११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालका सहरी युवा मुटुरोगको उच्च जोखिममा, यस्तो छ चिकित्सकको सुझाव


0
Shares

अधिकांश २० देखि ४० वर्ष उमेरका युवाहरुमा मुटुको समस्या बढ्दै गएकाले समयमै सचेत भइ सावधानी अपनाउन मुटुरोग विशेषज्ञहरुले सुझाव दिएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति अनिल २० देखि ४० वर्ष उमेरका युवाहरुमा उच्च रक्तचाप, कोलेस्ट्रोल तथा प्रि–डायबिटिज (मधुमेहभन्दा अगाडिको अवस्था)लगायतका केहि न केहि समस्याहरु बढिरहेकाले मुटुसम्बन्धी रोगहरुको उच्च जोखिम रहेको बताउँछन् ।

उनकाअनुसार मुटुको समस्या लिएर अस्पताल आउनेमध्ये दैनिक दुईदेखि तीनजना ३० वर्षमुनिका छन् । उनले भने–‘यो अवस्था चिन्ताको विषय हो ।’

यसमा सबैभन्दा धेरै समस्या उच्च रक्तचाप, कोलेस्ट्रोल तथा प्रिडायबिटिजको रहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ९९.६ प्रतिशत नेपाली नसा तथा मुटुसम्बन्धी रोगको जोखिममा रहेको तथ्यांक सार्वजनिक गरिसकेको छ ।

परिषद्ले यसको कारण आमनेपालीले सुर्तीजन्य पदार्थको सेवन, मद्यपान तथा धूमपानको सेवन भएको उल्लेख गरेको छ ।

त्यस्तै, अर्को कारण शारिरीक कसरत नगर्ने र ताजा फलफूल तथा हरियो सागपातको दैनिक सेवनमा कमी उल्लेख गरेको छ ।

डा. अनिलले अहिले मुटुसम्बन्धी रोगको उच्च जोखिममा युवाहरु पर्नुका कारण अव्यवस्थित जीवनशैली, शारीरिक अभ्यासमा अल्छीपना, अत्याधिक धूमपान तथा मद्यपानको सेवन, नियमित स्वास्थ्य परीक्षणमा हेलचेक्र्याइँ र नियमित औषधि सेवन नगर्नु नै मुख्य कारण रहेको बताए ।

उनकाअनुसार माथिका यी पाँच कुरालाई ध्यान दिए मुटुरोगको जोखिमबाट बच्न सकिन्छ ।

काठमाडौंको निजामती अस्पतालका मुटुरोग विशेषज्ञ डा. कमल लम्सालकाअनुसार मुटुरोग नसर्ने रोगकोरुपमा विश्वभर चुनौतीकोरुपमा देखा परिरहेको छ । उनले यो रोगको उच्च जोखिममा युवाहरु नै बढी रहेको बताए ।

उनले भने–‘४० वर्ष कटेपछि मानिसहरु मुटुमा कुनै समस्या नभएपनि बुढेसकाल लाग्यो, केहि भएको छ कि भनेर नियमित मुटुको परीक्षण गराउँन अस्पताल आउँछन् । तर, युवाहरु आफ्नो स्वास्थ्यप्रति त्यति धेरै चासो राख्दैनन् । उनीहरु अहिले मलाई के भएको छ र भन्ने धारणाले मुटुजस्तो जटिल र महत्वपूर्ण अंगको नियमित परीक्षण गर्दैनन् ।’

समय–समयमा परीक्षण गरेर आफ्नो मुटुको अवस्थाबारे जानकारी नराख्दा एक्कासि हृदयघात हुने, सामान्य उच्च रक्तचापको समस्यालाई बेवास्ता गर्ने र नियमित औषधि सेवनमा लापरबाही गर्नाले पनि मुटुको जोखिम बढिरहेको डा.लम्साल बताउँछन् ।