११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


१५ जिल्लामा पोलियो थोपा खुवाइँदै


0
Shares

तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था मिलाइ सेवा सन्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्वास्थ्य संस्थाको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सन्चालन गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले शुक्रबार नै गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा लगाएको ताला तत्काल खोली निर्विवादरुपमा पोलियोलगायत नागरिकले पाउने सबै स्वास्थ्य सेवा सन्चालन गर्न आह्वान गरेका छन् ।

मन्त्रालयअन्तर्गत् कार्यरत् केही स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख को विशेष पदस्थापनाका विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन् । उनीहरुको माग सम्बोधन गर्न मन्त्री थापाले विभिन्न निर्णय गराइसकेका छन् ।

आगामी तीन महिनाभित्र संशोधित ऐनको मस्यौदा व्यवस्थापिका–संसदमा पेस गरी सम्पूर्ण समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री थापाले विज्ञप्तिमार्फत् स्पस्ट पारेका छन् ।

संसारबाट उन्मूलन हुन लागेको पोलियो थोपा ५ वर्षमुनिका बालबालिकालाई खुवाउनका लागि मन्त्रालयले तोकेको मितिमा स्वास्थ्यकर्मीले स्वतस्फुर्तरुपमा सफल बनाउनुपर्नेमा स्वयं स्वास्थ्यकर्मीबाट पोलियो थोपा खुवाउने कार्य रोक्ने कुरा कल्पनासमेत गर्न नसकिने उनको भनाइ छ । रासस