
-युवराज गौतम, ईमेज
‘होलीले रंगायो नयाँ चोली’ बोलको नेपाली गीत नेपालीको मुखमै झुन्डिएको छ । तराईका बुढापाका देखि तन्नेरीहरुमाझ ‘जोगिरा सररर’ निकै लोकप्रिय छ ।
तर समय र युग परिवर्तनसँगै होलीका गीतमा नयाँपन पाउन थालिएको छ । होलीका गीत अब रिमिक्स र रकतर्फ मोडिन थालेका छन् ।
होलीका अवसरमा आयोजना हुने कन्सर्टहरुमा रिमिक्सले स्थान पाउन थालेको छ । रंग छर्दै युवाहरु रंकमा मस्त हुन थालेका छन् ।
तराईका अधिकाशं स्थानहरुमा होलीका पुराना भाकाहरु गुन्जिन छाडेका छन् ।
मिथिलाञ्चल होलीको पुराना भाकाको उद्गम थलो नै मानिए पनि त्यस क्षेत्रमा परम्परा झल्काउने माधुर्यता तथा प्रेमभावयुक्त गीत ओझेल पर्न थालेको छ ।
एकदशक अघिजस्तो वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँमा घुमेर फागु पर्वको आगमन भएको सन्देश दिने किसिमका गीतहरु गुनगुनाउन छाडिएको छ ।
गीतकार महेश आचार्य यस्ता गीतहरु हराउँदै जानुमा युवाहरुको मनोभावना प्रमुख हुने गरेको बताउँछन् ।
‘युवाहरुको चाहान भनेको रक र रिमिक्स तर्फ छ, अब पुराना भाका खोजेर कहाँ हुन्छ र ?’ उनी भन्छनः ‘गीतकार र गायकले पनि पुराना भागा जोगाउन पहल गर्नुपर्छ, युवाको मन छुने भाकाहरु सिर्जना गर्न सके पुरानो भागाहरु लोप हुनबाट जोगाउन सकिन्छ ।’
ढोल,डम्फा र मृदङ्गको तालमा गाइने होलीका भाकाहरुका ठाउँमा ड्रमसेट र गितारले स्थान जमाउँदै गएको छ । उहिले बूढापाकाहरु रात पर्नासाथ गाउँको बीच भागमा समूहगत रुपमा होली गीत जोगिरा गाउने गर्दथे ।
पहिलेको होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । हिजोआज गीतका शब्दमा अश्लिलता र छाडापन पाउन थालिएको गीतकारहरु स्वयम बताउने गर्छन ।
तराईका ग्रामीण क्षेत्रमा गाइने होली गीतमा ग्रामीण परम्परा र धार्मिक कथाहरु जोडिएका हुन्छन् ।
पौराणिक होली गीतहरुमा ग्रामीण परिवेश, सीता र राम, शिव पार्वती साथै प्रेमलापमा केन्द्रित भएर गाउने गरिन्छ ।
तर हिजोआज गीतको सुर र ताल फेरिएको छ । पश्चिमा संस्कृतीको प्रभावले होलीका भाकाहरुलाई ओझेल पारिदिएको छ ।
सामाजिक सद्भाव बढाउने वा रंग र उत्साहको पर्व होलीमा गाइने गीतले सन्देश प्रवाह गर्ने गरेको बुढापाकहरुको भनाइ छ ।
होलीका अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमहरुमा पनि पुराना भाकाहरुले कमै मात्रामा स्थान पाउने गरेका छन् ।
यद्यपि, कतिपय स्थानमा भने जोगिरा जोगाउन गायन प्रतियोगिता पनि आयोजना हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्