
नेपाली सुगम संगीतमा महिला स्वरको प्रतिनिधिपात्रको पर्यायजस्तै बनेकी तारादेवी कार्कीको जन्म २००१ साल माघ १ गते काठमाडौंमा भएको हो । बुबा इन्द्रबहादुर कार्की र आमा राधादेवीको कोखबाट जन्मिएकी तारादेवीमा सानैदेखि रहेको संगीतप्रतिको मोहले कालान्तरमा उनलाई नेपाली संगीतको शिखरका पुर्याइछाड्यो ।
सात वर्षको उमेरबाट गाउन थालेकी तारादेवीले रेडियो नेपालबाट आफ्नो औपचारिक गायन यात्रा शुरु गरेकी थिइन् । त्यसपछि करिब पाँच दशक लामो संगीतको रफ्तारमा उनले सयौं कर्णप्रिय गीत गाइन् । सांगीतिक क्षेत्रमा उनको अतुलनीय योगदानले श्रोतामाझ उनी मनकी गायिका बनेर बस्न सफल भइन् ।
संगीतमा स्नातक पुरा गरेकी तारादेवीले रेडियो नेपालमा जागिरसमेत खाएकी थिइन् । विभिन्न पुरस्कारबाट पुरस्कृत तारादेवी विसं. २०५५ मा ईमेज लाइफ टाइम अचिभमेन्ट अवार्डबाट समेत सम्मानित भएकी थिइन् ।
आधुनिक गीतका सन्दर्भमा तारादेवीले नेपालका विशिष्ठ गीतकार संगीतकारदेखि नयाँ पुस्ताका संगीतसाधकसँग पनि काम गरिन् । तर जुनसुकै पुस्ताकासँगको सहकार्य पनि उनको कोकिलकण्ठको बसमा परेको ज्वतन्त उदाहरण उनका लोकप्रिय गीत बनिसकेका छन् ।
संगीतकार नातीकाजीसँगको सहकार्य तारादेवीको सांगीतिक यात्राको सुनौलो यात्रा सावित भएको पाइन्छ । उनले नातीकाजीका सयभन्दा बढी श्रृजनामा आफ्नो स्वरको जादू पस्केकी छन्, जुन नेपाली सांगीतिक क्षेत्रको भण्डार श्रीवृद्धिमा अतु्लनीय सावित बनेका छन् ।
राष्ट्रिय, लोक, भजन, आधुनिक, चलचित्र लगायत संगीतका हरेक विधाका गीतमा तारा देवीको अद्भूत गला सजिएको छ ।
नेपालमा बनेको पहिलो चलचित्र आमाबाट अगाडि बढेको चलचित्र गायनको यात्रामा तारादेवीले कुमारी, मनको बाँध, सिन्दुर, जीवन रेखा लगायतका धेरै चलचित्रमा असख्य कर्णप्रिय गीत गाइन् ।
नेपाली नाट्य क्षेत्रमा कोशेढुंगा सावित मालती मंगलेमा स्वरसम्राट नारायण गोपालसँग तारादेवीको गायन नेपाली सांगीतिक क्षेत्रकै गर्व गर्न लायक सृजना मान्ने गरिन्छ ।
६० को दशक ताका भने एकपछि अर्को गर्दै छोरा र पति गुमाएर शोकमा डुब्न पुगेकी तारादेवीले त्यसपछि गायनलाई निरन्तरता दिन सकिनन् । शोकसँगै उनी पार्किसन्स् रोगबाट थलिन पुगिन् । र पछि २०६२ साल माघ ९ गते उनको निधन भयो ।
सरस्वतीको बरदान पाएकी तारादेवीजस्तै हस्तीको अद्भूत गलाबाट नयाँ सृजना पाउने क्रम रोकियो, नेपाली सांगीतिक क्षेत्रमा ।
तारादेवीको निधन भएको ११ वर्ष बितिसके पनि उनको गीतका पारखी आजको पुस्तासम्म पनि उस्तै गरि झुमिरहेका छन् ।
नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको पहलमा एक वर्ष अघि तारादेवी स्मृति प्रतिष्ठान गठन गरि उनको गीतको संरक्षण र हराएका गीतको खोजी गर्ने क्रम अगाडि बढिरहेको छ । यसले तारादेवीलाई पुस्तौं–पुस्ता जीवन्त बनाइराख्न मद्दत पुग्नेछ । राज्यस्तरबाट तारादेवीप्रतिको सम्मान भने खुला हृदयले प्रकट गर्नु जरुरी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्