१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


‘भूमाफिया’को धम्कीले ९० घरधुरी त्रासमा(भिडियो)


0
Shares

-संजय कार्की, ईमेज

वर्षौंदेखि उपभोग गरिरहेको घरघडेरी खाली गर्नुपर्‍यो भन्ने धम्की आउन थालेपछि सिंगै गाउँ अफ्ट्यारोमा परेको छ ।

२०२५ सालमा सरकारले २८ बिगाहा जमिनभन्दा बढीको हदबन्दी कायम गरेपछि रौतहटको बिजयपुरका जयन्त कृष्णमैत्रको नामको झण्डै चार बिगाहा जमिन राज्यले अधिग्रहण गरी बाढीपीडितको बस्ती बसालेको थियो ।

विजयपुरको कित्ता नम्बर १०८ र २४६ को १ बिघा ९ कठा १३ धुर जग्गा भूमाफियाले कर्मचारीसँग मिलेमतो गरी अहिले नवलकिशोर राय यादवको नाममा पास गराएका छन् ।

बस्तीसहितको २ बिघा ८ कट्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ ।

जयन्त कृष्णमैत्रका नाममा नक्कली वारेस खडा गरेर उक्त जग्गा बिक्री गरेको पत्ता लागेको हो । मैत्रले पर्सा जिल्लाबाट लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत नक्कली रहेको पाइएको छ ।

मैत्रका नाममा पर्सा जिल्लाबाट जारी रहेको भनिएको नागरिकता दुर्गाकुमारी ठकुरीका नाममा रहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

मैत्रका पिताको नाम गोपालकृष्ण मैत्र तथा वीरगन्ज–५ पर्सा लेखिएको ठेगानासमेत नक्कली भएको छ ।

मालपोत कार्यालय रौतहटका निमित प्रमुख चन्द्रबहादुर भण्डारीले भने काठमाडौं जिल्ला अदालतको वारेसनामाकै आधारमा नवलकिशोर राय यादवको नाममा जग्गा पास गरिएको बताए ।