
मृगौलाको पत्थरीको अप्रेसनपछि इलाामबाँझो–७ की ६३ वर्षीया सरिता राईको मंगलबार साँझ मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएपनि अस्पताल व्यवस्थापन गल्ती स्वीकार गर्न तयार नभएको मृतककी छोरी बिमला राईले जानकारी दिइन् ।
उनकाअनुसार बिहीबार साँझप्रहरी कार्यालयमै वार्ता गर्ने भनी झुक्याएर धर्नामा रहेका ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा पु¥याइएको थियो । उदेश राईसहितका ६ जनालाई गुन्डागर्दी गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले बताएको जनाइएको छ । झन्डै ६ घन्टापछि प्रहरीले छाडेको राईले बताए । उनका अनुसार आज बिहान प्रहरीको रोहबरमा वार्ताका लागि बोलाइएको छ ।
एक प्रहरी अधिकारीले धर्नाकारी सबैलाई पक्राउ आदेश आए पनि उनीहरुलाई वार्ताका लागि लगिएको दाबी गरे । शान्तिपूर्ण धर्नामा बस्दा पनि अस्पताल व्यवस्थापनले प्रहरी प्रशासन लगाएर धरपकड गराउनु कानुनी राज्यको उपहास भएको मृतकका आफन्तको गुनासो छ ।
‘हाम्रो माग त अस्पतालले सार्वजनिक रुपमा माफी माग्नुपर्छ, दोषी चिकित्सकमाथि कारबाही हुनुपर्छ भन्ने मात्र हो,’ छोरी राईले भनिन्, ‘हाम्रो आमाजस्तै गरी अरूकाआमा, बुवा, छोराछोरी कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने चाहन्छौं ।’
‘तर, अस्पताल व्यवस्थापनले प्रहरी प्रशासन लगाएर धरपकड गराउनु हामीलाई हेप्न खोजेको हो । न्याय माग्दा प्रहरी प्रशासन लगाइन्छ भने हामीले के गर्नुपर्ने हो ? कुनै पनि कठोर कदम चाल्न हामीलाइ बाध्य नबनाइयोस्,’ उनको भनाइ थियो ।
उनले आमालाई अप्रेसनका लागि पुस २९ गते उक्त अस्पतालमा भर्ना गरिएको सुनाइन् । डा. वीरेन्द्र प्रसाद यादव नेतृत्वको टोलीले शनिबार अप्रेसन गरेकोमा बिरामीलाई आइतबार आईसीयूमा लगिएको थियो । ‘हाम्रो आमाको मृत्यु सरासर अस्पतालको लापरवाहीले गर्दा भएको हो,’ उनले भनिन् । अस्पताल व्यवस्थापनसँग टेलिफोन सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्