
प्रदीप पौडेल (इमेज)
पोखरा, असार २१ । प्रदेश नम्बर–४ का प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम ‘गन्डकी’ राख्दा सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, भूगोलले अपनत्व महसुस गर्ने बताएका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले प्रदेशलाई समृद्ध र शान्त बनाउन गन्डकी नाम सर्वसम्मत् हुने बताएका हुन् ।
ठाउँ र नाममा सर्वसम्मतिले निर्णय गरेपछि प्रदेश समृद्धिका लागि नमुना हुने र अरु प्रदेशले पनि गन्डकी प्रदेशबाट सिक्नसक्ने उनीहरुको तर्क थियो ।
बैठकमा बोल्दै प्रदेशका अर्थमन्त्री किरण गुरुङले नाम र अधिकार फरक विषय रहेको बताए ।
‘गन्डकी नदीको नाम हो । भूगोल हो । यसले गुरुङलाई पनि समेट्छ । मगरको पनि पहिचान दिन्छ । त्यसैले नेकपाले प्रदेशको नाम गन्डकी राख्ने निर्णय गरेको हो’–उनले भने ।
उनले गन्डकीले सबै आदिवासी, जनजाति, उत्पीडित, दलित, जातजाति, वर्ग, धर्म, संस्कृति, भाषा, भूगोललाई समेटेको भन्दै यसलाई सर्वसम्मतिले टुंग्याउँदा प्रदेशको ओजस्वता बढ्ने बताए ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले गन्डकी नाम राख्दा प्रदेशको गौरव बढ्ने बताए ।
प्रदेशसभामा बोल्ने अरु सदस्यहरुले पनि गन्डकी नै नाम राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
बिहीबारको बैठकमा १६ जना प्रदेशसभा सदस्यहरुले छलफलमा भाग लिएका छन् । शुक्रबार पनि नामबारे छलफल गर्ने र नाम पारित गर्ने कार्यसूची रहेको छ ।
प्रदेशसभाका ५९ सांसदहरुमध्ये नयाँ शक्ति पार्टीका दुईजनामात्रै गन्डकी नामको विपक्षमा रहेका छन् ।
प्रदेशको नामाकरणकाबारेमा संविधानको धारा २९५ को उपधारा २ मा व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार प्रदेशको नाम तोक्दा प्रदेशसभाका कुल सदस्य संख्याको दुईतिहाइ बहुमतले पारित गर्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्