
–युवराज गौतम
विद्यार्थी राजनीतिमा सक्रिय भएका युवाहरु सडकमा आन्दोलन चर्काउने, टायर बाल्ने र तोडफोडमा उत्रिन्छन भन्ने मात्र भ्रम छ । विचार, बौद्धिकता, लेखन र अध्ययनमा उनीहरु अपवादको रुपमा मात्र हुन्छन भन्नु अर्को भ्रम छ । तर यी सबै भ्रमहरुको चिरफार मात्र होइन उदाहरणका रुपमा देखा परेका छन् विद्यार्थी नेता लाओस राई ।
केही साता अघि मात्र सार्वजनिक भएको उनको पुस्तक ‘गति शक्ति र युवा’ले युवाहरु लेखन, अध्ययन र बैचारिक बहस गर्न पनि तत्पर छन् भन्ने सन्देश बोकेको छ । डा. जयराज आचार्यकै शब्द सापटी लिने हो भने ‘विद्यार्थी नेता हुन सडकमा टायर बाल्ने, ढुंगामुढा गर्ने मात्र हो भन्ने बुझाइलाई लाओस राई अपवादकै रुपमा देखिएका छन् ।’ विद्यार्थीमा रचनात्मक शुन्य हुँदै गएको अवस्थामा पुस्तकको रुपमा आउनु खुशीको कुरा भएको डा. आचार्यको बुझाइ छ ।
२ सय २४ पृष्ठमा समेटिएको पुस्तक भित्रका ४४ वटा विभिन्न विषयबस्तुमा केन्द्रित भएर लेखिएका लेखहरु पढेर प्राध्यापक खगेन्द्र भट्टराईले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, बैचारिक र अन्य समसामयिक मुद्दालाई सम्बोधन गरिएकोप्रति खुलेर प्रशंसा गरेका छन् ।
पुस्तकमा देश निर्माणका लागि जाँगरिला युवाहरुको शक्ति र सिर्जनशिलताको उचित प्रयोग हुन आवश्यक रहेको प्रष्टाउन खोजिएको छ । ‘राजनीति नाताबाट होइन, नीतिबाट चल्नुपर्छ’ भन्ने मूलमन्त्रलाई पुस्तकका अधिकांश लेखहरुले भाव ब्यक्त गरेको छ । त्यतिमात्र होइन राजनीतिमा सबैभन्दा ठूलो कुरा सहनशीलता, इमान्दारिता र र्धर्यता पनि हो भन्ने सन्देश पुस्तकभित्र पढ्न पाइन्छ ।
उचित राष्ट्रिय सोच र योजनाको अभावमा सिर्जनशील, शिक्षित र कर्मठ युवाहरुको ठूलो संख्या देश छाडेर बिदेशिएका छन् । बेरोजगारी, युवा पिंढीको आफ्नै आवश्यक्ता र मागलाई सम्बोधन गर्न नसक्नु मुलुकका लागि दुर्भाय भएको कुरालाई पुस्तकले मजाले उठान गरेको छ ।
पुस्तकभित्रका कतिपय लेखहरुमा तथ्य र तथ्याकंलाई प्रष्ट रुपमा समेट्नु भन्दा पनि आत्मिक रुपमा बहकिएको पाइन्छ । तर उठाउन खोजिएको एजेन्डाहरुले राष्ट्रिय भावना र समस्याहरुलाई सम्बोधन गरेको छ । शब्द चयन, भाषाशैलीका दृष्टिले पुस्तक तारिफयोग्य तारिफयोग्य भन्दा पनि क्लिष्ट रहेको पाइन्छ । अधिकांश विषयबस्तु सामाजिक यथार्थ र मुलुकको ज्वलन्त विषय उठाउन खोजिएको पाइन्छ । कतिपय लेखहरुमा उनले कम्युनिष्ट पार्टीहरुलाई मात्र होइन कांग्रेसलाई पनि सक्दो गाली बर्षाएका छन् ।
आफ्नो रगतमा लोकतन्त्र र राजनीतिको रंग प्रष्ट रहेको उल्लेख गरेका लेखक राई विद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता मात्र नभइ सक्षम नेतृत्वका लागि तयार रहेको उनले ब्यक्त गरेका भावहरुबाट प्रष्ट देखाएका छन् । उनका अधिकांश लेखहरु नेपाली कांग्रेस, नेपालका कम्युनिष्टहरु, युद्ध, धर्म, युवा शक्तिको भूमिका, गणतन्त्र र लोकतन्त्रको मर्मलाई शालिनतापूर्वक उठान गर्ने प्रयास गरिएको छ ।
नेपालमा एकदशकमा भएका राजनीतिक र सामाजिक परिवर्तनलाई समुन्नतिसँग जोडेर हेरिनुपर्छ भन्ने ध्येय पुस्तकमा पाइन्छ । ०६२/०६३ को जनआन्दोलनताका सडक संघर्षमा आफू ढाल बनेर प्रस्तुत भएको कुरालाई पुस्तकमा शुभकामना ब्यक्त गर्ने अग्रजहरुले सम्मानपूर्वक सम्बोधन गरिदिएका छन् । विभिन्न राष्ट्रिय दैनिक पत्रिका, अनलाइन संचारमाध्यमहरुमा प्रकाशित लेखहरुको संगालोको रुपमा आएको पुस्तक प्रकाशित छ ।
सगुन प्रिन्टर्स एन्ड सप्लायर्सले बजारमा ल्याएको पुस्तकको सम्पादन दीनदयाल रेग्मीले गरिदिएका छन् भने प्रकाशनमा प्रदीप राई(खिमदुङ)ले सहयोग पुर्याएका छन् । पाटन क्याम्पसका पूर्व स्ववियु सभापति हुँदै नेवि संघको केन्द्रिय सदस्य भइसकेका लेखक राई पुस्तककै रुपमा आउनु धेरै आश्चर्य मानेका छन् । उनको ब्यक्तित्व, आचरण, स्वाभाव सँधै लडाकु र सँधै आक्रोशपूर्ण देख्नेहरुले पुस्तकमार्फत शालिनता, बौद्धिकता, तर्कशिल र अध्ययनशील भएको पाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्