१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


राजधानीमा ‘स्वाइन फ्लु’का बिरामी भेटिए, यी हुन् स्वाइन फ्लुका लक्षण


0
Shares

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए ।

नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिएपनि यसपटक निकैअगाडि सो रोगको भाइरस देखिएको डा. पुनले बताए ।

उनले भने–‘दुई हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शंका लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो ।’

खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा. पुनले बताए ।

पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौंमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे । रासस