१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


अभियुक्त पक्राउ गर्न प्रहरीद्वारा ६ राउन्ड गोली प्रहार


0
Shares

बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा पर्सा प्रहरीले गोली चलाउनुपरेको हो ।

दुई बालकको हत्याको अभियोगमा फरार रहेका गिरीलाई पर्साको विजबनिया गाविसको गढइया टोलबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा गिरीलाई भगाउन स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट ६ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनले विजबनियाको गढइया टोल निवासी अजय गिरीको घरमा वृजकिशोर लुकी बसेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले छापामारी उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेकोे बताए ।

प्रहरीले चलाएको एक गोली अभियुक्त वृजकिशोर गिरीको बायाँ खुट्टामा लागेको प्रवक्ता जोशीले जानकारी दिए । प्रहरीले प्रहार गरेको गोली लागी घाइते भएका गिरीको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)