन गार्हो किन ? आफनो पार्टीका दिबंगत नेता मदन भण्डारी बाट तपाईले के सिक्नु भयो ? नेपालको राजनीतिमा मदन भण्डारीको भाषण नै त्यस्तो भाषण बन्यो जसले बिरोधि र फरक विचारधारा र फरक समयको प्रतिनिधित्व समेतलाई आकर्षित नगरिरहन सक्तैनथ्यो ।

सिंह झैँ गर्जने मदन भण्डारीको भाषणमा जो कोहीलाई तान्ने क्षमता थियो । राजालाई श्रीपेच फुकालेर मैदानमा आउन चुनौती दिने भण्डारी राजनीतिक भाषा र सुसंस्कृत शब्दावली प्रयोग गरेर आफ्नो तीक्ष्ण बौद्दिक खुवीले आक्रमण गर्थे , घायल बनाउथे, धुलोपिठो पार्थे, सभ्य थिए सभ्य र शालिन बन्थे । हुनसक्छ मदनको बौद्दिकता नभए पनि शालीनता वर्तमान रास्ट्रपतिले आफ्नो बिरासतको रुपमा भित्र्याएकी छन । अझ मदनको बौद्दिकता पनि ग्रहण गरेको भए झन् भब्यता थपिने थियो सम्माननीय रास्ट्रपति बिद्या भण्डारीको व्यक्तित्वमा बोलीले नै भत्भती पोल्ने , दुखाउने घोच्ने गर्न सक्छ यहि बोली संयम र मृदु भयो भने कति शितल र मनोहारी हुनसक्छ बोलीले गोली हैन फूल बर्सनुपर्छ बोलीमा सभ्यताको बासना सुभाषित हुनुपर्छ हृदयको न्यानो स्पर्श र ममता अनि हार्दिकताको मार्ग फराकिलो बन्नुपर्छ ।

व्यक्तिको नकावधारी खुवी बौद्दिकता र बाहिरि लिपपोत र टालटुल त्यतिबेला सम्म रहन्छ जतिबेला सम्म ऊ आफ्नो रुखो घटिया र निकम्मा बोलीमा नियन्त्रण राख्छ जब ऊ नियन्त्रण बाहिर जान थाल्छ तब निक्रिस्ट र नीच बोलि हावभाव र शैलीले उसको कथित बौद्दिकता वाकपटुता र चातुर्यताको इन्जार खुस्किसक्छ । समाजलाई छिटै प्रभाव, र असर पार्ने बोलि ब्यबहार र समयको बदलिदो मान्यता र विश्वपरिस्थिति अनुसार हुनुपर्छ । हाम्रो देशका नेताहरु , बिद्द्वान, लेखक, वुद्दिजिवीहरु पत्रकार जो समाजमा परिचित छन् ज जसले बिभिन्न माध्यमबाट विचार प्रवाह गर्छन तिनीहरु भाषिक रुपमा सचेत संवेदनशील र संबैधानिक हुनु पर्छ । समाजमा छिटोभन्दा छिटो र समाजको तल्लो निकाय र भाग सम्म सजिलै र सहज पहुच पुग्ने राजनीतिक पार्टी र नेताहरु विशेष चनाखो र साबधान हुनुपर्छ । ताकि भोलिको पुस्तालाई सुसभ्य , सुसंस्कृति र सम्वृद्द भाषा बोलिब्यबहार, आचरण र अनुशासन दिन सकियोस । असल संस्कृति हस्तान्तरण गर्न सकियोस । परिस्कृत र परिमार्जन भएको आधुनिक र वैभवशाली,सजिव र सारगर्भित, सामाजिक र नितिचेतनामुलक ,ज्ञानवर्दक, लोकविश्वासमा आधारित भाषा शैली र ब्यबहार आउँदो पुस्ताको लागि सुम्पन सकौं । सार्थक पारौं यो भनाइलाई ‘जिब्रोको गरिमा मीठो बोलीमा ।’