
स्वास्थ्य क्षेत्रको संयुक्त वार्षिक समीक्षा गोष्ठीको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री थापाले हालको संरचनाअनुसार गए स्वास्थ्य क्षेत्रमा सुधार गर्न ५० वर्ष लाग्ने भन्दै अब संरचना नै परिवर्तन गराएर ५ वर्षभित्रै सुधार गरिने बताए ।
संघीय संरचनाअनुसार नै स्वास्थ्य क्षेत्रको संरचना पनि बनाउन मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक नबस्ने प्रवृत्ति हावी हुँदै गएको देखिएको बताए ।
उनले अझैपनि ४५ प्रतिशत महिलालाई घरमै सुत्केरी गराउनुपर्ने अवस्था रहेकाले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न सरकार लागिरहेको बताए ।
उनले संघीय संरचनाअनुसार चिकित्सकको व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण काम भएकाले चिकित्सकलाई आकर्षण गराउने प्याकेज ल्याउनुपर्ने बताए ।
यस्तै, स्वास्थ्यसचिव सेनेन्द्रराज उप्रेतीले स्वास्थ्यमा सबैको समान पहुँच पुर्याउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।
मुख्यसचिव सोमलाल सुवेदीले स्वास्थ्यमा धनी र गरिबबीचको विभेद अन्त्य गरिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्