
-युवराज गौतम(ईमेज)
मानिसका भोगाइहरु अनेक हुन्छन् । ती भोगाइहरु अभिब्यक्त गर्न सहज छैन । किनकी नेपाली समाजमा आफ्ना भावना र भोगाइहरु अभिब्यक्त गर्न ठूलो चुनौति मोल्नुपर्छ । सोचेजस्तो उदार छैन नेपाली समाज । फरक पहिचान बनाएका र समाजमा लुकेर रहेका पात्रहरु अर्थात फरक शारीरिक क्षमता भएका मानिसहरुले आफ्नो फेहरिस्त सुनाउन सहज मान्दैनन् । जन्मिदा पुरुष तर पछि महिला बनेकी एक पात्रले ठूलो चुनौति मोलेकी छन् र पुस्तकका रुपमा सार्बजनिक गरेकी छन् ।
जन्मिँदा छोराकै रुप, जननेन्द्रिय पुरुषकै थियो अनि नाम राखियो–कैलाश । घर–समाजमा छोराकै व्यवहार गरियो किनकी तन–मन पुरुषकै थियो । त्यो पुरुषको जव उमेर बढ्दै जान्छ अनि स्वाभावमा परिवर्तन हुँदै जान्छ । गाजल, क्रिम, पाउडर लगाएर ऐंना अघिल्तिर गएर मुसुक्क हाँस्छ । भाँडाकुटी खेल्नमा खुब मजा लिन्छ । सर्ट–पाइन्ट होइन कुर्ता, म्याक्सी लगाउन बढो रुची लाग्छ । कपडा पनि राता, गुलावी र चहकिला मन पर्छन । अचम्म त के छ भने उसलाई पुरुष होइन महिला साथी बनाउन र रमाउन खुबै आनन्द आउँछ । भकुन्डो र गुच्छा खेल्न रुची पटक्कै जाँदैन तर गुडिया र भाँडाकुटीमा आनन्द लाग्छ । कपाल अलिक लामो होस अनि दुई चुल्ठी बाट्न मनपर्छ । केटा देख्दा संकोच लाग्ने तर केटी देख्दा अपनत्व महसुस हुँदै जान्छ ।
उमेरले १०–११ टेकेपछि व्यक्तिगत चेतनाले पुरुष होइन महिला भएको महसुश गराउँछ । छाती छोपेर नुहाउन मनपर्छ । कट्टु मात्र लगाएर नुहाउने केटाहरुको अघिल्तिर उसलाई टावल बेरेर अनि पेटीकोटले तिघ्रा छोपेर नुहाउन थाल्छ । स्त्रीका जस्ता स्तन त थिएनन तर ब्रा लगाउन मनपर्छ । हर ब्यवहार र स्वभावमा बदलिंदै गएको एउटा केटो कालान्तरमा आफ्नो नाम बदलेर कैलाशबाट भूमिका बन्न पुग्छ । किशोर अवस्था पुगेपछि शरीर र स्वाभावबीच तालमेल नमिलेपछि उ महिलाको नामले चर्चित बन्दै जान्छ ।
हो, उनै तेस्रोलिङ्गी भूमिका श्रेष्ठले सामान्य मानिस भन्दा फरक भोगाइहरु समेटर आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । जन्मिदा पुरुष अनि पछि महिला बनेका जर्ज जोर्गेन्सनलाई प्रेरणाको स्रोत मानेर ‘भूमिका’(तेस्रो लिङगीको आत्मकथा) नाम दिइएको पुस्तक नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको प्रतिनिधि रुपमा सार्वजनिक भएको छ । संभवत नेपालमा तेस्रोलिङ्गी/समलिङ्गी समुदायका लागि यो आत्मकथा पहिलो बन्न पुगेको छ । एक शताब्दी अघि जन्मिदा पुरुष हुकँदै गएपछि महिलाको स्वभाव भएका र मिस क्रिस्टिन बनेर विश्व चर्चित बनेका जर्ज जोर्गेन्सनको वायोग्राफीलाई भूमिकाले प्रेरणाको केन्द्रविन्दु मानकी छन् ।
जर्जले एक शताब्दी अघि नै लिङ्ग परिवर्तन गरेको र आफ्नो खुशी पोख्ने क्रममा ‘म बच्चा जन्माउन सक्दिन तर धित मरुन्जेल प्राकृतिक सहवास गर्न सक्छु र केटा भएर केटासँगै सहवास गरेको आरोप लाग्न नसक्ने’ प्रसंगले आत्मकथामा आफ्नो भावना व्यक्त गर्न भूमिकालाई सहज भएको पाइन्छ । २४० पृष्ठको पुस्तकमा ३४ शिर्षकमा आत्मकथा समेटिएको छ । आत्मकथाको सुरुवातीमा ‘शिखण्डीको नियति’ शिर्षकमा हिन्दु धर्मशास्त्रको एक पौराणिक कथालाई उदाहरणका लागि प्रस्तुत गरिएको छ । शिखण्डीको उदाहरण र पतञ्जली ऋषिले स्त्रीलिङ्गी र पुलिङ्गबाहेक उभयलिङ्ग, नपुसक लिङ्ग र द्विलिङग गरी पाँच प्रकारका लैङ्गिक विश्लेषण गरी शारीरिक रुपमा एउटा र यौनिक रुपमा अर्को व्यवहार देखाउने व्यक्ति आदिकालदेखि नै थिए भन्ने प्रमाणलाई आधार मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्