
खाना र जीवनशैलीमा आएको परिवर्तनले नसर्ने कडा रोग लाग्ने त्यसैका कारण मृत्यु हुने नेपालीको संख्यामा दिनदिनै वृद्धि हुँदै गएकाले ग्रामीण तहबाटै नसर्ने रोगको परीक्षण गर्ने तयारी सरकारले थालेको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने र ४० प्रतिशतको मृत्यु सरुवा रोगका कारण हुने गरेको छ ।
सरुवा रोगका कारण धेरै मानिसको मृत्यु हुन थालेपछि सरकारले ८२ वर्षअघि नै सरुवा रोग केन्द्रको स्थापना पनि गरिसकेको छ भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसमा काम गरेको छ । तर, पछिल्लो समय एकाएक बढेको नसर्ने रोगको नियन्त्रणका लागि भने अझै चुनौति थपिएको छ ।
सरकारले १२ प्रकारका कडा रोग लागेका बिरामीलाई रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने मिर्गौलाको निःशुल्क डायलासिस गरेको छ ।
वैशाखबाट मिर्गौलाको प्रत्यारोपण पनि निःशुल्क गरिने स्वास्थ्यमन्त्री गगनकुमार थापाको भनाइ छ ।
१५ वर्षमुनि र ७० वर्षभन्दा माथिका बालबालिका र वृद्धवृद्धालाई मुटुको उपचार निःशुल्क छ भने यसै वर्षदेखि बाथ–मुटुरोगीको पनि भल्व शल्यक्रियालगायत फागुन १५ गतेबाट उपचारसमेत निःशुल्क गरिसकेको छ ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले असन्तुलित खाना, जङकफुड सेवन गर्ने, पर्याप्त पानी नपिउने, धूमपान र मद्यपान गर्ने र शारीरिक व्यायाम गर्दै नगर्ने कारण नसर्ने रोगको जोखिम बढाएको बताए ।
क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, हृदयघात, मिर्गौला फेलजस्ता नसर्ने रोगको परीक्षण र उपचारमा जानका लागि स्वास्थ्य मन्त्रालयले ‘पेन प्याकेज’ कार्यक्रमअन्तर्गत् देशभरका एक हजार स्वास्थ्य चौकीबाट यसै वर्षबाट सेवा दिने तयारी गरेको छ ।
स्वास्थ्यमन्त्री थापाकाअनुसार त्यसका लागि परीक्षण उपकरण खरिद गर्ने, जनशक्तिलाई तालिम दिनेलगायतका काम सुरु भइसकेको छ । यो सेवालाई आगामी वर्ष सबै स्वास्थ्यचौकीमा विस्तार गर्ने मन्त्रालयको योजना छ ।
काठमाडौंमा १० सहरी हेल्थ प्रमोसन सेन्टर खोल्न नीतिगत निर्णय गरी तयारीका लागि स्थानसमेत टुंगो लगाइ काम अगाडि बढाइसकेको छ ।
रोग लाग्न दिनुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उत्तमकार्य भएकाले जीवनशैली स्वास्थ राख्नुपर्ने चिकित्सको सुझाव छ । रासस
प्रतिक्रिया दिनुहोस्