१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


साढे तीन हजार नागरिकमा हात्तीपाइलेको जीवाणु


0
Shares

सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि पुनः आठौँपटक अभियान सञ्चालन गर्न लागिएको छ ।

पर्वतमा अझै पनि हात्तीपाइले रोगको सङ्क्रमण भएका साढे दुई प्रतिशत जनसङ्ख्या रहेकाले सातौँपटक अभियान सञ्चालन गर्नुपरेको हो ।

कुल जनसङ्ख्यामध्ये तीन हजार ४१८ जनामा हात्तीपाइलेको जीवाणु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

पर्वतमा आगामी चैत ५, ६ र ७ गते गरी तीन दिनसम्म अभियान सञ्चालन गरिने भएको छ ।

जिल्लाको कुल जनसङ्ख्यामध्ये एक लाख ३६ हजार ७१० जनालाई औषधि सेवन गराउने अभियानको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख डाक्टर फणीन्द्र बरालले जानकारी दिए ।

अभियानका लागि ३८० जना स्वास्थ्यकर्मी र एक हजार ५० जना तालिमप्राप्त स्वास्थ्य स्वयंसेवकलाई परिचालन गर्ने तयारी भएको छ ।

दुई वर्षभन्दामाथिका सबैजनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बरालले जानकारी दिए ।

औषधि खाँदा केही लक्षण देखिने भए पनि पर्वतमा हालसम्म कुनै प्रकारको जटिल समस्या भने नदेखिएको कार्यालयले जनाएको छ ।

तर गर्भवती, सात दिनसम्मका सुत्केरी, दीर्घरोगी र ७० वर्षमाथिका वृद्धवृद्धालाई भने औषधि खुवाउन नहुने कार्यालयले जनाएको छ ।

नेपालका २५ जिल्लामा छैटौं पटकसम्म खुवाएपछि अभियान सम्पन्न भएको छ भने पर्वतलगायत ३६ जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि यो अभियान जारी रहेको छ ।

सरकारले सन् २०२० सम्म नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गराउने लक्ष्य राखेको छ । रासस