१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन


0
Shares

असार २२ गते उनको खुट्टाबाट दाम्लो फुकाइयो । दाम्लो फुक्दै गर्दा छिमेकी माया वाइबाले भनेकी थिइन्–‘उनलाई अब भने दिसा–पिसाबमा डुबेको देख्नुपर्दैन ।’ अहिले त्यो चरितार्थ भएको छ ।

आगन्तुक देखेर उनी हात हल्लाउँछन् । हाँस्छन् । हाउभाउले केही भन्न खोजेजस्तो गर्छन् । साँच्चै फेरिएका छन्, १५ वर्षका अनुत वाइबा । मोटाएका छन् । ह्वील चियरमा हिँड्डुल गर्छन् । उनको रेखदेखमा खटिन्छन् युवाहरु, अनि गुहु–मुत सोहोरिदिन्छन् ।

कति अस्पताल लैजाँदा पनि उनको उपचार सम्भव नभएको उनका रेखदेखकर्ता उमेश तामाङ बताउँछन् । अब अपांग नै रहने भएपनि आफ्नै घरमाजस्तो पीडा झेल्नुपरेको छैन उनलाई ।

‘दाम्लोबाट छुटकारा पाउँदा, अनि गुहु र मुतमा डुब्नु नपरेको देख्दा र सुन्दा साह्रै मन खुसी छ’–काठमाडौंकी सिर्जना थपलिया भन्छिन् । यस्ता असहायको केही सहयोग गर्ने सोच बनाएको उनले बताइन् ।

यसअघि उनको बास थियो, टिनको छानोको थोत्रो घर । चिसो भुइँमा राखिएको थोत्रो सुकुल । दुर्गन्धित ठाउँ । त्यसमाथि लडिरहेका कुपोषित बालक वाइबाको बायाँ खुट्टाको गोलीगाँठोनजिक दाम्लो लगाइएको हुन्थ्यो । सधैं गुहु र मुतको आहालमा उनी डुबिरहन्थे ।

चितवनको रत्ननगर वडा नम्बर–१५ स्थित माधवपुरमा झन्डै एक वर्षदेखि दाम्लोमा बाँधिँदै आएका उनी अहिले १५ वर्षका भए ।

एनआरएनएका केन्द्रीय सदस्य एवं डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटा वाइबा दाम्लोमा हुँदा र अहिले फेरिएको देख्दा मन आनन्दित भएको बताउँछन् । उनकै पहलमा चितवनको रत्ननगरका वाइबालाई दाम्लोबाट छुटाइएको हो ।

अहिले स्वास्थ्योपचार र पालनपोषण अपांग बाल तथा वृद्ध सेवागृह काठमाडौंले गरिरहेको छ । चाबहिलबाट साँखु जाने बाटोदेखि झन्डै १५ किलोमिटर हिँडेपछि आउने काठमाडौं शंकरापुर नगरपालिका वडा नम्बर–१० सलंबुटार, साँखुमा रहेको उक्त गृहमा अनुतलाई भेट्न सकिन्छ ।

द्वन्द्वपीडित तथा अपांग समाजद्वारा सन्चालित यो गृहमा उनीसँगै अन्य ४१ जना असहायहरुले आश्रय लिइरहेका छन् ।

आफैं अपांग भएर बसेका युवराज थापाको नेतृत्वको समूहले यस्ता असहायको रेखदेख गर्ने गरेको छ ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र तत्कालीन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा उनलाई गएको असार २२ गते उद्धार गरेर काठमाडौं पठाइएका थियो ।