
सन् २०२० सम्ममा मुलुकबाट कुष्ठरोग निवारण गर्ने लक्ष्यअनुसारको काम भइरहेको सरकारले जनाएको छ ।
कुष्ठरोग नियन्त्रण महाशाखाले बुधबार राजधानीमा गरेको कार्यक्रममा आगामी तीन वर्षमा कुष्ठरोग निवारणको अवस्थामा पुर्याउने जनाइएको हो ।
कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बहुऔषधिको प्रयोगबाट १ लाख ७५ हजार मानिसले उपचार पूरा गरिसकेको जानकारी दिए ।
कुष्ठरोग लागेको समयमै थाहा नपाउँदा रोगको जोखिम उच्च रहेकाले बिरामीको खोजी–खोजी उपचार गराउने प्रणाली सुरु गरेको उनले बताए ।
नेपालमा वर्षेनि ३ हजार कुष्ठरोगका नयाँ बिरामी थपिने गरेका छन् भने ३३ हजार मानिस कुष्ठरोगका कारण अपांग भइसकेका छन् ।
महाशाखा प्रमुख पाण्डेले १० हजारमा एकजनाभन्दा कममा कुष्ठरोग देखियो भने निवारणको अवस्थामा जाने भन्दै तराईका १८ जिल्लामा कुष्ठरोगी एकजनाभन्दा बढी रहेकाले उच्च जोखिम देखिएको बताए ।
तराईको मुसहर बस्तीमा कुष्ठरोग बढी देखिएको छ । हाल बाँकेमा १२७ र बर्दियामा १४२ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कार्यक्रममा कुष्ठरोगी प्रभावित संघका अध्यक्ष दीपक तिवारीले कुष्ठरोगीलाई समाजमा पुनःस्थापना गर्न सरकारले सहयोग नगरेका कारण समस्या बढेको गुनासो गरे ।
हाल देशभर २५ सय ६० जना बिरामीले कुष्ठरोगको उपचार गराइरहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्