
-केशबचन्द्र महरा, ईमेज
भिमदत्त राजमार्गमा पर्ने डोटीका सहजपुर, बुडर, गैरा कैलालीका बुडितोला, खानिडाँडा, सहजपुर र डडेल्धुराका साहुखर्क, भातकाँडा लगायतका क्षेत्रमा संचालित होटलहरुमा जंगली जनावरको मासु पाइन्छ ।
अबैध रुपमा चोरीसिकारी गरेर मारिएका जिवजन्तुहरुको मासु सुकुटी बनाएर बेच्ने प्रबृत्ती ति क्षेत्रहरुमा मौलाएको छ । खुलेयाम यसरी जंगली जनावरको मासु बेचिरहँदा सरोकारवाला निकायहरु भने मुकदर्शक बन्ने गरेका छन् ।
कतिपय अवस्थामा सरोकारवालाहरु नै त्यसका ग्राहक बन्ने गरेको आरोप लाग्ने गरेको छ । ‘सुकुटीका ग्राहक भनेकै कर्मचारी, नेता, प्रहरी, आर्मी नै हुन,’ एकजना ब्यापारीले भने, ‘अरु यात्रुहरु त सादा खाना नै बढी खान्छन ।’
यसरी पाउने मासु घोरल, मृग, बदेल, जरायो, कालिज लगायतका जीवजन्तुहरुको हुने ब्यापारीहरु दाबि गर्छन । मासु स्थानीय सिकारीहरुले जंगलबाट मारेर ल्याएको उनिहरु बताउँछन् ।
नियमन गर्ने निकायहरु नै त्यसका खास पारखी हुने गरेको पाइन्छ । ‘यहाँ आउने सुकुटी त नक्कली हो,’ यसै साता आफुलाई सुकुटीको जानकार रहेको बताउँदै बुडरमा एक वन अधिकृत भन्दै थिए, ‘यहाँ आउने त बाँदर, बुढो बाख्रा, कुकुर लगायतको मासु हो ।’
यस बिषयमा जिल्ला वन अधिकृत बद्रि कुमार कार्कीले आफुलाई अहिले सम्म जानकारी नभएको बताए । उनले भने, ‘यस बिषयमा जानकारी आएको छैन । अहिले तपाईबाटै थाहा पाए । त्यो क्षेत्रमा रहेको इलाका वन कार्यालयलाई अनुगमनका लागि खटाउँछौं ।’
प्रतिक्रिया दिनुहोस्