१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


स्वास्थ्य केन्द्रमा पाँच महिनादेखि औषधिको अभाव


0
Shares

निकै विकट मानिने पश्चिम दाङको पञ्चकुले स्वास्थ्यचौकीमा सिटामोल र मेट्रोनिडाजोलबाहेक कुनै पनि औषधि नभएको स्वास्थ्यचौकी इन्चार्ज पशुपतिराज केसीले बताए ।

कम्तीमा ३५ प्रकारका औषधि स्वास्थ्यचौकीमार्फत निःशुल्करुपमा उपलब्ध गराउँदै आएको सरकारको दाबी छ । ‘कति भयो कति औषधि माग गरेको, पाँच महिनादेखि यस्तै अवस्था छ,’ इन्चार्ज केसीले भने ।

दक्षिण दाङको विकट कोइलावास स्वास्थ्यचौकीमा पनि न्यूनतम औषधि पनि छैनन् । सामान्य जरो आएको बच्चालाई दिइने सिटामोल र कफसिरफ पनि नभएको त्यहाँका स्वास्थ्यचौकी प्रमुख पप्पु यादवले बताए ।

जति औषधि माग गरे पनि अझैसम्म अत्यावश्यक औषधि स्वास्थ्यचौकीमा नभएको उनको गुनासो छ ।

नवजात शिशुलाई सामान्य जरो आएको अवस्थामा पनि सिटामोल बितरण गर्ने अवस्था नहुँदा बिरामीलाई भारतको बालारामपुरसम्म पुग्नुपर्ने बाध्यता छ । त्यस्तै पश्चिम दाङको मुख्य बजारमा रहेको पुरन्धारा स्वास्थ्यचौकीमा पनि आवश्यक औषधि नभएको स्थानीयवासीको गुनासो छ । तर स्वास्थ्यचौकीले भने केही औषधिमात्र रहेको जनाएको छ ।

हाल सो संस्थामा निःशुल्क उपलब्ध गराइनुपर्ने ३५ थरी औषधिमध्ये, बढीमा १० थरी औषधि मात्रै छन् । ‘माग गरेको धेरै भो, अहिले हाम्रो स्वास्थ्यचौकीका लागि आएको औषधि बाघमारेमा थन्किएको भन्ने सुनेको छु, खै कहिले आउने हो,’ उनले भने ।

त्यसैगरी स्युजामा पनि अत्यावश्यक औषधिबाहेक सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका सबै औषधि छैनन् । यसले गाउँवासीलाई सामान्य रोगको उपचारका लागि पनि सहरी क्षेत्र जानुपर्ने बाध्यता छ । यो अवस्था करिब छ महिनादेखि देखिँदै आएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले यसैसाता सबै स्वास्थ्य संस्थामा निःशुल्करुपमा उपलब्ध गराउने सबै औषधि पठाइने बताएपनि स्वास्थ्य मन्त्रालयले नै सम्बन्धित निकायमा पर्याप्त औषधि पठाउन नसकेपछि मुलुकका धेरै जिल्लाका स्वास्थ्यचौकी तथा उपस्वास्थ्यचौकीमा औषधि अभावको अवस्था चरमरुपमा देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धनश्याम पोख्रेलले औषधि पठाउने काम भइरहेको र अबको एक सातामा सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने जानकारी दिए । जिल्लाका पाँच वटा स्वास्थ्य संस्थाबाहेक सबै स्वास्थ्य संस्थामा औषधि पठाइ सकिएको उनले बताए । पठाउन बाँकी रहेका स्वास्थ्य संस्थामा पनि छिट्टै नै औषधि पठाइने जनस्वास्थ्य प्रमुख पोख्रेलले बताए ।

उनले भने, ‘औषधि पठाउने काम भइरहेको छ केही दिन नै सबै स्वास्थ्य संस्थामा औषधि पुग्ने छ ।’

अहिले पठाएको औषधि स्वास्थ्य संस्थामा करिब तीन महिनासम्म पुग्ने जनस्वास्थ्य कार्यालयको अनुमान छ ।

कार्यालयले हाल ३१ प्रकारको औषधि खरिद गरेको र थप औषधि खरिदका लागि फेरि ठेक्का गरिने जनाएको छ भने जिल्लामा केन्द्रबाट पाँच प्रकारका औषधि मात्र आएको जानकारी दिएको छ । (रासस)