१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


हत्या गरी १८ वर्षदेखि फरार अभियुक्तलाई साउदीबाट ल्याइयो


0
Shares

सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्दामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्वसहित जन्मकैदको सजाय हुने गरी फैसला भएको थियो ।

नेपाली सेनामा कार्यरत अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरबमा गएका जीवन बहादुर अधिकारी एकै ब्यक्ति भएको तथ्यको आधारमा कास्की जिल्ला अदालतबाट २०७३ जेठ १६ गते जारी भएको पक्राउ पूर्जी अनुसार निजलाई साउदी अरबबाट पक्राउ गरी २०७३ माघ २९ गते नेपाल ल्याईएको प्रहरीले जनाएको छ ।

अधिकारीले २०५५ कार्तिक ११ गते जिल्ला कास्की सिद्ध –७ बस्ने शिवराज थापा सुयललाई खुर्पा प्रहार गरी हत्या गरेका थिए । सोही घटनाका सम्बन्धमा सेनाको हिरासतमा रहेका बखत २०५६फागुन २७ गते भागी फरार भएका प्रतिवादी नारायण अधिकारीले आफ्नो नाम परिवर्तन गरी जीवन बहादुर अधिकारीको नाममा वैदेशिक रोजगारीको लागि साउदी अरब गएको जानकारीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको पहलमा २०७३ जेठ २४ गते उनको नामको रेड कर्नर नोटिस जारी भएको थियो । उनलाई साउदी अरब प्रहरीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

आइतबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको प्रहरीले जनाएको छ ।