
अनि, आफूले सुत्केरी गराएका स्थानको आफैंले सफा गर्ने कमैकोमात्र बानी होला ! तर, यहाँस्थित चतुराले स्वास्थ्यचौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैंले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगासमेत धोइ समाजलाई परिवर्तन गर्ने प्रयास गरेका छन् ।
‘मेरो पहिलो काम स्वास्थ्यचौकीमा सुरक्षितरुपमा प्रसूति सेवा (सुत्केरी गराउनु) प्रदान गर्नु हो । सुत्केरी गराउन गर्भवती महिलालाई यहाँ ल्याउने बेला हतार–हतार हुँदो होला, कतिपयले फेर्ने कपडासमेत लिएर आउन भ्याएका हुँदैनन् । यस्तो अवस्थामा सुत्केरीका कपडा सफा गरिदिनुको अर्काे विकल्प रहेन’–अहेब भट्टराईले भने ।
अर्काेतर्फ यस स्वास्थ्यचौकीमा सातजनाको दरबन्दी भएपनि उनीसहित एकजना कार्यालय सहयोगीमात्र कार्यरत् छन् ।
‘कतिपय त सुत्केरी गराउन ल्याउने सुत्केरी भएपछिका रगत, पिपलगायतका फोहरले भिजेका कपडा देखेर घिन मान्ने गर्दछन् । उनीहरुलाई सिकाउन म नै उदाहरण बन्ने गरेको छु । आफैं लुगा धुन अघि सर्छु र धोइदिन्छु । आफ्नो स्वास्थ्य संस्था त सफा राख्नुपर्यो’–उनले भने ।
अहेब भट्टराई चतुराले आएपछि हालसम्म लगभग एक हजार ३०० भन्दा बढी गर्भवती महिलालाई सुत्केरी गराउन सेवा प्रदान गरिसकेकामा अहिलेसम्म सुत्केरी आमा र नवजात शिशुको अकालमा मृत्यु नभएको बताए ।
पाँच वर्षमा ८ प्रमुख फेरिए तर, अहेब भट्टराई निरन्तर
वि.संं २०५१ देखि यस स्वास्थ्य संस्थाले स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको हो ।
वि.सं. २०५१ देखि २०५६ सम्मपाँच वर्षको अन्तरालमा आठजना हेल्थपोस्ट प्रमुख (इन्चार्ज) परिवर्तन भए । तर, अहेब भट्टराईले वि.संं २०५६ देखि निरन्तररुपमा स्वास्थ्यचौकीको प्रमुखकोरुपमा नेतृत्व दिइरहेका छन् ।
गाविसमा क्रियााशील राजनीतिक संयन्त्रले पनि पटक–पटक उनलाई अन्यत्र सरुवा नगर्न जिल्ला तथा केन्द्रीय तहमा आग्रह गर्दै आएको छ ।
उसो त सोही वर्ष यस स्वास्थ्य चौकीपक्की भवनमा सरेको थियो । ‘वि.संं २०५६ को सुरुमै यहाँ आएको हुँ, आएको केही महिनापछि नै गुन्द्री ओछ्याइ, सुत्केरी सेवाका सामग्रीबाट सुत्केरी सेवा दिन सुरु गरेको हुँ । तर, सुरुका दिन त गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउन र उनीहरुलाई खोज्न नै धौधौ पर्यो’–उनले भने ।
भट्टराईले भने–‘तपाइँका घरमा गर्भवती महिला हुनुहुन्छ ? भनेर गाउँका पुरुषलाई सोध्यो चिकित्सक भएर स्वास्थ्यचौकीमा बसेर ट्याबलेट बाँड्नू नि, किन चाहियो खोजीनीति ? भन्ने जवाफ दिए । तपाइँ त गर्भवती हुनुभएजस्तो छ, पेट बढेछ नि भनेर महिलाई सोध्दा खुलेर भन्न नचाहने तर, हरेस खाइनँ । भेटघाट हुनेसित गर्भवती भएपछि आउने जटिलता, यसबाट शिशुमा पर्नसक्ने असर, पोषणको महत्व, स्वास्थ्य संस्थामा नै सुत्केरी गराउँदा आमा र नवजात शिशुको स्वास्थ्यमा देखिने समस्याबारे जनचेतना जगाउनमै दिन बिताएँ । अरु सेवालाईभन्दा प्रजनन स्वास्थ्यलाई ध्यान दिएँ । प्रमुख समस्या र चुनौती पनि यही थियो ।’
पहिलो वर्थिङ सेन्टर
प्रजनन् उमेर, गर्भवती भएपछि कम्तीमा चारपटक स्वास्थ्य परीक्षण, दक्ष स्वास्थ्यकर्मीबाट नै सुत्केरी सेवा, नवजात शिशुलाई संक्रमणबाट जोगाउने विषयमा गाउँमा ज्ञान र चेतनाको स्तर बढेपछि वर्थिङ सेन्टर स्थापनाको माग आयो ।
वि.सं. २०६३ पछि सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत् वर्थिङ सेन्टरको अवधारणालाई कार्यान्वयनमा ल्यायो । जिल्लास्तरमा त्रिशूली जिल्ला अस्पतालमा वर्थिङ सेन्टर स्थापना भयो ।
‘त्यसपछि मैले आफ्नो स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर राख्न आग्रह गरें, यस कार्यमा गाविसबासीले साथ र ऊर्जा दिए । वि.संं २०६४ मा स्वास्थ्यचौकीमध्ये पहिलो वर्थिङ सेन्टर यहाँ स्थापना भयो ’–अहेब भट्टराईले भने ।
वर्थिङ सेन्टरको पहिलो सेवा लिनेमा चतुराले गाविस–८ कि चन्द्रा तामाङले भएकी थिइन् । उनले वि.सं. २०६४ भदौ १० गते वर्थिङ सेन्टरमा छोरीलाई जन्म दिइन् ।
‘गर्भवती चन्द्रालाई सुत्केरी गराउन स्वास्थ्यचौकीमा ल्याउन ९ गते उनको घरमा गएको थिएँ’–उनले भने ।
‘श्रीमान्, बाजे, बज्यैले मानिरहनु भएको थिएन, डाक्टर साहेब आफैं घर आउनुभयो । उहाँले कस्तो छ ? भनेर सोधिरहनु हुन्थ्यो । घरमा बाजेले झाँक्रीलाई बोलाइसक्नुभएको थियो । डाक्टर साहेब आफैं घर आएपछि हुन्छ भन्दिएँ । हिँडेरै गएँ’–चन्द्रा तामाङले सुनाइन् ।
यस गाविसमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत् स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई प्रोत्साहनबापत दिइने रु एक हजार लिने उनी पहिलो महिलासमेत बनिन् ।
पहिलो प्रसूतिगृह भवन
स्वास्थ्यचौकीमा प्रसूति सेवा लिन आउनेको संख्या वृद्धि भएपछि स्वास्थ्य मन्त्रालयले छुट्टै प्रसूतिगृह भवनसमेत निर्माण गरिदिएको छ । जिल्ला अस्पतालपछि पहिलो प्रसूतिगृह भवन हो ।
पक्की दुईकोठे सो भवनमा सुरक्षित प्रसूति सेवाका लागि आवश्यक उपकरण, शैया, सुत्केरीपछि बस्ने सुविधासमेत रहेको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सन्चालित भूकम्पप्रतिकार्य कार्यक्रमले प्रसूति सेवाका लागि आवश्यक उपकरण, शैयालगायत सुत्केरीपछि बस्नका लागि आवश्यक ३९ प्रकारका अत्यावश्यक सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
जिल्लाका कार्यक्रम संयोजक शारदा खतिवडाले समग्र स्वास्थ्य सेवा विशेष गरी सुरक्षित प्रसूति सेवालाई थप सुदृढ बनाउन र संस्थागतरुपमा स्वास्थ्यचौकीमा प्रसूति सेवा लिन आउनका लागि उत्प्रेरणा दिन कार्यक्रमले सहयोग गरेको जानकारी दिइन् ।
पछिल्लो जनगणनाअनुसार यस गाविसको जनसंख्या चार हजार ४०० छ । जनसंख्याको अनुपातमा गर्भवती महिलाको संख्या ६० देखि ६५ हुनुपर्ने थियो । तर, ५२ गर्भवती महिलालेमात्र सेवा लिइरहेका अहेब भट्टराईले जानकारी दिए ।
आँटे पुग्छ
अहेब भट्टराईको काम गर्ने इच्छा र जागर देखेर यहाँका बासिन्दाले उनलाई अन्यत्र सरुवा भएर जान दिएका छैनन् ।
समाजसेवी ज्ञानबहादुर तामाङ भन्छन्–‘उहाँको सेवाभावको लगाव अत्यन्तै अनुकरणीय छ, यसैले हामीले उहाँलाई यही बस्न प्रेरित गरिरहेका छौं ।’
अहेब भट्टराईले पनि आफूलाई आवश्यक पर्ने भौतिक एवं अन्य सामग्रीका लागि आफैंले स्रोत जुटाइरहेका छन् ।
उनको कार्यशैलीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीको भूकम्पप्रतिरोध कार्यक्रम र सेभ दि चिल्ड्रेनबाट पनि आर्थिक एवं प्राविधिक सहयोग प्राप्त भएको छ ।
अहेब भटृराईकै मागबमोजिम महिला स्वयंसेविकालाई नवजात शिशु जन्मेपछि आमा स्वयंले शिशुको स्वास्थ्य परीक्षण गर्न पाइताला नाप्ने कार्ड उपयोग गर्न, नाभी मलमको प्रयोग गर्न सेभ दि चिल्ड्रेनबाट तालिम प्रदान गरिएको थियो ।
हाल यस गाविसमा २० महिला स्वयंसेविकाले सो सेवा प्रदान गरिरहेका छन् ।
अहेब भट्टराईले आफूले नै पाउने सुविधाबाट महिला स्वयंसेविकालाई स्वास्थ्यचौकीमा गर्भवती महिलालाई स्वास्थ्य परीक्षण गर्न ल्याएबापत् रु १०० दिनेसमेत गरिरहेका छन् ।
पहिलो पूर्ण खोप गाविस
अर्काेतर्फ नुवाकोट जिल्लामा चतुराले गाविसलाई पहिलो पूर्ण खोप गाविससमेत घोषणा गरेको र यसका लागि नेपाल रेडक्रस सोसाइटीको भूकम्पप्रतिकार्य कार्यक्रमले आर्थिक एवं प्राविधि सहयोग उपलब्ध गराएको थियो ।
अहिलेपनि सोसाइटीका स्वयंसेवकहरु घरघरमा गइ प्रसूति शिक्षा र खोपको महत्वबारे जनचेतना जगाउँदै आएका छन् ।
हाल यस गाविसमा पाँच वर्षमुनिका २९३ बालबालिकाले खोप सेवा लिइरहेका छन् ।
‘मेरो लक्ष्य भनेको शून्य होम डेलिभरी गाविस घोषणा गर्ने हो, यो कार्य छिट्टै पूरा हुँदैछ’–भट्टराईले भने ।
प्रतिक्रिया दिनुहोस्