
क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क गराउने भनिएपनि शैय्याबाहेक सबै खर्च बालबालिकाका आफन्तले नै व्यहोर्नुपरेको छ ।
बैतडीकी ८ वर्षीया सुशीला धानुषको पाठेघरमा ट्युमर पलाएपछि कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याइएको दुई महिना भयो ।
क्यान्सर लागेका बालबालिकाको सम्पूर्ण उपचार निःशुल्क हुने थाहा पाएर अभिभावकले सुशीलालाई काठमाडौं ल्याए । तर, अस्पतालमा भर्ना गरेपछि शैय्याबाहेकको सबै खर्च आफैंले व्यहोर्नुपरेपछि उनका अभिभावकलाई समस्या भएको छ ।
स्लाइन पानीदेखि सिरिन्जसम्म खरिद गर्दा अहिलेसम्म डेढ लाख रुपैयाँ खर्च भइसकेको उनका आफन्त बताउँछन् ।
सुशीलाकोजस्तै कहानी छ, अघाँखाँचीका ८ वर्षीय सन्तोष भुसालको पनि । ब्लड क्यान्सर भएर चार महिनाअघि कान्ति बाल अस्पतालमा ल्याइएका भुसालको परिवारको पनि अहिलेसम्म चार लाख खर्च भइसकेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र कान्ति अस्पतालकै सिफारिस लिएर स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयसम्म धाउँदा पनि थप कुनै सहयोग नपाएको भुसालका अभिभावकको गुनासो छ ।
कान्ति बाल अस्पतालमा १५ वर्षअघि एक विदेशीले क्यान्सर रोग लागेका बालबालिकालाई सहयोग गर्ने भन्दै स्थापना गरेको कोषमा हाल २ करोड रुपैयाँ जम्मा भएको छ ।
गगनकुमार थापा स्वास्थ्यमन्त्री भएलगतै कोषमा ४० हजार रुपैयाँ सहयोग गरेका थिए ।
तर, अस्पतालका निर्देशक डा. अजित रायमाझी भने क्यान्सर रोग लागेका बालबालिकाको उपचार निःशुल्क हुन्छ भन्न भने छुटाउँदैनन् ।
निःशुल्क उपचारको व्यवस्था गर्ने भनिएपनि अस्पतालको कोषमा रहेको रकमलेमात्रै सम्भव नरहेको डा. रायमाझी स्वीकार गर्छन् ।
क्यान्सरको औषधिलगायत सबै उपकरण महँगो भएकाले पूर्ण निःशुल्क गराउन भने नसकेको उनको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्