
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दुबई प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल झिकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चारजनालाई मंगलबार बारा प्रहरीले कलैयामामा सार्वजनिक गरिएको हो ।
बारा जिल्लाका होदाले दुबईमा बसेर नेपाली र भारतीय गिरोह चलाउँदै आएको प्रहरीको आरोप छ ।
होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंकवादी गतिविधि सन्चालन गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको जनाइएको छ ।
होदासँगै पक्राउ परेकाहरुमा गढीमाई नगरपालिका–८ घर भएका ‘बाबा’ भनिने बाराका बृजकिशोर गिरी, कलैया नगरपालिका–४ घर भएका आशिष सिंह र उमेशकुमार कुर्मी रहेका छन् ।
होदाले दुबईमा बसेर पाकिस्तान र मलेसियाका आपराधिक समूहको निर्देशनमा नेपाल र भारतमा आपराधिक गतिविधहरु सन्चालन गर्दै आएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।
गत मंसिर ५ गते भारतीय रेलवेको पटना–इन्दौर एक्सप्रेस रेल उत्तर प्रदेशको कानपुर क्षेत्रमा दुर्घटना हुँदा १५० जना यात्रीको ज्यान गएको थियो । सो घटनामा नेपाली र भारतीय आपराधिक समूह संलग्न रहेको भारतीय प्रहरीको निश्कर्ष थियो ।
भारतीय सुरक्षा एजेन्सीहरुले पाकिस्तानी अतिवादी संस्था ‘आइएसआई’को त्यसमा संलग्नता रहेको दाबीसमेत गरेका थिए ।
यस्तै, बारामा भएको दुईजनाको हत्याको घटना पनि कानपुर रेल दुर्घटनासँग जोडिएपछि प्रहरीले विशेष अनुसन्धान अघि बढाएको थियो । सो हत्याको आरोपमा प्रहरीले बृजकिशोर गिरीलाई पक्राउ गरेको थियो ।
पुस १३ गते बाराको करैया जंगलमा सहजनाथ महादेव मन्दिरनजिक दुईजना भारतीयको शव फेलापरेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा यो आपराधिक गिरोहको गतिविधिकोबारेमा खुल्न आएको हो ।
जंगलमा फेलापरेको शव पूर्वी चम्पारण, आदापुरनजिकको पोखरिया घर भएका भारतीय नागरिक दीपक राम र अरुण रामको थियो ।
मारिएकाहरुले ‘बाबा’ भन्ने बृजकिशोर गिरीमार्फत् भारतीय रुपैयाँ ३ लाखको दरले ६ लाख पेश्की लिएर रक्सौल–दरभंगा रेललाइनमा विस्फोट गराउने जिम्मा लिएका थिए ।
योजना सफल हुन नसकेपछि सर्तअनुसार दीपक र अरुणले पैसा फर्काएनन् । सो पैसा दुबईबाट मुख्य योजनाकार समसुलले नै पठाइदिएको पनि अनुसन्धानबाट खुलेको बारा प्रहरीको भनाइ रहेको छ ।
पछि उक्त योजना र त्यससँग जोडिएका व्यक्तिहरुको जानकारी दीपक र अरुणबाट फुत्किनसक्नेसमेत देखेर उनीहरुको हत्या गरिएको खुलेको छ ।
यसपछि प्रहरीले गिरीको खोजतलास सुरु गरेको थियो । सिमावर्ती गाउँ पर्साको बिजबनियाबाट पुस २५ मा दोहरो मुठभेडपछि गिरीलाई खुट्टामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
‘बाबा’ भनिने गिरी समातिएपछि समग्र सन्जालबारे प्रहरीलाई थप जानकारीहरु आएको थियो ।
सोही अनुसन्धानलाई अघि बढाउँदै लैजाँदा समसुल होदाले दुबईमा बसेर आपराधिक गिरोह चलाएको खुलासा भएको पनि प्रहरीले बताएको छ ।
सो गिरोहमा संलग्न अरु व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०७० सालमा भएको संविधानसभाको चुनावमा होदा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट बाराको क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेको पनि खुलासा भएको छ ।
प्रतिक्रिया दिनुहोस्