१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


दुई करोड ठगी गर्ने गिरोह पक्राउ


0
Shares

चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुईजनालाई प्रहरीले हालै पक्राउ गरेको हो ।

चितवनका प्रहरी प्रमुख दीपककुमार थापाकाअनुसार नक्कली जग्गाधनी बनेर कीर्ते गर्नेमध्येका मुख्य व्यक्ति काभ्रेपलाञ्चोक, मेथिनकोट गाविस–५ बस्ने ६४ वर्षीय चिरञ्जीवी भुर्तेल र कीर्तेमा संलग्न महोत्तरी, डामीमोडेका ३५ वर्षीय अशोककुमार साहलाई पक्राउ गरी कारबाही थालिएको छ ।

भुर्तेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र शाहको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले विहीबार एक सूचना जारी गरी जनाएको छ ।

उनीहरुलाई मुलुकी ऐन कीर्ते कागजको महल र ठगीको महलअन्तर्गत् मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले काठमाडौंका कमल बस्नेतको नाममा चितवनको बछौलीमा रहेको १९ कट्ठा १४ धुर जग्गा नक्कली बस्नेत खडा गरी मालपोत कार्यालय चितवनबाट बाग्लुङ स्थायी घर भइ हाल ललितपुर बस्ने मेरसिंह घर्तीको नाममा राजीनामा पास गरेका थिए ।

उक्त जग्गा ज्योति विकास बैंक काठमाडौं, कलंकीमा २०७२ साल माघ १३ गते नै धितो राखी रु दुई करोड पैसा निकालेका थिए ।

सक्कली कमल बस्नेतले सो कुरा थाहा पाइ २०७२ साल चैत २ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

तत्कालै खोजीकाक्रममा संलग्न देखिएका मेरसिंह घर्ती, काठमाडौं–टोखाका ४० वर्षीया दुर्गा केसी, काठमाडौं–बानेश्वरका विमला थापा र सुर्खेत–वीरेन्द्रनगरका रमेश गिरीलाई पक्राउ गरी कीर्ते मुद्दा लगाइएको थियो ।

अदालत पेस गर्दा मेरसिंह घर्ती पुर्पक्षका लागि थुनामा पठाइएको तथा विमला थापा र दुर्गा केसीलाई जनही रु दुई करोड तथा रमेश गिरीलाई रु एक लाख धरौटी माग गरिएको छ । रासस